Labels

Total Pageviews

Sunday, December 16, 2012

आहा ! संस्कृति र सभ्यताको त्यो फूलवारीले कस्को मन नाचोर्ली ?


आहा ! संस्कृति र सभ्यताको त्यो फूलवारीले कस्को मन नाचोर्ली ?

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

जापानको टोकियो महानगरी संसारको महङ्गा शहरहरुमध्येको एक शहर, सुन्दर शहर, हरियाली रमणीय शहर, ब्यस्त शहर, सौम्य र शान्त शहर | मान्छेहरु कुदिरहेछन | ट्रेनहरु गुडिरहेछन् | बायुयानहरु उडीरहेछन | ब्यस्त छन् सबै सबै | व्यस्तता नै यहाँको बिशेषता हो | मान्छेहरुको बिशाल भीड छ तर कोलाहल छैन अनुशासित लाग्छन सबै | 
ब्यस्त जापानको अति ब्यस्त परिबेशलाई पन्छाउदै ‘’गोल्डेन विक’’ को छुट्टीमा हामी निस्कन्छौं टोकियो भ्रमणमा | त्यस दिन सन् १९९८ को मे ४ तारिख थियो | प्रभाती शितलतासँगै हाम्रो यात्रा प्रारम्भ भयो गुन्मा प्रिफेक्चरको वता सिटीबाट | भर्जिन मिलाग्रोसा युनिभर्सिटी फिलिपिन्समा मेडिसिन्स अध्यनरत दाइ बिष्णुहरि समरको छुट्टीमा जापान घुम्न आउनु भएकाले हामी उत्साही भएका थियौं | सोही आलो उत्साहाले उफ्रँदै र उमङ्गले उचालिदैं साथी राजदेव चौधरी सहितका हामी तीन प्राणीहरु टोकियो तर्फ लाग्दछौँ ट्रेनमा |  


दिन सफा र कन्चन थियो | सुनौलो सप्ताहको रमाइलो सुगन्ध वातावरणभरि छरिएझैं लाग्दथ्यो | ट्रेनहरुमा घुइचो थियो सबै आफ्नो सप्ताहालाई अतिनै सुनौलो बनाउने होडमा कुदिरहेका थिए | युगल जोडीहरुको बैंसालु गन्धले वातावरणमा थप मादकता थपेको थियो | हरेक चोक,हरेक मोड र हरेक गल्लीमा घुम्ने फिर्ने र मोज गर्ने बैंशालु जोडीहरु टोकियो महानगरिका सुरम्य स्थलहरुमा किनै पछि पर्थे र ? आकिसिँदो आजको फेसन, आजको क्याटवाक र ग्ल्यामरको अत्याधुनिक संसारमा माइक्रो मिनिस्कर्ट र अग्ला जुत्ताहरुलाई बलैले घिसार्दै कुदिरहेका थिए आ-आफ्ना पङ्गक ब्वाई फ्रेण्डसँगै |खैरो कपाल, कानमा मुन्द्री, डिङ्गो बुट र अमेरिकन ह्याट लगाएर ‘काउ ब्वाई’ बन्ने होडमा जापानी युवा पिढीहरु धेरै अघि छन् संसारमा | उनीहरलाई आफ्नो साधन सम्पन्नताले साथ दिएको छ प्रतिस्प्रधामा उत्रिन | 

