Labels

Total Pageviews

Saturday, October 15, 2016


मृत्यु उत्सब 

                                                      (कथा)

रामहरी पौड्याल
भरतपुर १२ / १९३ , बसन्त चोक , चितवन

'ए 'ह्यारी ' पल्लो घरकी रोजी गईन थाहा पाईस |'
अहँ  मैले  अनभिज्ञता  प्रकट गरें |
हामीले पनि आजै थाहा पायौ  | तीन दिन  भैसकेछ  | ओहो  कस्तो दुखको  खबर ? छिमेकी मरेको पनि तीन तीन दिनसम्म थाहा नपाइने कस्तो देश ? म आफैलाई प्रश्न गर्छु | अब के गर्नु पर्छ ? बेलायती चलन मलाई थाहा  छैन | मैले आफ्नी वल्लि छिमेकी शीलालाई अनुरोध गरें |
छिमेकमा मान्छे मरेको छ , जोडिएकै घरको पल्लो पट्टि  तर कुनै चांइचुँइ सुनिदैन न कुनै रुवाबासी | न कुनै हल्ला हतारो लास पन्छाउने | कस्तो अचम्ब ? बिरानो देश , भाषा, धर्म, संस्क्रीती सबै फरक भएको मुलुकमा तत्जन्य अपनाउनु पर्ने तौर तरिकाले कैले काँइ साचै अप्ठेरो  पार्दो रैछ |  बेलायत बसेको दशकौं भए  पनि मृत्यु यति नजिकबाट हिडेको देखिएको रहेनछ | अनुभूत  समेत नगरिएको रहेछ | हो मैले परिवारका धेरैलाई , आफ्ना गाउँ ठाउँका धेरै प्रिय मनहरुलाई यो बिचमा नगुमाएको भने होइन तथापी परदेश पीडाको एउटा सबै भन्दा दुखद पक्ष आफन्तहरुको त्यो वियोग पीडामा मलम लगाउन, मर्दा पर्दा गर्नु पर्ने सहयोग सद्भाव प्रकट गर्न नपाइने एउटा तीतो यथार्थता | आज परदेशमै भए पनि आफ्नै छिमेकमा पाईएको यो सदभाब  प्रकट गर्ने अवसर मेरालागि एउटा ठुलै तीर्थ साबित हुँदै थियो |
हाम्री छिमेकी रोजी बिगत केहि बर्षदेखि  नै क्यान्सर पीडित थिइन् | दुब्लाएर हाड छाला मात्र बाँकी थिए | कपाल झरेको थियो लगातारको केमो थेरापीले | तिनको बाक्य बसेको थियो | आबाज निस्कदैनथ्यो तिनको कण्ठबाट | मात्र मुस्किलले बुज्नु पर्थ्यो तिनको अभिप्राय | जब समर लाग्थ्यो चिसाले कठाग्रिएका  बेलायतिहरु बाहिर निस्कन्थे गार्डेनमा  घाम ताप्ने , घाँस काट्ने , तरकारी फलफुल रोप्ने काममा  लाग्थे | अनि बल्ल भेट हुन्थ्यो हाम्रा छिमेकीहरुसंग | टेरेस हाउसमा बस्ने हामी सबैको घर बाग बगैचा जोडिएको हुन्थ्यो | यसले एक किसिमको निकटता पनि हुँदो रहेछ छिमेकीहरुसँग | कुनै छेक बार नभएपनि एकापसमा जग्गा जमिनको कुनै किचलो सुनिदैन यहाँ |तेरो यति मेरो जग्गा पल्लो सम्म, यता उता केहि सुनिदैन |
समरको घमाइलो एक दिन बगैचाको घाँस काट्दै थिएँ लन मोवरले | छिमेकी रोजी निस्किन धर्मराउदैं थचक्क बासिन गार्डेन बाहिरको फलैचामा | मैले अभिबादनको हात उठाएँ | उनि एक तन्मय साथ चुरोट पिउन थालिन | चुरोटको धुँवाले आफ्नै आकार लियो बातावरणमा | यो सबै आफ्नो गार्डेनबाट  हेरिरहेको म स्तब्द भएँ केहि बेर | रोजिलाई केहि भन्न सकिन तथापी मेरो मनको कौतुहलतालाइ जर्जको सामुन्ने राखी छाडें |
"क्यान्सरको रोगीले त्यसरी चुरोट नखाए हुनेनी" मिस्टर जर्ज! मैले बुढालाई मात्र सुटुक्क सुनाएँ |
'हेर ह्यारी डाक्टरले अब बाँच्ने कुनै उपाए छैन त्यसैले उनको आत्माले मागेको चीज नरोक्नु भनेको छ!'
उनि अब केहि दिनको मात्र पाउना हुन् हाम्रालगि |बुढाले तुरुक्क आँसु चुहायो  मेरो मनको कुनासम्म त्यो वृद्धको पत्नी प्रेमले नजानिदो झडका दियो |
जीवनको क्षण भंगुरता नाचिरह्यो |
सौभाग्यले हाम्रा दुवै जोडिएका छिमेकीहरु बुढा बुढी छन्  | एक्लै बस्छन | कुनै हल्ला खल्ला हुदैन | बरु उल्टै मेरा नानीहरुले कैले काहीं उपद्रो मचाउछन  तथापी कैलेइ कम्प्लेन गर्दैनन् | मेरा नानीहरु खेल्न बाहिर निस्के भने औधि मायाँ गर्छन | नाती नातिनाको झझल्को मेटाउदा हुन् तिनीहरु | पश्चिमा देशहरु भौतिक बिकाशले चरम सीमा मा पुगे पनि पारिवारिक , अध्यात्मिक संरचनाका दृष्टिले हामी भन्दा धेरै पछि छन् | बुढा भएका बाउ आमा भेट्न छोरा बुहारी नाति नातिना  दुइ चार मैनामा एपोइन्त्मेण्ट मिलाएर आउछन चिया खाएर फर्किन्छन | एउटा मात्र औपचारिकता सांसारिक लोक लाज ढाक्ने | स्वछन्द जीवन शैलीमा हुर्के बढेका स्वतन्त्र प्रीय गोराहरु हाम्रो जस्तो गुरुकुल र श्रवन कुमारको जस्तो पित्री भक्तिको परमपरा भएको पूर्वीय परमपरा मान्ने कुरो पनि भएन |
बाउ आमा सारै भए केयर होम मा हलिदिन्छन |
बुढा बुढी आफैको टन्न पेन्सन हुञ्छ जीवन भर दुख गरेको | उनीहरुलाई कसैको साथ सहयोग समेत पर्दैन | फ्री मेडिकल केयर भएको एन एच एस सिस्टम संसार भरि प्रसिध छ बेलायतीहरुको |
एक दिन छोरीहरुलाई स्कुल पुर्याउन  हतार गर्दै थिएँ , पछाडिको  ढोकामा जर्ज बुढा आएर बसेका रहेछन कैले म निस्कन्छु भनेर | यिनीहरु सकभर कसैको ढोका ढक ढकाउदैनन |
"आज रोजीको अन्तेस्टी हो लोकल चर्चमा - ह्यारी"
मलाइ उनले बिस्तारै फुस्फुसाए | मैले सहानुभूतिका दुई शब्दसंगै अंकमाल गरें | मेरा नानीहरुले पनि उनलाई हग गरेर  दुख ब्यक्त गरे |
म छोरीहरुलाई स्कुल पठाउन  बाटो लागें | ग्रेट आउज नदी आज बिशाल देखिएको थियो | समुन्द्रमा ठुलै छाल आएको हुनुपर्छ | यो टाइडल रिभर  ग्रेट आउज समुन्द्रको उत्ताल तरङ्गसंगैं कैले बढ्ने र कैले सुक्ने गर्छ क्षण भरमै | जीवनका  तरंगहरुझैं  लाग्छन नदीका बहाबहरु |
'मान्छे किन मर्छ ड्याडी?'
स्यानी छोरीको जीवन र जगत प्रतिको धारणा |
हिन्दुहरुको मरेपछि किन आगोले डडाउछ ??
बेलायतमै जन्मेका मेरा नानीहरुको यो जिज्ञासाले म मर्माहित हुन्छु |
क्रिश्चियन स्कुलमा पढने मेरा नानीहरुलाई मैले खै सकेको यी सबै हिन्दु संस्कारका कुराहरु सिकाउन ?

मेरो मन आज त्यसै त्यसै  भौतारिएको छ जीवनका यथार्थ सम्झेर काहा जन्मे म कुन ठाउमा हुर्के बढें र कुन ठाउँमा भोलि सकिन्छु कुन रुपमा ?
यी साना नानीहरुको जीवन उनीहरुको उज्ज्वल भबिष्य र संस्कारको जिम्मेवारी के मैले पुरा गरुला ?
बजार गएर फूलको गुच्छा किनें समबेदना कार्ड किनें | घर फर्किएर कालो सुट लगाएँ त्यसमाथि राधा बैनीले तिहारमा लगाई दिएको नेपाली टोपी लगाएँ | फूलको गुच्छा समबेदना कार्ड बोकेर हानिए छिमेकीको दैलोतिर | मैले सोचें यस्तो दुखमा मान्छेहरु कस्तो चिन्तींत होलान सबैको मुखार्क्रीती माया लाग्दो होला स्वर्गबासी आमाको सम्झानाना प्राथना चलिरहेको होला |आमाको सम्झनामा  सन्तानहरुको रुवाबासी कति कारुणिक होला ? कसरि प्रस्तुत हुनुपर्ने हो यस्तो दुखमा ? म सक्दो अभिनय गर्दै अगाडी बढ्दै रहें |
“तिम्रै काखमाहाँ बढेर अहिले देखें जगत यो पनि
तिम्रै यादमाहाँ म हुँ हर घडी लेखूँ म गाथा अनि |”
आमाको सम्झनामा आफैले कोरेको "आमा" शीर्षकको यो कविताको सुन्दर पदावली सम्झदै गरें मैले | सोचेको थिएँ  बुढीको लास घरमै होला यो फूल आफै चडाएर श्रद्धान्जली  अर्पण  गरुँला | त्यस्तो रहेनछ लास त फ्युनेरल कम्पनीले लाँदो रैछ एकैचोटी चर्चमा ल्याउने गरि | मेरो फूल उनीहरले नै चडाइ दिने भए मेरो अनुरोधमा |

म आश्चर्यमा परें त्याँहा मृत्युको कुनै पदचाप दिखिदैनथ्यो | सबै सुटेट बुटेत  मान्छेहरु कुनै भब्य महोत्सबको आयोजनामा एकत्रित भै रहेको प्रतित हुन्थ्यो | उज्यालो मखाक्रीतिका मान्छेहरु सबै उत्साही देखिन्थे | कसैको अनुहारमा दुखको एउटा सानो आभास पनि पाइदैनथ्यो |  हो त जीवन जस्तै मृत्यु पनि  एउटा उत्सब नै त हो हरेक मान्छेका दैलोमा आइपुग्ने ढिलो चाँडो , राम्रो नराम्रो  प्रारब्धको  खेल जस्तो | मृत्यु अबस्यम्भाबी छ | को काहाँ कैले र कसरि मर्छ ? यो कसैलाई थाहा हुदैन | जीवन दुर्घटनै  दुर्घटनाकाबीच  सम्भावनाले बाँचिने खेल रहेछ | जीवनका पाइलै पिच्छे हामी खतरासंग जुधी रहेका हुन्छौ | भबितब्य , दुर्घटना प्राकृतिक बिपत्ति आतंककारी आक्रमण के के हुन् मान्छेका जीवनलाई संधै त्राहिमाम त्राहिमाम  बनाइ रहने तत्तोहरु | नश्वोर जीवनको क्षण भंगूरताका बीच पनि मान्छे आज आफ्ना कर्तुतहरुलाई छोप्ने प्रयास गर्दै छ  | लोभ लालच अहंकार पद प्रतिष्ठा आडम्बर्ले  मान्छेलाई छोडेको छैन मृत्यु पर्यन्त  |
मान्छेको जीवनमा बाँच्ने भनेको  सुक्रीती मात्र हो | मृत्युको कात्रोमा कुनै खोलती हुदैन | जीवन भर आफुले गरेका परोपकारी मानवीय सुकार्य को प्रकाशले मात्र उसको परलोक यात्राको सहज गन्तब्य तय हुन्छ | उसको स्वोर्गको बाटो तय भएको हुन्छ | मान्छेहरुका बिचको उसका असल कर्महरुका शुबाषले उ  मग्मगीएको हुन्छ समाजका बीच |
त्यसैले त ज्ञानी र ध्यानी हरु मृत्युसंग डराउदैनन त्यसलाई जीवनको एउटा अपरिहार्य सत्य सम्झेर आत्मासात गरेका हुन्छन | मृत्युलाई पनि हामीहरुले जीवनझैं एउटा परम्परा सम्झेर एउटा ठुलो महोत्सब को रुपमा मनाउनु पर्दछ |
हामीहरुको तिर अलि बढीनै कोलाहाल रुवाबासीको नाटक मन्चन गरेजस्तो लग्यो मलाई त | मृत्यु संस्कार समेत १३ दिनको लामो र  पट्यार लाग्दो हुदै गएको जन गुनासो सुनिधै आएको छ | आसा गरौँ  त्यसमा विद्वान पण्डीतहरुले समय सापेक्ष परिवर्तन गर्लान | मैले हिन्दु धर्मलाई अबमुल्यन भने गर्न खोजेको होइन तथापी अरु धर्मका राम्रा परम्परा सगं  तुलना मात्र गर्न खोजेको हुँ | आजको ब्यस्त दुनियाँमा हामीले आफ्ना धर्म संस्कृतिका राम्रा पक्षलाइ उजागर गर्दै जाने र नराम्रा र अन्ध परम्परालाई समयानुचित परिवर्तित गर्दै जानु बुद्धिमानी ठहरिन्छ  | 

लामबद्दा कारहरु स्थानीय चर्च तिर लागे रोजीको अन्तिम संसकारका लागि  | हरीत लातिकाहरुले घेरिएको त्यो सुन्दर तपोबन जस्तो लाग्ने ग्रेभ यार्डको बिचमा  भब्य चर्च  रहेको छ | त्यहाँ  एकत्रित रहेका सबैले चर्चको पादरीका आज्ञानुसार उनलाई अन्तिम बिदाई गरे | एउटा सानो चार फुटे बाकसमा बन्द उनको शरीरलाई चर्चमा बोकेर भित्र
 ल्याउदै गर्दा हामी सबै उठेउ | बाताबरण मा एउटा शुन्यता छायो नमीठो | आखिर जीवन के रहेछ त ? हिजोसम्मका  सारा इक्षा आकांक्षा , लोभ लालच , आडम्बर अभिमानको अन्तिम टुंगो त्यहि सानो चार फुटे बाकस हो सबैको | एउटा प्राथना उनका बिदायिकालागी हामी सबैले गरेउ पदारिका आज्ञा अनुसार | पादरीले रोजका जीवनका हाइलाइट हरु सुनाए | कहाँ जन्मिन ? कसरि हुर्किन बढीन र जर्ज संगको पहिलो भेट उनीहरुको प्रेम र त्यसको विवाहमा रुपान्तरण , छोरा नाती नातिनीहरू , उनले गरेका घुमेका काम , समाज सेवा , च्यारिटेवल कार्यहरु | परिवारमा उनको स्थान सबैलाई मात्र ५ मिनेटको त्यो जानकारीले बतायो | अब उनको नश्वोर शरीर यो धर्ती बाट ग्रेभ यार्डमा रुपान्तरित हुदै थियो | हिजो सम्मकि जोर्ज कि अर्धांगिनी , पिटर र पमेलाकी प्यारी आमा , आधा दर्जन नाती नातिनीका प्यारी हजुरआमा अब मात्र इतिहास बनेर यो धर्ती बाट बिधिबत बिदा हुदै थियिन स्वर्ग तर्फको आफनो दिब्य यात्रामा |
मेरो मन बास्तबमै अशान्त भै नै रह्यो त्यो चर्च भरिनै | मान्छेहरु रोजका जीवनका सुन्दर पक्षहरुलाई केलाई रहेका थिए | सुनाइ रहेका थिए | प्राथना रत देखिन्थे उनको दिब्य यात्राको "रेस्ट इन पिस डार्लिङ्ग रोज !"
रोजको मृत्यु संस्कारको त्यो भब्य कार्यक्रम मात्र आधा घन्टामा  सकियो | समाधिस्त गर्ने देखि सारा जिम्बेवारी फ्युनरल कम्पनीले गर्दो रहेछ | परिवार आफन्त छिमेकी मात्र  आधा घन्टा चर्चमा उपस्थित भए र आ आफ्नो काममा फर्किए |
मृत्यु उत्सबको सुन्दरता उसले गरेका सुक्रीती हरुको प्रकाशले पल्लवित हुने गर्छ | यो मानवीय सुगन्धलाई कति मन मोहक कति प्रेरणादायी कति समाज परस्त भएर बिताइयो त्यसको मुल्यांकन मृत्यु उत्सबको भव्यताले , त्यहाँ उपस्थित हार्दिक जनउभारले गर्ने गर्छ | इतिहास र परिवारजनले गर्ने छ |
मान्छेहरु कुनै ठुलो बिपत्ति , कुनै ठुलो दुर्घटना , कुनै ठुलो आपत्तिले बाल बाल बाँचे पछि मात्र जीवन र मृत्युको त्यो शास्वोत सत्यलाई बुजेझई  गर्दा रहेछन | आज मेरो देश प्राकृतिक प्रकोपको ठुलो चपेटामा रोइ रहेको छ | हरेक दिन आउने ठूला भुकम्प र त्यसपछिका  ससाना पराकम्पाले  समेत सारा देश बाशीहरुलाई  तर्साइ रहेको र मनोरोगी बनाइरहेको द्रिस्य परदेशबाट हेर्दै द्रबीत भै रहेको छु | प्रकृति किन यसरि रिसायिन  दुनिया उजाड़ने गरि ? आफैले रचेको श्रीस्टी धोस्त पार्ने गरि ? आज मान्छे गम्नु पर्ने बुज्नु पर्ने बेला  आएको छ | अतिको पराकास्ठा  न नाघौँ  कसैले | आजको एकात्मक समाज , आजको पदलोलुप र अहंकारी दुनियाँका बीच मृत्यु उत्सवका सौन्दर्य पक्षलाइ मनन गर्नु पर्ने समयमै सचेत गराउनु पर्ने ढिला भै सकेन र ? मेरा मनका अन्तस्करण मा यो अनुत्तरित यक्ष प्रस्न एउटा घाउ बनेर बल्जिरहेको छ | बल्जिरहेको छ |
तिम्रो परलोक यात्रा सुगम बनोस रोज !
रेस्ट इन पिस हेभेन्ली !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

No comments: