Labels

Total Pageviews

Thursday, November 29, 2012

साइबर प्रेम


साइबर प्रेम
रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक,चितवन

जीतबहादुर दम्पती दङ्ग छन् छोरी एलीनाले कम्प्युटर चलाएको देखेर | एउटी छोरीको खुसीकोलागि उनीहरु जस्तोसुकै मूल्य चुकाउन पनि तम्तयार देखिन्छन | अभाव, असजिलो केहो ? एलिनालाई थाहै भएन | भाग्यमानी ब्रिटिश लाहुरेकी एकल सुपुत्री एलीना घले |
भर्खरै टीन एजको अन्तिम सँघार नाप्दै गरेकी बिबिएस अध्ययनरत एलीनालाई देख्नेहरु आफ्ना लोभी नजरहरु घुमाई हाल्थे सुटुक्क | युबाहरुको धुकधुकी बढाउने चपल सुन्दरताकी धनी ऊ अग्ली,पातली, टिमिक्क जीउडालकी थिइ | उसका कामिनी हाउभाउले हर कोहीलाई बिमोहित परिछाडथ्यो सहजै |
‘’गाँठवाला लाहुरेकी एक्ली छोरी’’
छिमेकका तरुण मनहरुको कानेखुसी |
‘’फ्रयाङ्क पनि छ मोरी !’’
‘’फेसनको दुनियाको एउटा प्रयोग !
...................................... |’’
कलेजका ठिटाहरुका बीच चल्ने प्रतिक्रिया दिनहुँ |
धेरै युवाहरुको भित्रैसम्म कम्पन छुटाउने अपार सुन्दरता, हाउभाउ कटाक्ष र तज्ज्यन्न आभूषणआदिले सजिएर हिंड्ने उसका स्वतन्त्र दिनचर्या थिए | हरेक दिन कम्प्युटर इन्टरनेटसँग २/४ घण्टे क्रिडा | इमेल, ग्रीटीङ्ग, एम.एस.एन./ याहु, स्काईप/ फेसबुक, ट्विटर उनका कम्पुटर भाषा थिए | पढ्नमा पनि तेजनै थिई ऊ आफैजस्ती | सुन्दरता र बौद्धिकता एकै ठाउँमा घोप्टिएको थियो |
‘‘हेर्नुस न ड्याडी  यो मेरो नयाँ साथी ‘
ममी !  ममी !! यो मेरो साथी आकाश !’’
फेसबुकका भित्ताहरुमा हराउछे एलिना |
मेरो  सपनाको राजकुमार !
ड्रिम ब्वाई !!
कस्तो हेन्डसम ! उसका प्रोफाइल हेर्छे | फ्रेन्ड लिस्ट हेर्छे | दङ्ग पर्छे ऊ |
आँखा चिम्लेर चुम्म ! चुम्म !! उसको फोटोलाई मायाँ बर्साउँछे |
यस्ता धेरै फेशबुक फ्रेन्डहरुसँग उसको हिमचिम | तिनीहरुका नयाँ नयाँ फोटोहरुको कमेन्ट | म्यासेज, च्याट, स्काईप गफ उसका व्यस्ततम दैनन्दिनी थिए | नयाँ नयाँ साथीहरु | नयाँ नयाँ च्याटमेटहरु | केटी भन्दा केटाहरु नै बढी थिए उसंग नजिकिन खोज्नेहरु |
जीतबहादुर दम्पतीलाई यी सबै कुराको त्यति साह्रो भेउ थिएन | उनीहरु दङ्ग थिए छोरीको कम्प्युटर क्रेज, च्याटिङ्ग, फेसबुक, इमेल, स्काईपमा देखिने नयाँ नयाँ ठिटाहरु छोरीका साथीहरु वा ब्वाइफ्रेण्ड ? त्यसैमा भावी ज्वाँईको स्वरुप देख्ने सोझा लाहुरे दम्पती |
करोढपति लाउरेकी एक्ली सन्तान एलीना फूलजस्तै सुकोमल सुरम्य | चन्चल र चतुर थिई ऊ | बिहानको क्याम्पस, दिउसोको कम्प्युटर क्लास, साँझको ल्यांग्योइज उसका अति ब्यस्त जीवनहरु थिए | बिबिएस सकेर अमेरिका जाने उसका सपनाहरु ..... | त्यसकालागि गर्नु पर्ने तयारीको चटारो टफेल प्रिपरेसन, जीआरइ, जिम्याट उसलाई भ्याई नभ्याई थियो |
जीतबहादुर दम्पतीका जीवनका उत्तरार्धहरु रमाइला देखिए आफूले सोचे र साँचेझैं | लाहुरे जीवनका दुखद दिनहरु फ्ल्यास ब्याकमा परेका छन् | ‘‘छोरीले राम्रै पढेकी छ ‘ एलिनाको बुवा ! हैन त्यो अचेल कम्पुटरमा अलि बढी चल्छे |’’ माथिल्लो तलामा एक्लै सुत्छे राति राती टेलिभिजनमा के के हेर्छे कुन्नि ?’’
‘उसको पढाइ नै त्यस्तो कम्पुटरको जमाना क्या !’
हाम्रो जस्तो खरीले पाटीमा लेख्ने जमाना हो र ?’
घले दम्पतीका सम्बादहरु.............|
‘’अलि बिचार गर्नुपर्छ त्यस्तो राती राती सम्म कम्पुटरमा के के गर्छ ? बाऊ चाहिंको निर्देशन |
खैर हामीले के जान्ने ? त्यस्तो केहि नहोला ! छोरी सानै छ भर्खरै बीस पनि लागिसकेकी छैन |
त्यै त हो बिग्रने बेला | गाउँमा भए रोदिमै टाप कस्ने बेला | तुलाई मैले भगाएको १७ बर्षमै होइन म्ले ?’’
काँको घान्द्रुकको गाउँ काँको काठमान्डौ सहर एउटै हुन्छ ऐलेको जमाना ? तिमिपनि ब्यर्थैको शंका गर्छौ बुढा |
जाडोले जमेको कुक्रुक्क काठमान्डौ बिगत केहि दिनदेखि सेतै हुस्सुमा हराएको छ | कस्तो जाडो यसपालिको | कसरि जान्छे त्यो छोरी क्याम्पस खोइ यस्तो जाडोमा ? आमाको स्वाभाविक स्नेह !
सिरकभित्र गुम्सिएका छन् घले दम्पती अवेर सम्मै | एलीना बिहानै उठी चिया  नास्ता खाइवरी क्याम्पस पुगि |
हाइ एलिना !
हेलो एलिना !!
सर्बत्र ऊ छाएकी छ साथीहरु माझ |
समयको चक्र चलिनै रह्यो यसरी नै सधैं |
बाटोमा हिडिरहेकी एलीना टक्क अडिएर हेरी अनौठो आवाज आएतिर –
 ‘’ हाई एलीना !
   म  आकाश !!’’
 अस्ति च्याटमा भेटेको | नाइस मिटिङ्ग यु स्वीटी ! म डनबोस्कोमा पढ्दै छु बिबिएस  थर्ड इयर | ‘’ ए हो बाइ मलाई अलि हतार छ | ऊ छिटो छिटो पाइला चाल्छे |
बेलुका अनलाइनमा फेरी आकाश भेटिन्छ | उही कुरा हाइ एलीना ! हेलो स्वीटी !! डार्लिंग !!! आइ लाइक यु , आइ लभ यु , डाइ फर यु | उ त्यति खुल्दिन सुरुमै तथापि अनलाईन भेटको क्रम चलिनै रहन्छ हप्तौं सम्म | महिनौं सम्म |

आकाश डेटिङ्ग चाहन्छ एलीनासँग नगरकोट जाने | उसले सहमति दिन्न तुरुन्तै | ऊ बिक्षिप्त हुन्छ पागलप्रेमी बनेर एकोहोरो प्रेममा |

साथीहरुले उचालिदिन्छ्न –

 ‘’ हेर आकाश ! करोढपति लाहुरे बाउकी एक्ली छोरी हो | पट्याइस भने त तेरो जीन्दगी बदलियो | त्यो बङ्गला त्यो कार त्यो सारा वैभवको मालिक तँ नै हुन्छस यार | न छोड त्यो एलिनालाई यार | क्या चीज छ ! किड्न्याप गर्नु परे पनि हामी छौं तलाई साथ दिने | साथी भाइहरुले उसलाई उचालिरहे उकासी रहे |
‘संसर्गजा दोषा गुणा भवन्ति !’
प्रेममा अन्धो भए र त होइन पागलपनको पराकास्टा जागेरै नै होला | एलिनाले आफूलाई बाल नदिएको झोकमा आकाशले एकबिहानै एलिनाको बाटो कुरेर पिपलबोटको सुनसान चौतारीमा निर्घात चक्कु प्रहार गर्छ | बिचरीको प्राणपखेरु रगतको आहालमा डुबेर सदाकालागी उड्छ |
‘’इन्टरनेटबाट प्रेमको नाटक रच्ने युवकले युबतीको हत्त्या !
फेसबुक फ्रेन्डको क्रेजी युवकले दिनदाहाडै युबतीको हत्या !!
लाहुरेकी छोरीलाई सम्पतिको लोभमा प्रेमको नाटक रचि हत्या !!!’’

कतिले त यो घटना मावोबादिले गराएको सम्म  भन्न पनि पछि परेनन् | शान्ति शुरक्षा, जीउ धनको संरक्षणको चर्को आवाज उठ्यो सहर भरि | जुलुस भयो हत्यारालाई कार्यबाहीको माग सहित | टायर बालिए सडक तताइए कलेजका बिध्यार्थीहरु ओइरिए |
पत्रिकाहरु र मिडियाहरुमा हाइलाइट निउज भए हप्तौं सम्म |

तथापि बिचरा ! घले दम्पतीको सर्वश्वो गुमेको थियो | बुढेशकालको एउटै सहारा त्यसरी टुटेपछि |
बिहे गरेर झ्याइ झ्याई बाजा बजाएर छोरीलाई बिदायी गर्ने बेलामा उल्टै उन्नाइस बर्षकै कलकलाउदो यौवनमै अर्घुं गर्नु पर्दा कुन चाहिं बाऊ आमाको मन नरोला र ?
जीवन दुर्घटनै दुर्घटनाकाबीच संजोगले बाँचिने खेल | फोकल्याण्डको टापुमा, इराकको बग्दातमा शत्रुको त्यत्रो गोलाबारीमा बाँचेका उनले आफ्नै आँगनमा आफ्नी त्यति राम्री फूलजस्ती छोरीलाई बचाउन नसकेको गुनासो सबैलाई सुनाइ रहे | सपनाका महलहरु तासको घरझैं यसरि गर्ल्याम्म ढलेर पनि जीवनमा बाच्नु पर्ने सहनु पर्ने जीवनका नमीठा सत्यहरु |

जीवनभर निको नहुने एउटा दुखद घाऊ तिनीहरुको मुटुमा लागेको थियो | ‘’के छोरीको यो अल्पायुमै मृत्यु त्यही कम्प्युटरको इन्टरनेट क्रेजनै थियो त ? के त्यो युबक प्रेमी हो या पागल ?? यदि त्यसले हाम्री छोरीलाई साँचो प्रेम गरेका भए किन रोपेन त्यो छुरी आफैलाई र भाग्यो त्यसरी ...........???’’
आजको बिशौ सदीको उपहार मानिने साइबर संस्कृतिले ल्याएको एउटा तीतो छाडापन घले दम्पतीका मनभरी बेदनाका भूमरी बनेर घुमि रहेको छ | घुमि रहेको छ | कहिल्यै नमेटिने घाऊ बनेर |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत