Labels

Total Pageviews

Friday, December 14, 2012


नेपालकी मनकामना र फिलिपिन्सकी मनाओग देबी !
रामहरि पौड्याल
हरेक देश हरेक समाजका आ-आफ्नै धार्मिक सांस्कृतिक मूल्य र मान्यताहरु रहेका हुन्छन | आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो चाहाड बहाड र आफ्ना इस्ट देव देवीलाई मान्ने, पुज्ने चलन पनि आ-आफ्नै पाइए पनि तिनमा मुलभूत समानता पनि सन्निहित भएको हुँदो रहेछ | धार्मिक हिसाबले चाहे कोहि हिन्दू होस् या मुस्लिम, चाहे कोहि क्रिस्चियन होस् या बुद्धिस्ट | जे भएपनि धर्मको मूल सार एउटै छ | फरक प्रक्रियामा होला मन्दिर र मस्जितको , चर्च र गुम्बाको | पूजा र भक्तिका तौर तरिका हरुमा देखिने बिभितता गौण बिषय हुन इश्वोरिय आस्था र बिश्वाशका सामू | इश्वोर एउटै छ, सन्देश एउटै छ | फरक भूगोलको , फरक भाषा र संस्कृतिको फरक मात्र बोलाउने नाम र बिचारको |

त्यस दिन १९ डिसेम्बर १९९९ को दिन थियो | शताब्दि परिवर्तनको संघारमा क्रिश्चियनहरुको महान पर्व क्रिसमस संघारमा मुस्कुराई रहेको थियो | शुभकामनाका थाली भरि स्वागतका सगुनहरु बोकेर | अर्कातिर तीतामीठा, राम्रा नराम्रा सबै खाले अनुभव र अनुभूतिलाई स्मृतिको गर्भगृहमा छाडेर बिदाईको सँघारमा अलबिदाका हातहरु हल्लाउदै थियो सन् १९९९ ले | प्रकृतिको मनोरम मादकता वातावरण भरि छरिएझैं प्रतीत हुन्थ्यो पूर्वी एसियाको सुन्दर राष्ट्र फिलिपिन्स भरिनै |  हामीहरु सानकार्लोस सिटीको एकान्त कुनामा रहेको सान प्यात्रो स्ट्रीटको एउटा पारिवारिक घरमा थियौँ | बिगत केहि दिनदेखि नै सहरमा क्रिश्मसको धुमधाम देखिन्छ | झिलिमिली बत्तिहरुले सजाईएका सुन्दर क्रिश्मस ट्रीहरु | बन्द छन् बिध्यालय र बिश्वोबिध्यालयहरु | क्रिश्मस देखि नयाँ बर्षसम्मकालागि | हामीहरुकोमा दशैं तिहार सम्म बिदा भएझैं |
अघिल्लो बेलुकै हामी दुई भाइ आमन्त्रित थियौँ तीर्थाटनकालागि | फिलिपिन्सको राजधानी मनिलाबाट २०५ किमी उत्तर पश्चिममा अवस्थित प्रसिद्ध मनाओग देबी (Lady of Manaoag) को दर्शनार्थ | बिहानीको चीसो प्रभाती हार्दिकतासँगै हामीहरु एकत्रित भयौँ | घरबेटी लारीको आफ्नै जीप्निमा खचाखच थिए फिलिपिनो आफन्तहरु | ७२ बर्षे हजुरामादेखी २.५ बर्षे पनातिनी लिसेद सम्मका ठूलै डप्फा हाजिर थियो | खानपिनकालागि रासनपानीको जोहो अघिल्लै दिनदेखि चल्दै थियो धुमधाम सँग |  फिलिपिनोहरुको त्यो पारिवारिक भिडमा हामी दुई भाइ बिदेशीहरु हजारौं माइलको भौगोलिक दूरतामा पनि रमाइरहेकै थियौं | उनीहरको उत्कट खुसी र उमङ्गले हामीलाई उर्जा थपेको थियो | मेरो नजिकै रोजी थिइ र बिष्णु दाइसँग रिया | हामीहरुलाई गाइड गर्दै थिए बाटाभरि ती दुई दीदी बैनीहरु | तिनीहरु कम्प्युटर साइन्सका बिध्यार्थी थिए | देबी मनाओग प्रतिको फिलिपिनो बिश्वासलाई प्रस्ट्याउदै रियाले बताई –
 ‘’ दियर ह्याभबिन  मेनी साइटसींगस् बट टू द फिलिपिनो फेथफूल – नोथिंग केन पोसिब्ली कम्पेयर टू आओर लेडी अफ मनाओग |’’ (धेरै नै दर्शनीय राम्रा घुम्ने ठाउँहरु भए पनि फिलिपिनो बिश्वास अनुसार  सायद देबी मनाओगसँग तुलना योग्य केहि पनि छैन ) |

