लण्डन ओलम्पिक २०१२ को भब्य समापन
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
सन् २०१२ को जुलाई २७ तारीखको साँझलाई अभूतपूर्व बनाउँदै सुरु भएको विश्व खेल महोत्सव लण्डन ओलिम्पिक्सको अगष्ट १२ तारिख लण्डनमा भव्य समापन समारोह सम्पन्न भएको छ। समापन समारोह ८० हजार दर्शकले भरिभराउ पूर्वी लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा भएको हो । उद्घाटन समारोह समेत सोही रंगशालामा भएको थियो ।

समापन समारोहका निर्देशक स्टेफेन डाल्ड्रीले यसलाई अहिले सम्मकै उत्कृष्ट पार्टीको संज्ञा दिए ।
लन्डन ओलम्पिकका अध्यक्ष लर्ड कोइले समापन समारोह बि्रटिश संगीतमा समर्पण गरिएको जनाए । समारोहका कला निर्देशक किम गेभिनका भनाइमा उद्घाटन समारोह बिहेको दिन थियो भने समापन बिहे पछिको डिस्को जसमा सहभागी मज्जाले रमे । समापन समारोहमा गुञ्जिए एडेल देखि एल्गरसम्मका संगीत ।
पप स्टार जर्ज माइकल, दि पेट सप बोइज्, म्याडनेस्, जेसी जे, ग्यारी बार्लो, केट बुस, टिनी टेम्प, रे डेभिस् र स्पाइस् गल्र्स समूहको प्रस्तुती पनि कम रोमाञ्चक रहेन ।
समारोहमा पैंतीस सय स्वयंसेवक, तीनसय ८० जना स्कुले केटाकेटीसहित चार हजार एकसय कलाकारले आफ्नो जादु देखाए ।
८० हजारले भरिएको रंगशालामा केट(डचेस् अफ क्याम्बि्रज),राजकुमार ह्यारी, बेलायती प्रधानमन्त्री लगायत अन्य वरिष्ठ राजनीतिज्ञ दर्शकदीर्घामा थिए ।
समापन समारोहमा ओलम्पिकको अर्को संस्करण सन् २०१६ मा गर्न ब्राजिललाई जिम्मा सुम्पिइएको छ । लन्डन मेयर बोरिस जोन्सन्ले रियो मेयर इडुएर्डो पायस्लाई ओलम्पिक झण्डा हस्तान्तरण गरेका हुन् । रियो सेग्मेन्टमा सुपरमोडेल एलेसान्ड्रो एम्ब्रोसियोसहित ब्राजिलियन कलाकारहरुले आठ मिनेट लामो शो प्रस्तुत गरेका थिए । शोमा पेले एकाएक देखिंदा दर्शकले तालीले स्वागत गरे ।
बेइजिङ ओलम्पिकमा ५१ स्वर्णसहित पहिलो स्थान सुरक्षित गरेको चीनले यसपटक ३८ स्वर्ण ल्याएर दोश्रो स्थानमा चित्त बुझाएको छ ।
कुल २९ स्वर्ण जितेर तेश्रो स्थानमा रह्यो बि्रटेन । बेइजिङ ओलम्पिकमा जम्मा १९ स्वर्ण ल्याएको बि्रटेन यसपटक सन् १९०८ यताकै सबैभन्दा बढि मेडल जित्न सफल भयो । त्यसो त बि्रटेनले एउटा पदकका लागि दश मिलियन पाउण्ड(नेपाली करिब एक अरब तीस करोड रुपैयाँ) लगानी गरेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याकी रोजले भव्यतापूर्वक ओलम्पिक सम्पन्न गरेकामा बि्रटेनप्रति आभार व्यक्त गरेका छन् । उनले लन्डनले खेलाडीहरुलाई इतिहास रच्ने अवसर दिएकोमा पनि प्रशंसा गरे ।
लन्डन ओलम्पिक सफल बनाउन ७० हजार स्वयंसेवकहरुको उल्लेख्य भूमिकाको समेत तारिफ भएको छ । उनीहरुले करिव सत्र हजार पाँच सय खेलाडी, हजारौं अफिसियल र ओलम्पिक हेर्न ओइरिएका लाखौं दर्शकलाई लन्डनमा न्यायो स्वागतमात्र गरेनन्, हरेक कुरामा पथ प्रदर्शक र सहयोगी भूमिका निर्वाह गरेका थिए ।
No comments:
Post a Comment