जापानका हरियाली रमणीय ग्रामीण बस्तीहरु , सुन्दर फाँटहरुमा लहराईरहेका बालीनालीहरु तिनमा कार्यरत किसानहरु, खेतका गराहरुलाई बीचबीचमा चिरेर बनाईएका फराकिला बाटाहरु | योजनाबद्ध ग्रामीण बस्तीहरु सबै सबैलाई आफ्नो २ घण्टा लामो ट्रेन यात्रामा आँखाभरि संगाल्दै र सजाउँदै हामीहरु मध्यान्हमा टोकियो आइपुग्छौ | टोकियो टावरमा पुग्ने रुट साथी देबेन्द्र दाहालजीबाट टेलिफोन मार्फत थाहा पाएपछि हामीहरु फुर्तिसाथ अघि बढ्दछौं | जापानी भाषा बोल्न जानेपछि त्यति गाह्रो हुदैन कसैलाई पनि तत्र त सोद्दै र खोज्दै अँग्रेजी बोल्नेहरुलाई पर्दछ फसादै | प्रायः जापानिजहरु अँग्रेजी बोल्न डराउछन | ‘’ एगो वा चोत्तो वाकरानाइ ने ‘’ (अँग्रेजी बोल्न अलि जान्दिन ) भन्दै हात हल्लाउदै दौडिन्छन सबै | अनि पर्दैन फसाद नौला पर्यटकहरुलाई | ट्रेन कुदिरहेको छ | मान्छेहरुको भीड समुन्द्रझैं बगिरहेको छ सलल्ल | कोहि रोकिदैनन | फुर्सतै छैन कसैलाई | ट्रेन समात्ने चटारो | काममा पुग्ने र घरमा फर्कने हतारो | चारैतिर जापानिज अनाउन्समेन्ट सुनिन्छ | बहुत थोरै अँग्रेजी सूचनाहरु देखिन्छन | यहाँसम्मकी टोकियो महानगरीमा समेत | 

यस्ता धेरै भाषिक अप्ठ्याराहरुलाई दूध भात खाएझैं बिगत तीन बर्षदेखि पचाउदै आएका चौधरीजीलाई र मलाई बल्ल मजा आयो | जापानी भाषामा सोध्न खोज्न पाउँदा खेरि | त्यसो त जापानीहरु पर्यटकका प्रति बिनम्र देखिन्छन | कसैको सोधाईमा नम्रताले  हाइ / सो देसु ( हो हजुर ! ) भन्दै ढाडै कुप्र्याएर शिर झुकाउनु  जापानीहरुको संस्कृति नै हो | यस्तै बिनम्र संस्कृतिका धनी र आफ्नो काम र कर्तव्यमा अत्यन्तै इमान्दार, लगनशील कर्मशील जापानीहरुको अहोरात्र कार्य व्यस्तताले नै आज जापान दुनियाँको अघि एउटा सबैभन्दा बिकसित रास्ट्रका रुपमा आफूलाई उभ्याउन सफल भएको छ | यसको गुह्य रहस्यका प्रति जापानीहरु स्वयम्  जापानीहरु भन्ने गर्दछन् – ‘’वि आर नट अ मेन एन इकोनामिकल एनिमल , वि आर लाइक अ बिजी मसिन, रोबोट एण्ड कम्प्युटर |’’

कुनै पनि देश बन्न र बनाउनकालागि हरेक व्यक्ति व्यक्तिबीचको जाग्रत इक्षा शक्ति सबैभन्दा ठूलो साधन रहेछ | राज्य व्यवस्था, सरकार र सरकारी प्रबृत्ति त केवल साध्य मात्र रहेछन् | चालिसको दशकमा   अमेरिकी बम प्रहारले क्षत बिक्षत जापानको हिरोशिमा र नागाशाकी मात्र नभएर प्रथम र दोश्रो बिश्वोयुद्धको तीतो यथार्थ सबैलाई स्वीकारेको जापानले प्रतिसोध र बिनासको बाटोलाई चटक्कै बिर्सेर पुनर्निर्माण र शान्तिको पक्षमा आफूलाई पुनर्स्थापित गरेर बिश्वोलाई देखाई दियो | अल्प समयमै एउटा औधोगिक, एउटा बिकसित जापानको नयाँ आकर्षक स्वरूप सुम्पेर | 

जापानीहरुको रास्ट्र पुनर्निर्माणको  यो एउटा महान सन्देश, यो एउटा महाभियान आज हरेक विकासोन्मुख रास्ट्रका लागि अनन्त प्रेरणाको स्रोत भएको छ | देश बनाउने महायज्ञमा साँच्चै लाग्ने हो भने जापानीहरुझैँ इमान्दारपूर्वक खट्ने प्रण सबैले गर्नु पर्ने समय आएको छ | 

अपरान्हको १२ बज्नु भन्दा केहि अघि हामी ट्रेनबाट उत्रिएर टोकियो टावरतिर बढ्यौँ पैदलै | शहरमा लामो घुइचो देखिन्थ्यो टावरतर्फ बढ्दै गरेको | हामी तीन भाइ नेपालीहरु हातमा टोकियो टावरको सचित्र गाइड बुक लिएर हानियौँ त्यतै तर्फ | त्यहीं नजिकैको सानो स्टलवाला रेस्टुरेन्टमा एउटी जापानिज बुढी हजुरआमाको सौजन्यमा केहि जापानिज परिकारहरु उदरस्थ गरेपछि बल्ल भोको पेटले शान्ति महसुस गरेथ्यो | मेरी बास्स्स्सै !! जापानीहरुको लाइन थियो लगभग सवा किमी लामो टावरमा चढ्नकालागि | दोहोरो व्यवस्था थियो इलिभेटर र भर्याङ्गको | बलियाबाङ्गाहरु उक्लन्थे भर्याङ्गबाटै | धेरै इलिभेटरबाटै माथि पुग्दथे | इलिभेटरको लामो लाइनमा एकाध घण्टा कुर्नु भन्दा भर्याङ्गकै छोटो बाटो उपर्युक्त ठानेर हामी पनि उक्लियौँ टोकियो टावर माथि क्रमसः | टावरको इन्ट्रान्समै टावरको प्रतीक लोगो लकेट र एउटा जानकारीमूलक सानो लेटरप्याड उपहार स्वरुप स्वीकार्दै हामी टावरमाथि उक्लि रह्यौँ उक्लि रहयौं | स्याँस्याँ र फ्याँ फ्याँको दम फुलाई पनि एउटा रमाइलो अनुभव भएथ्यो टोकियो टावरको मनोरम सुन्दरतालाई आफ्ना आँखामा कैद गर्न पाउँदा | एउटा भूस्वर्ग झैं लाग्दथ्यो टोकियो टावरको ३३३ मिटर अग्लो उचाईमा आफूलाई पाउँदा | त्यसदिन हामी टोकियोको आकाशमा थियौँ | संसारको ठूलो अग्लो टावरमा थियौँ | टोकियोको शिरमा उभिएर बिशाल महानगरी देख्दा लाग्थ्यो संसारको बैभव र विकास कहाँ पुगिसक्यो भन्ने कुरा | यस्तै बेलामा चसक्क देश दोख्दो रहेछ तुलनामा | झट्ट सम्झना आयो स्मृतिमा  कतै पढेको एउटा पंक्ति – 
‘’मान्छेले कति गरिसक्यो पिइसक्यो ब्रह्माण्डनै तनतनी !
हाम्रा बाउन अझ मक्ख छन् छामी जनै टुपी कन्दनी !!’’
चारैतिर सुन्दर लागेथ्यो सबै सबै | अग्ला अग्ला भवनहरु लामबद्ध गाडीहरु , योजनाबद्ध शहरका बीचमानै प्रफुल्ल हुने हरियाली रमणीय दृश्य | बिशाल नील समुन्द्र , माउन्ट फुजिको उज्यालो चम्काईले आफ्नो सगरमाथा सम्झायो | बिश्वोको छानो, हाम्रो हिमशिखर नेपालीमात्रको एकल स्वाभिमान | 
पहिले हामी पुग्यौँ मेन अब्जरभेटरीको १५०मि. उचाइमा | चारैतिर दृष्टि लगायौँ | खुसीले गद्गद् हुँदै दुर्विन लगाएर देखिने शहरको सन्निकट विशालता लोभलाग्दो देखिन्थ्यो सबैलाई | टावरमाथि रहेका स-साना टी कफी स्टलहरु | स-साना सोभिनियर सपहरु | आइसक्रिम पसलहरु सेवामा तम्तयार थिए | हामीले पनि आइसक्रिम खायौँ टोकियो टावरको थाप्लोमा | त्यस माथिको २५० मिटरको स्पेसल अब्जरभेटरीमा देखिने मनोरम दृश्यले हरेकलाई आल्हादित बनाउथ्यो | टावरको उचाइमा आफ्ना कुचिहरु समाएर आकिर्तिमा रङ्ग भर्ने कलाकारहरु ब्यस्त देखिन्थे सबैको सम्झनाकालागि टोकियो टावरको | 

यो एउटा सामान्य दृस्याबलोकनीय टावर मात्र नभएर एउटा बिशाल कला संस्कृतिको जगेर्नास्थल समेत भएको तथ्य त्यँहाको भौतिक  सुबिधा सम्पन्नताले बताइरहेको थियो | पहिलो तलामा टोकियो टावर एक्कोरियम र त्यसमा जम्मा गरिएका ५० हजार, ८०० थरिका बिभिन्न माछाहरुको सङ्कलन थियो | दोश्रो तलामा सपिङ्ग आर्किड, रेस्टुरेन्ट र टी कफी रुम देखिन्थ्यो | तेश्रोतलामा संसारका प्रसिद्ध व्यक्तिहरुका चित्रकृतिहरु झुन्डिएका थिए | चौथो तलामा ट्रीक आर्ट ग्यालरी  र त्यसमा ब्यस्त कलाकारहरु अर्को तलामा सरकारी सूचना र डिस्प्ले सेन्टरहरु रहेका छन् टोकियो टावरमा | 

टावरको सबैभन्दामाथि लाइटनिंग रडका अतिरिक्त जापानमा ब्यस्त रहेका सबै रेडियो तथा टिभी स्टेसनका ट्रान्समिटिङ्ग एन्टेनाहरु र १४ वटा बोर्ड कास्ट सिग्नलहरु राखिएको छ | संसार प्रसिद्ध आइफल टावर भन्दा १३ मिटर अग्लो टोकियो टावर सन् १९५८ बाट निर्माण शुरु गरिएको थियो | यसको वजन ४००० टन छ र यो आइफल टावर भन्दा ३००० टन कम वजनदार छ |   सेतो र सुन्तला रङ्गमा चम्कने सुन्दर टोकियो टावरको हरेक पार्टहरुमा १६४ वटा फ्लुड लाइट जडान गरिएको छ | टावर जाडोमा सुन्तला रङ्गको र गर्मीमा सेतो रङ्गको प्रकाशमा चम्किने गर्दछ | आकाशबाट देखिने टोकियो टावरको मनोरम रात्रि दृश्य हेर्न लाएकको देखिन्छ | 
यसरि आँखाभरि मनभरि र तनभरि टोकियो टावरको माधुर्यलाई सिनित्त पिएर हामीले नचाहेरै पनि बिदायिका हातहरु हल्लाउनै पर्यो अन्ततः इलिभेटर जापानिज बैनीको समुस्कान ‘’आरिगातो गोजैमास्ता’’ लाई स्वीकार्दै बिदा भयौँ त्यस दिन | 
सायोनारा टोकियो टावर !
सायोनारा टोकियो महानगरी !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा बिमोचन मासिकको असार बि.सं. २०५८ को अङ्कमा छापिएको थियो )


Friday, December 14, 2012


नेपालकी मनकामना र फिलिपिन्सकी मनाओग देबी !
रामहरि पौड्याल
हरेक देश हरेक समाजका आ-आफ्नै धार्मिक सांस्कृतिक मूल्य र मान्यताहरु रहेका हुन्छन | आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो चाहाड बहाड र आफ्ना इस्ट देव देवीलाई मान्ने, पुज्ने चलन पनि आ-आफ्नै पाइए पनि तिनमा मुलभूत समानता पनि सन्निहित भएको हुँदो रहेछ | धार्मिक हिसाबले चाहे कोहि हिन्दू होस् या मुस्लिम, चाहे कोहि क्रिस्चियन होस् या बुद्धिस्ट | जे भएपनि धर्मको मूल सार एउटै छ | फरक प्रक्रियामा होला मन्दिर र मस्जितको , चर्च र गुम्बाको | पूजा र भक्तिका तौर तरिका हरुमा देखिने बिभितता गौण बिषय हुन इश्वोरिय आस्था र बिश्वाशका सामू | इश्वोर एउटै छ, सन्देश एउटै छ | फरक भूगोलको , फरक भाषा र संस्कृतिको फरक मात्र बोलाउने नाम र बिचारको |

त्यस दिन १९ डिसेम्बर १९९९ को दिन थियो | शताब्दि परिवर्तनको संघारमा क्रिश्चियनहरुको महान पर्व क्रिसमस संघारमा मुस्कुराई रहेको थियो | शुभकामनाका थाली भरि स्वागतका सगुनहरु बोकेर | अर्कातिर तीतामीठा, राम्रा नराम्रा सबै खाले अनुभव र अनुभूतिलाई स्मृतिको गर्भगृहमा छाडेर बिदाईको सँघारमा अलबिदाका हातहरु हल्लाउदै थियो सन् १९९९ ले | प्रकृतिको मनोरम मादकता वातावरण भरि छरिएझैं प्रतीत हुन्थ्यो पूर्वी एसियाको सुन्दर राष्ट्र फिलिपिन्स भरिनै |  हामीहरु सानकार्लोस सिटीको एकान्त कुनामा रहेको सान प्यात्रो स्ट्रीटको एउटा पारिवारिक घरमा थियौँ | बिगत केहि दिनदेखि नै सहरमा क्रिश्मसको धुमधाम देखिन्छ | झिलिमिली बत्तिहरुले सजाईएका सुन्दर क्रिश्मस ट्रीहरु | बन्द छन् बिध्यालय र बिश्वोबिध्यालयहरु | क्रिश्मस देखि नयाँ बर्षसम्मकालागि | हामीहरुकोमा दशैं तिहार सम्म बिदा भएझैं |
अघिल्लो बेलुकै हामी दुई भाइ आमन्त्रित थियौँ तीर्थाटनकालागि | फिलिपिन्सको राजधानी मनिलाबाट २०५ किमी उत्तर पश्चिममा अवस्थित प्रसिद्ध मनाओग देबी (Lady of Manaoag) को दर्शनार्थ | बिहानीको चीसो प्रभाती हार्दिकतासँगै हामीहरु एकत्रित भयौँ | घरबेटी लारीको आफ्नै जीप्निमा खचाखच थिए फिलिपिनो आफन्तहरु | ७२ बर्षे हजुरामादेखी २.५ बर्षे पनातिनी लिसेद सम्मका ठूलै डप्फा हाजिर थियो | खानपिनकालागि रासनपानीको जोहो अघिल्लै दिनदेखि चल्दै थियो धुमधाम सँग |  फिलिपिनोहरुको त्यो पारिवारिक भिडमा हामी दुई भाइ बिदेशीहरु हजारौं माइलको भौगोलिक दूरतामा पनि रमाइरहेकै थियौं | उनीहरको उत्कट खुसी र उमङ्गले हामीलाई उर्जा थपेको थियो | मेरो नजिकै रोजी थिइ र बिष्णु दाइसँग रिया | हामीहरुलाई गाइड गर्दै थिए बाटाभरि ती दुई दीदी बैनीहरु | तिनीहरु कम्प्युटर साइन्सका बिध्यार्थी थिए | देबी मनाओग प्रतिको फिलिपिनो बिश्वासलाई प्रस्ट्याउदै रियाले बताई –
 ‘’ दियर ह्याभबिन  मेनी साइटसींगस् बट टू द फिलिपिनो फेथफूल – नोथिंग केन पोसिब्ली कम्पेयर टू आओर लेडी अफ मनाओग |’’ (धेरै नै दर्शनीय राम्रा घुम्ने ठाउँहरु भए पनि फिलिपिनो बिश्वास अनुसार  सायद देबी मनाओगसँग तुलना योग्य केहि पनि छैन ) |

हामिकाहाँ मनकामना देबीको मन्दिरमा गएर पूजा गर्ने सबैको मनोकामना पूरा हुने बिश्वास लिएझैं फिलिपिन्समा पनि मनाओग देबीको पवित्र चर्चमा पुग्ने सबैको मनोरथ पूरा हुने बिश्वास लिईदों रहेछ | सत्रौं शताव्दीबाट सुरु भएको मनाओग देबीको कथा प्रसङ्गका सम्बन्दमा फिलिपिनो समाजमा अनेक थरिका आश्चर्य जादुगरी बिश्वासहरु  बताइने गरिन्छ | मनाओग देबीको दर्शन र त्यहाँको पवित्र पानीलाई घरघरमा लगिँदो रहेछ ‘मेडिकेटेड वाटर’ भन्दै ग्यालन भरि उठाएर | हामीले पनि पियौं त्यो पबित्र पानी भावपूर्ण श्रद्धाले अन्जुली भरि भरि | हजारौं मान्छेले खचाखच भरिएको मनाओग क्षत्र हरियाली रमणीय वृक्ष र लतिकाहरुले सजिएको सुन्दर तपोवन नै प्रतीत हुन्थ्यो | बिशाल चर्चको बीचबाट फादर (गुरु)ले आधा तगालोग र आधा अँग्रेजीमा बाइबलको सन्देश सुनाइरहेको सुनिन्थ्यो माइकमा – ‘’ ओहो ! गड !! आइ एम अलोएज  विथ यु फर एभर एण्ड एभर !’’ ( प्रभु ! म सधैं हजुरकै भक्तिमा हुने छु सधैं सधैं !)

हामीकाहाँ मन्दिरमा धुप दीप प्रज्ज्वोलित गरिएझैं यहाँ पनि चर्चहरुमा मैन बत्ति बाल्दा रहेछन | हामीले पनि क्यान्डील किन्यौँ र जलायौं रोजी र रियाले गरेझैं आफ्नो मनोकामना पुराहोस भनेर | तलपट्टि डोनेसन बक्स रहेछ र त्यहाँ सबैले आफना मनोकामनाहरु लेडी अफ मनाओगको नाममा लेखेर यथासक्य दक्षिणा सहित खसाल्नु पर्ने रहेछ | सबैले त्यसै गरे अरुहरुले गरेजस्तै | हामी दुई भाइ वरै बसेर त्यो मानवीय बिश्वास र सद्भावलाई हेरिरह्यौँ एकाग्र भएर |
रोजीले कराउदै भनी – ‘’ रामू यु डन्ट लाइक टू विस एनिथिंग ? मैले प्रतिउत्तरमा रमाइलो जवाफ दिएँ –‘’ मेरा लागि एउटी राम्री गर्लफ्रेन्ड विस गर्दे !” स्विकारोक्तीमा मुस्कुराई रोजी ओ रियल्ली ! के म राम्री छैन र ?
फिलिपिनो परिवारको संयुक्त परिवारमा देखिएको त्यो लोभलाग्दो पारिवारिक  एकता आपसी प्रेम र सामिप्यता हाम्रा लागि समेत एउटा नमूना पाठ लागि रह्यो | एउटै यात्रामा कति उत्साहले जुटेका छन् एउटै परिवारका दाजुभाइ, दिदीबैनी, बुहारी भान्जा, भान्जी, ज्वाई, फुपू पुसाजु सबै समेटिएका छन् | हांसीरहेका छन् रमाइलो गरिरहेका छन् पिइ रहेका छन् | कुनै प्रकारको बिभेद र आडम्बर देखिदैन त्यहाँ |
यसरि दिनभरी रमाइलो आध्यात्मिक मनाओग देबीको दर्शनले पुलकित हुदै तेइ रमाइलो क्षत्रमा मीठो खानपिन सकेर हामी फर्कियौँ त्यस दिन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा दशकौं अघि बिमोचन मासिकमा प्रकासित भएको थियो )