हामिकाहाँ मनकामना देबीको मन्दिरमा गएर पूजा गर्ने सबैको मनोकामना पूरा हुने बिश्वास लिएझैं फिलिपिन्समा पनि मनाओग देबीको पवित्र चर्चमा पुग्ने सबैको मनोरथ पूरा हुने बिश्वास लिईदों रहेछ | सत्रौं शताव्दीबाट सुरु भएको मनाओग देबीको कथा प्रसङ्गका सम्बन्दमा फिलिपिनो समाजमा अनेक थरिका आश्चर्य जादुगरी बिश्वासहरु  बताइने गरिन्छ | मनाओग देबीको दर्शन र त्यहाँको पवित्र पानीलाई घरघरमा लगिँदो रहेछ ‘मेडिकेटेड वाटर’ भन्दै ग्यालन भरि उठाएर | हामीले पनि पियौं त्यो पबित्र पानी भावपूर्ण श्रद्धाले अन्जुली भरि भरि | हजारौं मान्छेले खचाखच भरिएको मनाओग क्षत्र हरियाली रमणीय वृक्ष र लतिकाहरुले सजिएको सुन्दर तपोवन नै प्रतीत हुन्थ्यो | बिशाल चर्चको बीचबाट फादर (गुरु)ले आधा तगालोग र आधा अँग्रेजीमा बाइबलको सन्देश सुनाइरहेको सुनिन्थ्यो माइकमा – ‘’ ओहो ! गड !! आइ एम अलोएज  विथ यु फर एभर एण्ड एभर !’’ ( प्रभु ! म सधैं हजुरकै भक्तिमा हुने छु सधैं सधैं !)

हामीकाहाँ मन्दिरमा धुप दीप प्रज्ज्वोलित गरिएझैं यहाँ पनि चर्चहरुमा मैन बत्ति बाल्दा रहेछन | हामीले पनि क्यान्डील किन्यौँ र जलायौं रोजी र रियाले गरेझैं आफ्नो मनोकामना पुराहोस भनेर | तलपट्टि डोनेसन बक्स रहेछ र त्यहाँ सबैले आफना मनोकामनाहरु लेडी अफ मनाओगको नाममा लेखेर यथासक्य दक्षिणा सहित खसाल्नु पर्ने रहेछ | सबैले त्यसै गरे अरुहरुले गरेजस्तै | हामी दुई भाइ वरै बसेर त्यो मानवीय बिश्वास र सद्भावलाई हेरिरह्यौँ एकाग्र भएर |
रोजीले कराउदै भनी – ‘’ रामू यु डन्ट लाइक टू विस एनिथिंग ? मैले प्रतिउत्तरमा रमाइलो जवाफ दिएँ –‘’ मेरा लागि एउटी राम्री गर्लफ्रेन्ड विस गर्दे !” स्विकारोक्तीमा मुस्कुराई रोजी ओ रियल्ली ! के म राम्री छैन र ?
फिलिपिनो परिवारको संयुक्त परिवारमा देखिएको त्यो लोभलाग्दो पारिवारिक  एकता आपसी प्रेम र सामिप्यता हाम्रा लागि समेत एउटा नमूना पाठ लागि रह्यो | एउटै यात्रामा कति उत्साहले जुटेका छन् एउटै परिवारका दाजुभाइ, दिदीबैनी, बुहारी भान्जा, भान्जी, ज्वाई, फुपू पुसाजु सबै समेटिएका छन् | हांसीरहेका छन् रमाइलो गरिरहेका छन् पिइ रहेका छन् | कुनै प्रकारको बिभेद र आडम्बर देखिदैन त्यहाँ |
यसरि दिनभरी रमाइलो आध्यात्मिक मनाओग देबीको दर्शनले पुलकित हुदै तेइ रमाइलो क्षत्रमा मीठो खानपिन सकेर हामी फर्कियौँ त्यस दिन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा दशकौं अघि बिमोचन मासिकमा प्रकासित भएको थियो )


No comments: