Labels

Total Pageviews

Sunday, August 28, 2011

नेपालका ३५औ प्रधानमन्त्री डा. बाबुराम भट्टराई

नेपालका ३५औ प्रधानमन्त्री डा. बाबुराम भट्टराई
इतिहास कसरि कहाँ पुग्छ कसलाई के थाह ? वाल्यकालमा भविष्यका त्यस्ता संभावनाको कसलाई के अड्कल ? हेर्नुस त, गोरखाको त्यो बिकट ठाउँमा जन्मेको यो फुच्चे केटो अहिले प्रधानमन्त्री बन्यो भन्दा अचम्म लाग्दैन त ? हो यो फुच्चे केटो अहिलेको बाबुराम भट्टराई । देशको सबैभन्दा शक्तिशाली पदमा । जीवनमा कहिल्यै दोस्रो नबनी सधैं सबैलाई उछिनेर प्रथमका प्रथम बनेको त्यहि पहाडको केटो । नेपालका३५औ प्रधानमन्त्रीको गरिमामय इतिहाँस लेखाउन सफल डा. बाबुराम भट्टराईको जन्म विसं २०११ असार ४ गते (सन् १९५४ जुन १८) मा गोरखा जिल्लाको खोप्लाङ गाविसमा पिता भोजप्रसाद भट्टराई र माता धर्मकुमारी भट्टराई कोखबाट भएको हो। किसान परिवारमा जन्मनु भएका डा भट्टराई यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सङ्घीय गणतन्त्र नेपालको पहिलो सरकारको अर्थमन्त्री हुनुभएको थियो।
औपचारिक अध्ययनमा सधैं प्रथम स्थान हासिल गर्न सफल डा भट्टराईले बाल्यकालमा अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गर्नुभएको थियो भने औपचारिक शिक्षा २०२० सालमा गोरखा जिल्लाकै लुइँटेल गाउँको अमरज्योति जनता हाइस्कुलमा तीन कक्षाबाट सुरु गर्नुभएको थियो। उहाँ २०२६ सालको एसएलसी परीक्षामा देशभर सर्वोत्कृष्ट (बोर्ड फस्ट) हुनुभएको थियो।
उच्चशिक्षाका क्रममा अमृत साइन्स कलेज, काठमाडौँमा विज्ञान विषयको अध्ययन थाल्नुभएका उहाँले २०३४ सालमा कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्ट विषयमा स्नातक गर्नुभयो। २०३६ सालमा नयाँ दिल्लीबाट स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरबाट भट्टराईले सहरी र क्षेत्रीययोजना विषयमा स्नातकोत्तर गर्नुभयो।

उहाँले नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयमा शोधपत्र लेखी विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभयो।
दिल्ली बसाइको क्रममा उहाँको विवाह नेपालका राजनीतिक व्यक्तित्व धर्मरत्न यमीकी छोरी आर्किटेक्ट हिसिला यमीसँग भयो।
सानैदेखि राजनीतिक गतिविधिमा चाख राख्नुहुने डा भट्टराई भारत बसाइका क्रममा २०३४ सालमा अखिल भारत नेपाली विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बन्नुभयो। भारतमै उहाँले बिपी कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाहलगायतका राजनीतिक नेताहरुसँग सम्पर्क गर्नुभएको थियो।
२०३७ सालमा नयाँ दिल्ली भ्रमणमा आएका तत्कालीन राजा वीरेन्द्र शाहलाई कालोझण्डा देखाएको आरोपमा भारतीय प्रहरीले पहिलो पटक उहाँलाई पक्राउ गरेको थियो।
सुरुमा उहाँको झुकाउ नेपाली काँग्रेसतिर भए पनि पछि २०३८ सालमा उहाँ मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो। अखिल भारत नेपाली एकता समाजमार्फत उहाँले भारतमा रहेका प्रवासी नेपाली कामदारलाई सङ्गठित गर्ने कार्यमा सक्रियतापूर्वक लाग्नुभएको थियो।
डा भट्टराई २०३४ देखि २०४३ सालसम्म भारतबाट प्रकाशित हुने ‘जनमानस’ र ‘नेपाली एकता’ पत्रिकाका सम्पादक हुनुहुन्थ्यो भने २०४३ देखि २०४८ सालसम्म उहाँ ‘झिल्को’ मासिक पत्रिकाका प्रधानसम्पादक हुनुभएको थियो।
२०४३ सालमा नेपाल फर्केपछि उहाँ पार्टीको पूर्णकालीन सक्रिय सदस्य बन्नुभएको थियो। पञ्चायतकालमा उहाँ २०४३ साल र २०४६ सालमा दुईपटक गिरफ्तारीमा पर्नुभयो।
पञ्चायती शासन विरुद्धको जनआन्दोलनका बेला उहाँ संयुक्त राष्ट्रिय जनआन्दोलनका केन्द्रीय प्रवक्ता हुनुहुन्थ्यो। संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टी (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन र अन्य वामपन्थी पार्टीहरुको गठबन्धन थियो।
बहुदलीय प्रजातन्त्र स्थापना भएपछि २०४७ सालदेखि उहाँको राजनीतिक क्रियाशीलता अझ बढ्यो। उहाँको आफ्नै शब्दमा २०४७ पछि जीर्ण र अशक्त संसदीय व्यवस्थाका कमजोरी र सीमा विरुद्ध उहाँको आन्दोलन जारी रह्यो। यसैक्रममा २०५१ सालमा तत्कालीन सरकारले समेत उहाँलाई गिरफ्तार गरेको थियो।
२०४८ साल यता डा भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माआवादी)को पोलिटब्युरो सदस्यका रुपमा नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँ संयुक्त जनमोर्चाको अध्यक्ष पनि रहनुभयो।
जनयुद्धको समयमा २०५२ देखि २०६३ सालसम्म भूमिगत रही उहाँले विभिन्न मोर्चामा क्रान्तिको नेतृत्व गर्नुभयो।
२०५९–६० मा सरकारसँग शान्तिवार्ताका लागि उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को वार्ताटोलीको नेतृत्व गर्नुभयो। उहाँलाई २०६२–६३ को संयुक्त जनआन्दोलनका एक योजनाकारका रुपमा लिइने गरिएको छ। उहाँ २०६३ सालमा हस्ताक्षर भएको बृहत् शान्ति सम्झौताका मुख्य वार्ताकार पनि हुनुहुन्छ।
२०६४ सालमा भएको ऐतिहासिक संविधानसभाको चुनावमा आफ्नै जन्मथलो गोरखाबाट उठनुभएका डा भट्टराई निर्वाचित सभासद्मध्ये सबैभन्दा बढी मत ल्याउन सफल सभासद् हुनुहुन्छ।
उहाँ नियमितरुपमा पत्रपत्रिका मार्फत विचार सम्प्रेषण गरिरहने एक सक्रिय लेखकका रुपमा पनि परिचित हुनुहुन्छ। उहाँका नेपाली भाषामा लेखिएका १० र अङ्गे्रजी भाषामा लेखिएका चार वटा पुस्तक प्रकाशित छन। उहाँ एक छोरी मानुषीका पिता हुनुहुन्छ।
डा बाबुराम भट्टराइ प्रधानमन्त्रीमा चुनिए । यहिखेर भन्न मिल्छ, ढिलो चाँडो जनताको मतको कदर भएको छ । पूरा भएको छ जनचाहना । जनताको आशाको सानो घिटघिटे आशाले मूर्त रुप पाएको छ । तर यत्तिमै जनताका आशा पूरा हुने होइनन् । जनताले त आफ्ना आशा पुरा गर्छन् कि ! देशका समस्या यीनले बुद्दीमत्ता ढंगले हल गर्न सक्छन् कि भन्ने आशाले यीनलाई कुर्सीमा हेर्न चाहेका हुन् । तर सहज भने पक्कै छैन । अब यीनको एक खाले वास्तविक परिक्षा हुने छ ।
यो परिक्षामा उनी गुल्टिए भने उनी मात्रै गुल्टिँदैनन् देशपनि गुल्टिने छ अर्को बल्ड्याङ । जनताका आशा, भरोसा, चाहना, शान्तिको कामनापनि गुल्टिने छ । नेकपा (माओवादी) पार्टी प्रतिको आशा, भरोसा र लोकप्रियतापनि अझै अग्लो भिरबाट गुल्टिने छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा अलिकति गतिलो काम गरेर देखाउन सके मात्रै भनेपनि सारा आशा र भरोसा उल्टिएर आउने छन् । माओवादीप्रति जनताले गरेको पहिलेको विश्वास उल्टिएर फेरी सोहोरिने छ । संविधान सभाको निर्वाचनमा जनताले दिएको विश्वास फेरी उल्टिएर आउने छ । यसको अर्थ एनेकपा (माओवादी) लाई फेरी पहिलेकै लोकप्रियता र आशाको केन्द्रमा उनले पुर्‍याउने छन् । उनले साहसका साथ यस्तो काम गर्नुपर्‍यो कि कम्तिमा बाबुरामले गतिलो काम गरेको थियो तर अरु पार्टीले गर्न दिएनन् भन्ने देखाउन सक्नुपर्‍यो जनताले प्रत्यक्ष देख्ने, भोग्ने र अनुभूति गर्नेगरि । यत्ति गर्न सके भनेपनि उनले माओवादी पार्टीलाई उल्ट्याएर ल्याउने छन् जनताको विश्वास जित्न ।
चुनौती यति धेरै छन् की उनको जति प्रशंसा गरेपनि सहज देखिन्न । किनभने पहिलो चुनौती त उनैको पार्टीभित्र हुने छ । बाबुराम शक्तिमा पुग्लान् र तर मारौंला भन्ने निकै छन् । प्रचण्ड र बैध्य पक्षलाई मिलाएर लैजानै उनको लागि सजिलो छैन । अलिकति छिस्रिक्क भयो कि उनैको पार्टीमा उनलाइ असहयोग गर्ने संभावना चर्कै छ । उनी असफल भए भने अब माओवादीमा कोहि छैन । सब उस्तै हुन् । कसैले गर्न सक्दैन भन्ने निराशा पैदा हुन्छ जनतामा ।
कम्तिमा उनले सरकारलाई मितब्ययी बनाए, शान्ति र संविधानका लागि वार्ता र छलफलबाट सहमतीको प्रयस गरे भने उनी सफल देखिने छन् । शान्ति र संविधानका लागि मुख्यगरि आफ्नो पार्टीमा चित्त बुझाएर प्रतिपक्षी दललाई विश्वासमा लिए र संविधान बनाउन एकजूट पार्न सके भने उनी सफल हुने छन् । उनले आफ्नो पार्टीलाई जनताको मनमा दह्रोसित स्थापित गराउने छन् । उनको यतिखेरको अवस्था, परिक्षा भनेको देश, आफू, आफ्नो पार्टीलाई गुल्ट्याउने कि गुल्टिन लागेको अवस्थालाई उल्ट्याउने भन्ने चुनौती हो । डा. बाबुरामलाइ हाम्रो हार्दिक शुभकामना!!

No comments: