Labels

Total Pageviews

Saturday, June 30, 2018

प्रजातन्त्रको लागि नेतृत्व

 रामहरि पौड्याल


        प्रजातन्त्रको शाब्दिक अर्थ जनताद्धारा चलाईने शासन व्यवस्था भन्ने बुझिन्छ । राजनैतिक अर्थमा प्रजातन्त्र त्यस्तो शासन व्यवस्था हो जसमा जनमत प्रतिविम्बित भएको हुन्छ । जहाँ जनताको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । जनताहरु आफ्ना हकहित र अधिकारका सम्बन्धमा अत्यन्त सजग हुन्छन् । वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, मानव अधिकार (ज्गmबल च्ष्नजतक) जस्ता कुराहरु प्रजातन्त्रका गहना मानिन्छन । यसको अर्थ छाडापन र मुखमा जे पायो त्यहि बोल्नु अभिव्यक्ति स्वतन्त्रता होईन । हरेक कुराका आ–आफ्नै सीमा र गरिमा हुन्छन । त्यसैको परिधि भित्र रहेर जस कसैको पनि स्वच्छ सैद्धान्तिक आलोचना समालोचना, चित्त नबुझेका बिषयहरुमा यस्तो हुनुपर्छ भन्ने किसिमको सुझाव राख्न, अनुशासन र मर्यादालाई शिरोधार्ध गरेर बोल्नु लेख्नु नै प्रजातान्त्रिक चरित्र हो न की छाडापन र अश्लिल गाली  गलौज ।

          प्रजातन्त्रका सम्बन्धमा विभिन्न व्यक्तिहरुले आ–आफ्नो धारणा अभिव्यक्तिहरु पोखेका पाउँदछौं । प्रजातन्त्रलाई अमेरिकामा सोह्रै राष्ट्रपति दाउरेका छोरा गरिब गुरुवाका प्रतिक अब्राहम लिङ्कन आफु यसरी प्रष्टयाउछन् ।

  “प्रजातन्त्र भनेको जनताका लागि जनताद्धारा निर्वाचित जनताको सरकार हो ।”

   “म प्रजातन्त्रमा विश्वास राख्दछु किनभने यसले प्रत्येक मानव मात्रको उर्जालाई उत्सर्जन     गर्दछ ।”   –उड्रो विल्सन

“प्रजातन्त्रमा संगठन र नियन्त्रण हुनुपर्दछ तर यसलाई जीवित राख्ने श्वासनली भने व्यक्तिगत स्वतन्त्रता हो ।” – चाल्स इभान्स

“प्रजातन्त्रका यावत खराबी थप प्रजातन्त्र दिएर निमिट्यान्न पार्न सकिन्छ ।”– अल्फ्रेड इ. स्मिथ

        “प्रजातन्त्र भनेको म तिमी जति कै असल छु भन्ने होइन तिमी पनि म जति कै असल छौ भन्ने धारणाको विकास हो ।”                   – थियोडोर पार्कर

प्रजातन्त्रको मलजलमा राष्ट्रियता हुर्कन्छ । प्रजातन्त्र र राष्ट्रियता अन्योन्याश्रित आर्थिक विकास जो आधुनिकिकरण मुख्य प्रमाण र कारण दुवै हो पनि राष्ट्रियता र प्रजातन्त्रमा गाभिन पुगेको छ ।

                                                                                – वी.पी. कोईराला

        यसरी विभिन्न व्यक्तिहरुले प्रजातन्त्रको परिभाषा आ–आफ्नै किसिमले गरेका छन । आज प्रत्येक मानव कंठको एउटा प्रिय शब्द बनेको छ प्रजातन्त्र । के बालक, के युवा, के पौढ, बृद्ध सबै यसका लागि मरिमेटेका छन । प्रजातन्त्रमा के त्यस्तो जादु छ जसले यी तमाम मानिसहरुलाई यसरी आर्कषण गरि रहेको छ ? यहि प्रजातन्त्रका लागि कैयौं प्रजातन्त्रपे्रमीहरु तानाशाहीका बलिबेदीमा होमिएका दारुण कथाहरु स्वतन्त्रताको माग गर्ने स्वतन्त्रता प्रेमीहरु जेलका चार दिवारी भित्र बन्दि बनाइएका सत्यताहरु हाम्रा सामू देखिन थाल्दछन् ।

        प्रजातन्त्रको विकास क्रम र यसको नेतृत्वको पुख्यौली इतिहास पट्टि दृष्टि दिने हो भने हामी इतिहास लेखिन थाले भन्दा पनि अधिको समयमा पुग्नु पर्ने हुन्छ । प्रजातान्त्रिक समाजवादी विचारधाराको शुरुवात धेरै बर्ष अघि शुरु भएको पाईन्छ । परन्तु प्राग एतिहासिक समयमा नै प्रजातान्त्रिक विचारधाराको सफल विजारोपण भएको प्रमाण हामी विभिन्न धार्मिक दृष्टान्तहरुबाट पाउँदछौं । शिव, कृष्ण, राम, इशामशीह मुहम्मद, बुद्ध आदि समाजवादी चरित्र मानिन्छन । शिवभन्दा ठुलो समतावादीको हुनसक्छ जसको न कुनै घर थियो न त आफ्नो भन्ने केही थियो । उनी बाघको छाला ओडेर खरानी घसेर हिड्थे । कृष्ण अन्याय र अत्याचारको समुल नष्ट गर्दथे । क्राईष्ट भन्थे –“बरु सियाको नाथ्रीबाट उँट छिलो तर स्वर्गको ढोकाबाट शोषक छिने पाउने छैन ।” यस किसिमको प्रजातान्त्रिक नेतृत्व आज पनि प्रजातन्त्रका लागि त्यो नेतृत्व सदा अनुकरणीय बनी रहनेछ ।

        सृष्टिको सबैभन्दा चतुर प्राणी मानव जाति प्रारम्भ देखि नै आफ्ना आवश्यकताहरु आफ्ना हक अधिकारहरु पट्टि सदा सजग हुदै आएको पाउँदछौं । पाषणकालिन क्षितिजलाई पार गरेर जब मानिस क्रमशः खेतीपाती र घरजमको युगतिर बढ्न थाल्यो त्यसरी नै उ क्रमशः उद्योगको विकास र निर्माणको युगमा आईपुग्छ । उद्योयपतिहरुले जब आफ्नो कामदारहरुलाई बढी शोषण गर्न थाले तब मजदुरहरु आफ्ना अधिकारका बारेमा सर्तक हुन थाले । उनीहरु विस्तारै उद्योगपतिहरुको शोषणबाट बच्न संगठित हुन थाले । फलतः विकसित राष्ट्रहरुमा औद्योगिक क्रान्तिहरु विश्वमा शुरु भएको पाईन्छ । यिनै क्रान्तिहरुमा कार्लमाक्सको दृष्टि परेर उनले विश्वमा एउटा दर्शन छाडेर गए । एउटा साम्यवादी दर्शन कम्युनिष्ट घोषणा पत्र सन् १८४८ मा जसले दुनियामा तहल्का मच्याईदियो ।

        “सर्वहारा वर्गले आफु बाँधिएको सिक्री बाहेक गुमाउनु केही छैन तर जीत्नका लागि उसको सामु सारा संसार छ ।”

        कुनै पनि क्रान्तिमा नेतृत्व असल हुनुपर्छ । अन्यथा क्रान्तिको बाटोले नराम्रो मोड लिन सक्छ । सहि नेतृत्वको कमिमा कुनै पनि सिद्धान्त र व्यवस्थाले धाराशाही हुनुपर्छ, कलंकित बन्नुपर्छ । जब नेताहरले बाटो बिराउछन तब क्रान्तिले नराम्रो मोड लिन्छ । जन हितको हत्या हुन्छ ।विश्वका यस्ता उदाहरणहरु हामी फ्रान्सको राज्यक्रान्ति, बेलायतको क्रान्तिलाई लिन सक्छौं । फ्रान्सको क्रान्तिले सुव्यवस्था ल्याउन चाहेर पनि नेतृत्वको कमिले नेपोलियन तानाशाहा बने । बेलायतको औद्योगिक क्रान्तिले शोषण रोक्न सकेन झन बढ्यो । मालिक मजदुर बिच द्धन्द्धको पर्खाल सिर्जना भयो । यसैलाई दृष्टिगत गरी रोवर्ट ओवेन भन्ने व्यक्ति कसिए र उनले टे«ड युनियन र उपभोक्ता सरकारी दोकान स्थापना गरे । आफ्नो सहि नेतृत्वले उनि आज पनि मजदुर संगठन र सहकारी आन्दोलनका जन्मदाता मानिन्छन ।

        केही दशक अघिबाट रुषी र अमेरिकी धुरीबाट आ–आफ्नै किसिमका प्रजातान्त्रिक विचारधाराको प्रचार प्रसार हुन थाल्यो । यसरी विश्वका दुई शक्ति सम्पन्न राष्ट्रहरु अमेरिकी र रुषी चंगुलमा परे । यी दुई धु्रवहरु क्रमशः साम्यवादी र पुजीवादी खेमामा विभाजित भए । रुष र अमेरिका आफ्ना सिद्धान्तको प्रचार प्रसारको लागि ठुलो धनराशी खर्च गर्न थाले । यी दुई ठुला राष्ट्रहरुको मत मतान्तरले कति साना र कमजोर राष्ट्रहरु दविन पुगे, पराधिनता स्वीकार्न पुगे । “साढेको जुधाई बाच्छाको मिचाई” भन्ने उखान चरितार्थ भयो ।

        रुषी धुरिबाट आर्थिक समानताको चर्को नारा आयो, माक्र्सको सिद्धान्त पुष्टि गर्दै रुषी खेमाका राष्ट्रहरुले युद्ध छेडे । प्रजातन्त्र र वैयक्तिक स्वतन्त्रतालाई उनिहरुले बिर्से । प्रजातन्त्रलाई आर्थिक समानताको बाधक तत्व ठह¥याए । अर्को तिर अमेरिकी धुरीबाट प्रजातन्त्रको मनमोहकतामा आर्थिक समानतालाई पन्छायर राजनैतिक स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रतालाई बढवा दिए । यसरी यी दुई राष्ट्रहरुले केही दशक आ–आफ्नै पारामा विश्व राजनितिलाई घुमाए ।

        सन् १९८० को दशकमा आएर विश्व राजनितिले यसको नेतृत्वले कोल्टे फे¥यो । आ–आफ्नो प्रजातन्त्रको पुरानो लिकलाई फेर्न यी दुई धु्रवहरु केहि हदसम्म भएपनि बाध्य हुनुप¥यो । आज प्रजातन्त्र र आर्थिक समानताको बिचमा छाएर रहेको मतान्तर ज्यादै क्षीण भएको छ । प्रजातन्त्र बिना आर्थिक समानतालाई दिगो बनाउन खोज्नु दुवै आत्मसन्तुष्टिको काल्पनिक विलास सावित भएका छन । आज आएर अमेरिकाले आर्थिक समानताको लागि बाध्य भएर कदम चाल्नु परेको छ । भने साम्यवादी रुषमा मिखाईल गोमोचोमले ग्लास्नोस्त र पेरेस्त्रोइका पुन निर्माण र खुकुलोपन भनेर बोल्न विवस हुनु     परेको छ ।

        पुर्वी युरोपमा प्रजातन्त्रको लहर फैलिएको छ । बर्षौदेखि मानिसलाई बन्दी बनाउने बर्लिनको पर्खाल आज गल्र्याम्म ढलेको छ । साम्यवादी चंगुल र रुषी प्रभावका देशहरु हंगेरी, रुमानिया, मंगोलिया, चेकोल्साभकिया, पुर्वी जर्मनी जस्ता कैयौं देशहरुले धेरै बर्षपछि ठुलो बलिदान पछि प्रजातन्त्रको शितल बिहानी पाएका छन । एउटा सहि नेतृत्व पट्टि उन्मुख भएका छन । अधिनायकवादी चंगुलबाट मुक्ति पाएका छन । चीनमा अस्ति भर्खर प्रजातन्त्र र स्ततन्त्रताको माग गर्ने लाखौं जनसमुदायमाथि तियानमेन स्क्वायर चोकमा भएको वर्वरताले साम्यवादी आर्दशतालाई त्यसको नेतृत्वलाई छर्लङ्ग्याएको छ । जनताहरु प्रति तिरस्कारको बिशाल खाडल सिर्जना गराएको छ । कतै यहि खाडलबाटै विश्वबाट साम्यवादको समूह नष्ट हुने त होईन ? स्वतन्त्रता र प्रजातन्त्रको माग गर्ने विद्यार्थीमाथि गोली र बुटले नपुगेर ट्याङ्कले पेलिएको दारुण कथाको श्रवण मात्रले पनि विश्वका कुन चाहि प्रजातन्त्र प्रेमीहरुको आँखा नरसाउँला ?

        विश्व आज साम्यवाद र पुजीबादको थोत्रो आडम्बरलाई त्यागेर तेश्रोवाद पट्टि त्यसको नेतृत्व पट्टि आर्कषित भएका छन । त्यो हो प्रजातान्त्रिक समाजवाद । प्रजातन्त्रका लागि नेतृत्व एउटा अपरिहार्य विषयबस्तु हो । यसका लागि नेतृत्व खराब भयो भने त्यसले तानाशाहालाई जन्माउछ । देशलाई खत्तम मात्र होईन राष्ट्रियतालाई पार्न सक्छ । प्रजातन्त्रको नाममा बम्हलुट गरेर दुनियालाई खत्तम गर्न सक्ने कटु सत्य विश्व इतिहासले देखाएको छ । इरानका शाह, पाकिस्तानका जियाउल हक, रुमानियाका कम्युनिष्ट तानाशाह चाउचेस्को देखि लिएर फिलिपिन्सका मार्कोस सम्मका अप्रीय दृष्टान्तहरु हामीले सुनेका छौं ।            

        दुनियामा प्रजातन्त्रका लागि सृष्टिको उषाकालदेखि आज बिसौ शताब्दीको उत्तरार्धसम्म धेरै क्रान्तिहरु भईसकेका छन । धेरै मानिसहरुले नेतृत्व लिई सकेका छन तर नेतृत्वको नाममा जसले आफुलाई तानाशाहमा परिणत गरे, नरसंहारमा जोड दिए । तिनीहरु ढिलो चाडो इतिहासबाट कलंकित भएर गिरेका पाईन्छन । संसारमा त्यस्ता नेतृत्व पनि देखिए जसले आफुलाई देश र जनताको सेवामा, प्रजातन्त्र र स्वतन्त्रता लागि सर्मपित गरे ती अध्यावधी इतिहासमा आदरणीय पात्र बन्न सफल भएका  छन । प्रजातन्त्रमा एउटा नेतृत्व श्वासत सत्य हो । यहि सत्यतामा नै आज विश्व मुस्कुराई रहेको छ तसर्थ प्रजातन्त्रको नेतृत्व सहि व्यक्ति र पार्टीले गर्नुपर्छ । खराब र द्धैद चरित्र भएका व्यक्तिहरुको हातमा प्रजातन्त्रको नेतृत्व जाने हो भने क्षण भरमा सुन्दर संसार एउटा डरलाग्दो नरकमा मिल्कन सक्छ भताभुङ्ग र लथालिङ्ग हुन सक्छ ।

        हाम्रो देश नेपालमा प्रजातान्त्रिक आन्दोलन र त्यसको नेतृत्वको प्रारम्भ वि.संं १९०३ मा जङ्गबहादुर राणाले राज्यको सम्पूर्ण अधिकार राजाबाट हत्याएर आफुमा निहित गरेदेखि शुरु हुन्छ । जसलाई नेपालको इतिहासको “कालरात्री” भनेर बुझिन्छ । नेपालको प्रजातान्त्रिक नेतृत्व र आन्दोलनले चोरी घातप्रति घात सहनु परेको छ । १०४ बर्षसम्म जडिएर रहेको राणाशाहीलाई जरैबाट उखेलेर फाल्ने र जनतालाई मुक्ति दिलाउने प्रजातान्त्रिक आन्दोलन २००७ सालको सफल नेतृत्व नेपाली काँग्रेसले गरेको थियो । जसको सफल कमाण्डर वी.पी.कोईराला हुनुहुन्थ्यो । सहि नेतृत्वले गर्दा जनताहरुले प्रजातन्त्रको शितल छहारी पाए । यहि नेतृत्व २००७ साल र २०१७ सालको एक दशकमा प्रति क्रान्तिकारिहरुको षडयन्त्रबाट बच्दै २०१५ सालमा सम्पन्न आमचुनावमा आफुलाई एउटा शसक्त प्रजातान्त्रिक सफल नेतृत्वको रुपमा खडा गराउन सफल भयो । स्वर्गिय बी.पी. कोईराला नेपालको प्रथम प्रधानमन्त्री चुनिनु भयो । विधिको विडम्बना प्रजातन्त्रको धिपधिपे दीप शिखालाई १२ महिना पनि बित्दा नबित्दै तानाशाही दृष्टिले राखेन । फलतः प्रजातन्त्रको नव शिशु माथि बल जफत घाटी निमोठ्ने काम तानाशाह राजा महेन्द्रले गरे । यसरी सैन्य बलका भरमा अकारण प्रजातन्त्रको हत्या गरियो । जुन अधिकारहरु खोसिए । पार्टी माथि प्रतिबनध लागाईयो । नेताहरुलाई जेलबन्द गरियो ।

        जसरी पूर्वी युरोपका जनताहरुले मान्छेलाई कैद बनाउने बर्लिन पर्खाललाई धवस्त पारे ठिक त्यसैको केहि महिना बित्दा नबित्दै नेपाली जनताहरुले त्यसैबाट प्रभावित भएर नेपाली काँग्रेसको (गणेशमान सिंहको घरमा) सम्पन्न भेलाले जनआन्दोलनको तिथी तोक्यो । विश्वका दुई विपरित धु्रव मानिने साम्यवादी र प्रजातान्त्रिक शक्तिहरु कार्यगत एकतामा उभिए । यो नै नेपालको जनआन्दोलन मात्र नभएर विश्वमा अनुकरणिय दृष्टान्त सावित भयो । गणेशमान सिंहलाई कमाण्डर बनाएर शुरु गरिएको जनआन्दोलनको ५० दिन पनि बित्दा नबित्दै पंचायती निरङकुशता जीर्ण पर्खाललाई नेपाली जनताहरुले ढलाई छाडे । “२०४६ साल चैत्र २७ गते” यसरी कैयौं शहिदहरुको उत्र्सगपछि हजारौ योद्धाहरुको विरतापछि नेपाली धर्ति र आकाशमा प्रजातन्त्र आएको छ । यसका पछाडी बलियो नेतृत्व थियो । जसले रैसिबाट दुनियालाई नागरिक बनाएको छ । सम्मानपूर्ण जीवन यापन गर्ने सु–अवसर प्रदान गरेको छ । आजको विश्वमा यो अनुपम नेतृत्व सदा अनुकरणीय बन्नेछ । विश्व राजनितिमा प्रजातन्त्र र स्वतन्त्रता कोस एकता कार्यक्रम सफल नभएको वर्तमान विश्व परिवेशलाई नेपालले समयमै बुझ्नुपर्छ । नत्र देश अधिनायकवादी शासनको लौह शिक्रिमा बाधिन सक्छ । यसका लागि प्रत्येकले सहि नेतृत्वको चयन गर्नुपर्ने  गम्भिर दायित्व आजको वर्तमान नेपालमा देखिएको छ । प्रजातन्त्र भनेको कसैलाई कुर्सी दिलाउन होईन । जनतालाई वास्तविक अधिकार दिलाउन जनतालाई विकास कार्यमा स्वफुर्तः गराउन, कसैको दबाब बिना समर्पित हुन, आफ्नो ब्रम्हले सहि देखेको प्रजातान्त्रिक नेतृत्च्वलाई अंगाल्न प्रजातन्त्रले अभिप्रेरित गर्दछ । यसो भन्दैमा कसैले गर्न नसक्ने कुराहरु गरेर झुठा प्रलापहरु फैलाएर जनताहरुलाई दिग्भ्रमित पारेर नेतृत्व लिने होड चाल्न पाईदैन । आकासमा रोटी फलाउने जस्ता गैर जिम्मेवारीपूर्ण कुरा गर्नेहरुलाई जनताले झुक्याईदिने छन । प्रजातन्त्रको लागि नेतृत्व लिन आज विभिन्न पार्टीहरु विभिन्न छदम नाममा जनतालाई झुक्याउदै छन । यसबाट बचेर सहि प्रजातान्त्रिक नेतृत्वमा नेपालीहरु जुट्नु परेको छ । प्रजातन्त्रको नव कोपिलालाई फुलाउनु फलाउनु छ ।

        यसरी संसारका हरेक क्षेत्रमा विभिन्न व्यक्ति र पार्टीले प्रजातन्त्रको नेतृत्व लिएका छन । प्रजातन्त्रको नेतृत्व सहि व्यक्ति र पार्टीलेगरेको खण्डमा प्रजातन्त्र दिगो बन्छ । यसैमा राष्ट्रको सुन्दर भविष्य र जनताहरुको मुस्कान बर्सिएको हुन्छ । प्रजातन्त्रको नेतृत्वको कुरा गर्दा भारतमा अंग्रेजहरुको कब्जाबाट मुक्ति दिलाई जनताहरुलाई प्रजातन्त्रको विहानी दिलाउने, लोटा र एउटा लट्ठीको भरमा अंग्रेजलाई धपाउने शान्तिका पुजारी, अंहिसाका प्रतिमुर्ति महात्मा गान्धी (बाप्पु) को नेतृत्व सदा अनुकरणीय छ । यसरी विश्वमा महात्मा गान्धी, केनेडी देखि लिएर नेपालका वि.पी. कोईराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, पुष्पलाल प्रधान, मनमोहन अधिकारी, गिरिजा प्रसाद कोईराला सम्मका प्रजातान्त्रिक नेतृत्व प्राग ऐतिहासिक समयदेखि लिएर वर्तमान समयसम्म त्यत्तिकै महत्वपूर्ण छ । यसको सहि छनौटमा मानव समुदायको सुःख, सम्बृद्धि लुकेको छ । यसैमा सबैको भलाई छ । सबैले प्रजातन्त्रको सुखभोग गर्न पाउन कोही प्रजातान्त्रिक हक हितबाट बञ्चित हुन नपरोस् । प्रजातन्त्रको लागि नेतृत्व सहि व्यक्ति र पार्टीले गरोस् । खराब र द्धैध चरित्रका नेतृत्वहरु जहिले पनि विमुख हुन । यो नै आजको आवश्यकता हो ।



प्रस्तुत निबन्ध पोखरा जेसिसद्धारा आयोजित

“जेसिस सप्ताह १९९०”को उपलक्ष्यमा भएको अन्तर क्याम्पस निबन्ध प्रतियोगितामा पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस पोखराको तर्फबाट सहभागी भई द्धितिय स्थान प्राप्त”