Labels

Total Pageviews

Thursday, December 15, 2011

सुनामीकी प्रेरणा




सुनामीकी प्रेरणा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
हामी दम्पती परदेशमा छौ सात समुन्द्र पर । संसारको केन्द्र युरोप र त्यसको पनि राजधानी मानिने लन्डन । सधै जागिरहने कहिलेइ नसुतिकन छुट्याउन गार्हो दिन ही कि रात ? बार्हैमास चम्किने सहरमा क्रिसमसको तीब्र चम्काई थपिएको त्यो बर्णानातीत क्षण । विशालतम क्रिस्मस ट्री र तिनमा सजिएका रंगीबिरंगी धोजा पताका जडित चम्किला बत्तिहरुले हरेक घर, हरेक चोक र हरेक गल्लीहरु सजिसजाउ देखिन्छन । ब्यस्त बेलायत यतिखेर पूरै फेस्टिभ मूडमा भेटिन्छ डिपार्टमेन्ट स्टोरभरि, ठूला ठूला मल भरि । रेस्टुरेन्ट भरि, बार र पब भरि । चियर्स !! चियर्स !!! उन्मुक्त पिइ रहेछन बिर्सेर सारा बेथाहरु, ब्यस्तताहेरु । उपहार किन्ने र छान्नेहरुको मानब समुन्द्र तिनलाई आफूतिर केन्द्रीत गर्ने ब्यापारिक कौसलसंगै सर्बत्र झुन्ड्याईएका सेल लेखिएका ब्यानरहरु । बर्ष भरिका आफ्ना ब्यापारिक अनुमानित लक्षलाई चुम्न सहयोग पुर्याउने क्रिसमसको भ्याइनभ्याइ गर्नु पर्ने समय ।
हो ! दुनियाको त्यही स्वर्णिम समयमा आफूलाई कतै निक्लन पनि नमिल्ने पिरलोले गाँजिरहेको क्षण । परदेशी पीडा सबैको सहयोग चाहिने बेलामा मात्र हामी दम्पती छौं मनभरि केहोला कसोहोलाको पिरलो । हामी भित्र उत्साहा छ । उमङ्ग छ । नया जीवनको । नया पुस्तान्तरको । प्रतिक्षाका ती लामा लामा दिनहरु, लामा लामा रातहरु । हाम्रो प्रतिक्षाको चरमोत्कर्ष दुनियाको क्रिसमसकै ओरपर भएकाले पनि हामीलाई त्यो क्रिसमसको बिछट्ट बिजुलीय प्रकाशले तान्न सकिरहेको थिएन । यी सबै यथार्थहरुलाई चिर्दै मैले प्रेजालाई भने – ‘’ हेर ! केटी दुनिया क्रिसमसको उज्यालोमा रमाईरहेका बेला हामी मात्रै कति कोठाभित्र गुम्सिएर बस्ने ? सहरको त्यो उत्कट उज्यालोलाई हामी पनि हेरौ र हामी भित्रको नयाँ जीवनलाई पनि देखाऊ । अनि पो बल्ल त्यसले देखेर दुनियाको उज्यालो बिद्रोह गर्ने छ कति बस्ने आमा भित्रको अध्यारो खोपीमा उफ!! ९ मैना काफी छ भन्दै निस्कने बल गर्ने छ ।‘’ मेरो सल्लाहमा निस्किन् सबै राजि भए घुम्न जानलाई बैनी सृजना सुबेदी अर्याल, प्रेजा र म लाग्यौं नजिकैको लुइशहाम भन्ने स्थानीय बजारतिर ।
बाटाभरि क्रिसमसको उज्ज्यालोलाई नियाल्दै , मान्छेका फेस्टिव मुड र हतारोलाई स्वीकार्दै हामी लागि रह्यौं लन्डनको दुई तले डबल डेकर बसको यात्रामा । सन्ध्याकालीन सुन्दर त्यो साँझ हाम्रालागि खुसी र उत्साहको क्षण थियो । क्रिसमस इभको सन्निकट त्यो क्षण बास्तबमै रोमान्चकारी बनिरहेको थियो हाम्रा लागि । हामीहरु ब्यस्त थियौं सहरका मध्य भागमा बनाइएका विशालतम क्रिसमस ट्रीको चमकिलो बिजुलीय प्रकाशमा तस्बिरहरु खिच्न । प्रसबलाई सजिलो बनाउन खुब हिड्नु पर्ने सल्लाहलाई शीरोधार्य गर्दै मैले प्रेजालाई कुदाई रहेको थिएँ । थकीत, गलित र क्लान्त ऊ भित्र कौतुहलता र भय मिस्रितता प्रस्टै देखिन्थ्यो । हामीहरु लुइसहाम घुमियो किनमेल गरियो र माक्डोनाल्डमा खाइयो सकभर रमाइलो गरियो सबै खाले चिन्तालाई एक छिन पर सारेर । भर्खरै परदेसिएका हामीलाई सकुसल प्रसबकालीन यावत चुनौतीहरु संग लड्नु थियो । हाम्रा कोहि थिएनन् आफन्तहरु तेतिबेला बेलायत सम्म । तथापि हामी दम्पती तम्तयार नै थियौं सबै किसिमका चुनौतीहेरुलाई सामना गर्न ।
मैले भनेझै नै भो नभन्दै बेलुका प्रेजालाई प्रसब बेथा सुरु भो राती १० बजेतिर । हामी दम्पती त्यो रात जाग्राम बसियो । टेलिफोन अडभाइस एन.एच.एस. को पालना गर्दै रहेयौं । प्रेजालाई पीडाले पेल्दै लग्यो । हामी दम्पती डराइ रहेउ रातभरि । संगै ओल्लो पल्लो कोठामा बस्नेहरु मस्त घुरिरहेका थिए । हामीलाई बाथ टबमा राख्न भनियो प्रेजालाई । तातोपानीले भरिएको टबमा बस्दा प्रसबलाई सजिलो र दुखाइ पनि कमी हुने रहेछ । यावत सल्लाहाहरुलाई पालना गर्दा गर्दै हाम्रो रात छर्लंग कट्दै थियो । बिहानपख अतिनै भए पछि हामीले एम्बुलेन्स बोलाइयो । मात्र ५/१० मिनेटमै सुबिधासम्पन्न एम्बुलेन्स हाम्रा अगाडि आइपुग्यो । प्रसबकालागि सबैकुरा ठिक्क पारिएको झोला २/४ दिनदेखि नै तम्तयार थियो कुद्नलाई । साउथ इस्ट लण्डनको कुइन एलिजाबेथ हस्पिटलमा आइपुग्छौं हामीहरु । प्रतिक्षाका घडीहरु अहो कति लामा ? जांच पड्ताल नर्सहरुको सुरुहुन्छ । एसियन मूलकी इन्डियन एउटी बूढी नर्स किन एम्बुलेन्स बोलाको भन्दै च्याठिन्छे । मेरो बच्चाको जीवनभन्दा तेरो एम्बुलेन्सको भाडाको मूल्य दाँज्ने त को होस् म पनि मुख भरिको जवाफ फर्काउछु । जाँची सकेर अजै बेथा लाइसक्या छैन घर लैजा र फेरि आइजा नर्सको आज्ञालाई मान्नुको बिकल्प थिएन । हामी पुनः फर्कियौं भाडाको ट्याक्सीमा । दिनभरि रातभरिको अर्को सिंगो उपक्रम प्रतिक्षा र कौतुहलतामा नै बिते । भोलिपल्ट बिहान फेरि अति भएपछि हामीहरु हस्पिटल जानुपर्ने भयो ट्याक्सीमा तर क्रिसमसको दिन सारा बन्द हुदो रहेछ ।
हाम्रो समस्याको गम्भिरता बुझेर एउटा ट्याक्सी तयार भयो हस्पिटलसम्म जानलाई । बिहानको झिसमिशे उज्ज्यालो पूर्बी दिशामा उदाउने तरखरमा थियो । चरिहरुको शान्त चिरबिरले मनलाई सान्त्वोना मिलिरहेको थियो । सडकहरु खुला र मौन देखिन्थे । क्रिसमसको रोमान्चकता भखरै सकेर थाकेको भोलिपल्ट ‘’बक्सिंग डे’’ को बिहानीको दिन अर्थात २६ डिसेम्बर २००४ । हामीहरु ट्याक्सीमा कुदिरहेका थियौं; हस्पिटल पुग्नलाई हतार भैरहेको थियों । हामीभित्र भयमिस्रित कौतुहलता टम्म जमेको थियो बिहानीको बाक्लो हुस्सू झैं । ट्याक्सी ड्राइभरले एफ.एम. खोल्यो बिहानीको तेस्तै ५ बजेको हुँदो हो; समाचार आइरहेको थियो । ओहो ! कस्तो विस्मयकारी समाचार सुनामीको समाचार । इन्डोनेसिया, श्रीलंका र थाईलेण्डको तटीय क्षेत्रतिर भएको मानवीय प्राक्रीतिक विपत्तिको समाचार । मान्छेहरुको बस्तीमा फैलिएको बर्बादीको समाचार । हामी स्तब्द थियौं सुनामीको समाचारले । तेसो त हामीपनि एउटा सुनामीसंगै लडिरहेका थियों फरक यती थियो हाम्रो सुनामी जीवनको प्रारम्भकालागि अनिबार्य हरेक आमाले लड़नई पर्ने प्रसबको सुनामी थियो । सुनामी पछि एउटा आदर्श परिवार र सुखी जीवनको उज्यालो सुनामी थियो । प्राकृतिक सुनामीले दुखेको मनभरि प्रेजाभित्रको मीठो सुनामीले सबैलाई शान्ति र जीवनको प्रेरणादायी सन्देश दिइरहेको थियो ।
सुन्दर शान्त र स्थिर यो बिशाल धर्ती किन कैलेकाही यसरी बौलाउछ ? क्षणभरमै दुनिया उजाडने गरि । बिश्वोका हरेक कुनामा कैले सुनामीका नाममा, कैले कटरिना त कैले चक्रवर्ती नर्गिसका नाममा । त्यतिले पुगेन भने रीषले धर्ती कम्पित हुन्छ भूइचालो बनेर, क्रोध ओकल्छ ज्वालामुखी लाभा बनेर । बिज्ञान र आबिस्कारका मानवीय धाकहरु दुनिया जितेको स्वाँग गर्ने सक्ती उन्मत्त मान्छेहरु ट्वा परेर हेरिरहन्छन । दुनियालाई धर्तिसंग मितेरी लगाउने प्रेरणादायी हातहरु जुट्नु पर्ने जम्नु पर्ने बेला आइसकेको छ यसप्रकारका दैबी बिपत्ति, बातावरणीय असन्तुलन र प्राकृतिक श्रोत साधनको अधिक दुरुपयोगमा रोक लगाउने प्रेरणा जगाउन ढिलो भैसकेको छ ।
तिनै मानवीय प्रेरणाको प्रतीक बनोस् मेरी सानी छोरी प्रेरणा । प्रेजा र रामको माया र भरोशाकी खानी बनोस् हाम्री सानी प्रेरणा । २६ डिसेम्बर २००४ को बिहानी ९ बजेर ७ मिनेट जाँदा प्रेजाले प्रेरणालाई जन्म दिई स्थानीय कुइन एलिजाबेथ हस्पिटल लण्डनमा । सबै खाले दुख र दर्दहेरु सकिए छोरीको आवाज संगै । घरमा लक्षिमीको प्रवेश भएकोमा खुसी थियौं हामिहेरु । कर्तब्य र कर्मका लामालामा शृंखलाहेरु सम्झेर म अवाक भएँ । म माथि अव अर्को जिम्बेवारिको पहाड तेर्सिएको थियो कर्तब्य र कर्मको चुनौतीजन्य कन्चनजंगा ।
एउटा तीतो सत्य हाम्रो नेपाली समाजमा अझै छोरा र छोरीलाई एउटै आखाले हेर्न र माया गर्न नसक्नु ।स्क्यान गरि गरि छोराको खोजीमा मिल्क्याइने भूर्णरुपी छोरीहरुको लेखाजोखा कहिले होला ? छोरी छोरी जन्मी भनेर पोलियो नख्वाउने आमाहरु अझै राजधानी भित्रै छन् । नातिनी जन्मिदा छोरीलाई मात्र हैन ज्वाइलाई समेत धारे हात लाउदै मन नपराउनेहरुको खान्दानी भीड खोज्न धेरै पर जानु पर्दैन । हाम्री छोरी ती सबै बेथितिकी प्रेरणा बनोस। हाम्री छोरी ती सबै रुढीग्रस्त समाजको आदर्श प्रेरणा बनोस् । नेपाली समाजमा रहेको लैङ्गिक विभेद अन्त्यको सानो कोशे ढुँगा बनोस् ।

2 comments:

Ananta Acharya said...

nice one , mama

Ram said...

Thank you Ananta Bhanja for your words. This old article I always used to post on Prerana's Birth day. I still have to write another Article for Prema.