Labels

Total Pageviews

Sunday, August 28, 2011

नेपालका ३५औ प्रधानमन्त्री डा. बाबुराम भट्टराई

नेपालका ३५औ प्रधानमन्त्री डा. बाबुराम भट्टराई
इतिहास कसरि कहाँ पुग्छ कसलाई के थाह ? वाल्यकालमा भविष्यका त्यस्ता संभावनाको कसलाई के अड्कल ? हेर्नुस त, गोरखाको त्यो बिकट ठाउँमा जन्मेको यो फुच्चे केटो अहिले प्रधानमन्त्री बन्यो भन्दा अचम्म लाग्दैन त ? हो यो फुच्चे केटो अहिलेको बाबुराम भट्टराई । देशको सबैभन्दा शक्तिशाली पदमा । जीवनमा कहिल्यै दोस्रो नबनी सधैं सबैलाई उछिनेर प्रथमका प्रथम बनेको त्यहि पहाडको केटो । नेपालका३५औ प्रधानमन्त्रीको गरिमामय इतिहाँस लेखाउन सफल डा. बाबुराम भट्टराईको जन्म विसं २०११ असार ४ गते (सन् १९५४ जुन १८) मा गोरखा जिल्लाको खोप्लाङ गाविसमा पिता भोजप्रसाद भट्टराई र माता धर्मकुमारी भट्टराई कोखबाट भएको हो। किसान परिवारमा जन्मनु भएका डा भट्टराई यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सङ्घीय गणतन्त्र नेपालको पहिलो सरकारको अर्थमन्त्री हुनुभएको थियो।
औपचारिक अध्ययनमा सधैं प्रथम स्थान हासिल गर्न सफल डा भट्टराईले बाल्यकालमा अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गर्नुभएको थियो भने औपचारिक शिक्षा २०२० सालमा गोरखा जिल्लाकै लुइँटेल गाउँको अमरज्योति जनता हाइस्कुलमा तीन कक्षाबाट सुरु गर्नुभएको थियो। उहाँ २०२६ सालको एसएलसी परीक्षामा देशभर सर्वोत्कृष्ट (बोर्ड फस्ट) हुनुभएको थियो।
उच्चशिक्षाका क्रममा अमृत साइन्स कलेज, काठमाडौँमा विज्ञान विषयको अध्ययन थाल्नुभएका उहाँले २०३४ सालमा कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्ट विषयमा स्नातक गर्नुभयो। २०३६ सालमा नयाँ दिल्लीबाट स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरबाट भट्टराईले सहरी र क्षेत्रीययोजना विषयमा स्नातकोत्तर गर्नुभयो।

उहाँले नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयमा शोधपत्र लेखी विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभयो।
दिल्ली बसाइको क्रममा उहाँको विवाह नेपालका राजनीतिक व्यक्तित्व धर्मरत्न यमीकी छोरी आर्किटेक्ट हिसिला यमीसँग भयो।
सानैदेखि राजनीतिक गतिविधिमा चाख राख्नुहुने डा भट्टराई भारत बसाइका क्रममा २०३४ सालमा अखिल भारत नेपाली विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष बन्नुभयो। भारतमै उहाँले बिपी कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाहलगायतका राजनीतिक नेताहरुसँग सम्पर्क गर्नुभएको थियो।
२०३७ सालमा नयाँ दिल्ली भ्रमणमा आएका तत्कालीन राजा वीरेन्द्र शाहलाई कालोझण्डा देखाएको आरोपमा भारतीय प्रहरीले पहिलो पटक उहाँलाई पक्राउ गरेको थियो।
सुरुमा उहाँको झुकाउ नेपाली काँग्रेसतिर भए पनि पछि २०३८ सालमा उहाँ मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको थियो। अखिल भारत नेपाली एकता समाजमार्फत उहाँले भारतमा रहेका प्रवासी नेपाली कामदारलाई सङ्गठित गर्ने कार्यमा सक्रियतापूर्वक लाग्नुभएको थियो।
डा भट्टराई २०३४ देखि २०४३ सालसम्म भारतबाट प्रकाशित हुने ‘जनमानस’ र ‘नेपाली एकता’ पत्रिकाका सम्पादक हुनुहुन्थ्यो भने २०४३ देखि २०४८ सालसम्म उहाँ ‘झिल्को’ मासिक पत्रिकाका प्रधानसम्पादक हुनुभएको थियो।
२०४३ सालमा नेपाल फर्केपछि उहाँ पार्टीको पूर्णकालीन सक्रिय सदस्य बन्नुभएको थियो। पञ्चायतकालमा उहाँ २०४३ साल र २०४६ सालमा दुईपटक गिरफ्तारीमा पर्नुभयो।
पञ्चायती शासन विरुद्धको जनआन्दोलनका बेला उहाँ संयुक्त राष्ट्रिय जनआन्दोलनका केन्द्रीय प्रवक्ता हुनुहुन्थ्यो। संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टी (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन र अन्य वामपन्थी पार्टीहरुको गठबन्धन थियो।
बहुदलीय प्रजातन्त्र स्थापना भएपछि २०४७ सालदेखि उहाँको राजनीतिक क्रियाशीलता अझ बढ्यो। उहाँको आफ्नै शब्दमा २०४७ पछि जीर्ण र अशक्त संसदीय व्यवस्थाका कमजोरी र सीमा विरुद्ध उहाँको आन्दोलन जारी रह्यो। यसैक्रममा २०५१ सालमा तत्कालीन सरकारले समेत उहाँलाई गिरफ्तार गरेको थियो।
२०४८ साल यता डा भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माआवादी)को पोलिटब्युरो सदस्यका रुपमा नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँ संयुक्त जनमोर्चाको अध्यक्ष पनि रहनुभयो।
जनयुद्धको समयमा २०५२ देखि २०६३ सालसम्म भूमिगत रही उहाँले विभिन्न मोर्चामा क्रान्तिको नेतृत्व गर्नुभयो।
२०५९–६० मा सरकारसँग शान्तिवार्ताका लागि उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को वार्ताटोलीको नेतृत्व गर्नुभयो। उहाँलाई २०६२–६३ को संयुक्त जनआन्दोलनका एक योजनाकारका रुपमा लिइने गरिएको छ। उहाँ २०६३ सालमा हस्ताक्षर भएको बृहत् शान्ति सम्झौताका मुख्य वार्ताकार पनि हुनुहुन्छ।
२०६४ सालमा भएको ऐतिहासिक संविधानसभाको चुनावमा आफ्नै जन्मथलो गोरखाबाट उठनुभएका डा भट्टराई निर्वाचित सभासद्मध्ये सबैभन्दा बढी मत ल्याउन सफल सभासद् हुनुहुन्छ।
उहाँ नियमितरुपमा पत्रपत्रिका मार्फत विचार सम्प्रेषण गरिरहने एक सक्रिय लेखकका रुपमा पनि परिचित हुनुहुन्छ। उहाँका नेपाली भाषामा लेखिएका १० र अङ्गे्रजी भाषामा लेखिएका चार वटा पुस्तक प्रकाशित छन। उहाँ एक छोरी मानुषीका पिता हुनुहुन्छ।
डा बाबुराम भट्टराइ प्रधानमन्त्रीमा चुनिए । यहिखेर भन्न मिल्छ, ढिलो चाँडो जनताको मतको कदर भएको छ । पूरा भएको छ जनचाहना । जनताको आशाको सानो घिटघिटे आशाले मूर्त रुप पाएको छ । तर यत्तिमै जनताका आशा पूरा हुने होइनन् । जनताले त आफ्ना आशा पुरा गर्छन् कि ! देशका समस्या यीनले बुद्दीमत्ता ढंगले हल गर्न सक्छन् कि भन्ने आशाले यीनलाई कुर्सीमा हेर्न चाहेका हुन् । तर सहज भने पक्कै छैन । अब यीनको एक खाले वास्तविक परिक्षा हुने छ ।
यो परिक्षामा उनी गुल्टिए भने उनी मात्रै गुल्टिँदैनन् देशपनि गुल्टिने छ अर्को बल्ड्याङ । जनताका आशा, भरोसा, चाहना, शान्तिको कामनापनि गुल्टिने छ । नेकपा (माओवादी) पार्टी प्रतिको आशा, भरोसा र लोकप्रियतापनि अझै अग्लो भिरबाट गुल्टिने छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा अलिकति गतिलो काम गरेर देखाउन सके मात्रै भनेपनि सारा आशा र भरोसा उल्टिएर आउने छन् । माओवादीप्रति जनताले गरेको पहिलेको विश्वास उल्टिएर फेरी सोहोरिने छ । संविधान सभाको निर्वाचनमा जनताले दिएको विश्वास फेरी उल्टिएर आउने छ । यसको अर्थ एनेकपा (माओवादी) लाई फेरी पहिलेकै लोकप्रियता र आशाको केन्द्रमा उनले पुर्‍याउने छन् । उनले साहसका साथ यस्तो काम गर्नुपर्‍यो कि कम्तिमा बाबुरामले गतिलो काम गरेको थियो तर अरु पार्टीले गर्न दिएनन् भन्ने देखाउन सक्नुपर्‍यो जनताले प्रत्यक्ष देख्ने, भोग्ने र अनुभूति गर्नेगरि । यत्ति गर्न सके भनेपनि उनले माओवादी पार्टीलाई उल्ट्याएर ल्याउने छन् जनताको विश्वास जित्न ।
चुनौती यति धेरै छन् की उनको जति प्रशंसा गरेपनि सहज देखिन्न । किनभने पहिलो चुनौती त उनैको पार्टीभित्र हुने छ । बाबुराम शक्तिमा पुग्लान् र तर मारौंला भन्ने निकै छन् । प्रचण्ड र बैध्य पक्षलाई मिलाएर लैजानै उनको लागि सजिलो छैन । अलिकति छिस्रिक्क भयो कि उनैको पार्टीमा उनलाइ असहयोग गर्ने संभावना चर्कै छ । उनी असफल भए भने अब माओवादीमा कोहि छैन । सब उस्तै हुन् । कसैले गर्न सक्दैन भन्ने निराशा पैदा हुन्छ जनतामा ।
कम्तिमा उनले सरकारलाई मितब्ययी बनाए, शान्ति र संविधानका लागि वार्ता र छलफलबाट सहमतीको प्रयस गरे भने उनी सफल देखिने छन् । शान्ति र संविधानका लागि मुख्यगरि आफ्नो पार्टीमा चित्त बुझाएर प्रतिपक्षी दललाई विश्वासमा लिए र संविधान बनाउन एकजूट पार्न सके भने उनी सफल हुने छन् । उनले आफ्नो पार्टीलाई जनताको मनमा दह्रोसित स्थापित गराउने छन् । उनको यतिखेरको अवस्था, परिक्षा भनेको देश, आफू, आफ्नो पार्टीलाई गुल्ट्याउने कि गुल्टिन लागेको अवस्थालाई उल्ट्याउने भन्ने चुनौती हो । डा. बाबुरामलाइ हाम्रो हार्दिक शुभकामना!!

Saturday, August 13, 2011

आइफल टावरबाट पेरिस हेर्दा

आइफल टावरबाट पेरिस हेर्दा
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

पेरिस मुस्कुराएथ्यो रङ्गै रङ्गमा मनभरि डा तारानाथ शर्माको नेपाली कितावलाई घनश्याम पौड्याल गुरुले बर्णन गर्दा।लाग्थ्यो पेरिसै पुगे जस्तो त्यतिबेलै बालकुमारी स्कुल पढ्दै।चिल्ला सडकहरुमा सलल बगेका लामबद्ध कारहरु-----।मेरो किशोरवयमा परेको त्यो अमीट छाप एउटा अशल गुरूको प्रभाव थियो।।मोनालिसा,ळियो नार्दो दा भिन्ची र लुभ्र दरबारको बारेमा गुरुका बर्णन नै काफी थिए।जीवनमाकहिल्यै पेरिस पुगिने कल्पना थिएन। जीवनरूपी यात्रामा निस्किएको यायावरका सामू अकल्पनीय यात्राहरु आइपर्दा रहेछन् देश विदेशका अनेकौ।

नेपालदेखि नातिनी प्रेरणालाई हेर्न पाल्नु भएका सासू ससूराज्यू लन्डन आएका बखत हाम्रो पेरिस यात्राले साकार रुप लिएको थियो। धेरै दिनदेखिको प्रतिछापछि १४ मे २००५ को बिहान झिसमिसेमै हामी निस्किन्छौ पेरिसकालागि । लन्डनको वाटर लू स्टेसनबाट मात्र तीन घन्टा पैतालिस मिनेटको यात्रा थियो पेरिस ।हाम्रो यात्रामा मेरी पत्नी प्रेजा,छोरी प्रेरणा,सासू,ससूराज्यू लगायत खरेल दम्पती गोबिन्द र पबित्रा, उहाँहरुका उत्तराधिकारी निरज र नरीसा सम्मिलित थियौँ।सबैका मनमा उत्साहा र कौतुहलता व्याप्त थियो। कल्पनाको पेरिस,यूरोपको सुन्दर महानगरी पुग्ने र चुम्ने लालसाले आँखाहरु रोमान्चित भइरहे सबैका बाटाभरिनै।
यूरोस्टार आफ्नो गतिमा कुदिरहेछ हरियाली रमणीयताले यात्रालाई जीवन्त बनाइरहेछ । यात्रुहरु सबै आफ्नै धुनमा छन् ।वातावरण शान्त छ। आफ्नै तनमयमा रमाइरहने यिनीहरुको बिशेषता हो। प्रेरणा रमाइरहि छे ट्रेनका झ्यालबाट हेर्नु पर्ने उस्लाई समेत । खेलौना जस्तै ऊ आकर्षणको केन्द्र। लव्ली गर्ल।गर्जिएस्।व्यूटीफूल सबैले भन्दै रहे बाटाभरि नै। इङ्लिस च्यानल पेरिस र लन्डन जोड्ने सेतु।समुन्द्र भित्र ट्रेन कुदिरहेको जानकारिले हामीहरुलाई लोभ्याउँछ। २५ मिनेटको सुरुङ्गे अँध्यारोपछि फेरि नयाँ उज्यालो फ्रान्सको धर्तीले हाम्रो स्वागत गर्छ।उर्बर र हरित फ्रान्सका ठूलाठूला फाँटहुदै हाम्रो ट्रेन कुदिरहेछ।बेलायत र फ्रान्सको बान्किको अन्तर पैलाउदैछ हाम्रो टोली। मिहेनत र परिश्रमले सिन्चेपछि धर्ती फल्दो फूल्दो रेछ।

हाम्रो गन्तव्य पेरिसले हामीलाई पानीले स्वागत गर्यो। झम झम रूज्ने झरिमा हामी अघि बड्छौ पेरिस स्टेसनमा लिन आउनु भएका मित्रलाल सापकोटाजीको नेत्रित्वमा।पानीले रोकिने छाँट नदेखाएपछि मित्रले छाता किन्दिनु भो सबैलाई।पेरिसको परदेशमा यति धेरै माया।हाम्रो यात्राको सौभाग्य थियो।निरज, नरीसाका मामा उहाँ हामी सबैका मामा भइरहनु भो तीन दिने पेरिस बसाइ भरिनै। पेरिसको नोर्डे स्टेसनको वरिपरि देखेएका बग्रेल्ती इन्डियन-श्रिलन्ङ्कन सपहरुले हामीहरुलाई रमाइलो थपिरह्यो। यूरोप नै पुगेपनि हामीलाई भने आफ्नै स्वाद र आफ्नै पनमा रम्ने बानी।लन्डन,पेरिसमा साडी,कुर्ता,समोसाको पसल इन्डियन भाइहरुको हाम्रालागि एउटा पाठ। पेरिसको साँझ।झिलीमिली बत्ती र तिन्ले फाल्ने उज्यालोको चर्चा।फराकिला बाटाहरुमा लामबद्ध कुद्ने कारहरु।सफा पेरिससँग हाम्रो आफ्नो देशको तुलना।हाम्रो पेरिस घुम्दैगर्दा निस्कने गफ।पेरिसको मेट्रो ट्रेन,दुईतले टुरिष्ट बस,फ्रेन्चहरुको अङ्गरेजी बहिष्कारले पार्ने भाषिक समस्या सबैलाई प्रेमपूर्वक स्वीकार्दै हाम्रो टोली यूरोप भ्रमणमा
तन्किरहेछ।
कलात्मक घरहरू, सुन्दर बागबगैचाहरू, फराकिला चोक र गल्लीहरूमा बनाइएका विशाल स्मारक र पार्कहरू।जताहेर्यो उतै फोटो खिचूँ खिचूँ लाग्ने रङ्गिन द्रिश्यहरु।यी सबैलाई मात्र तीनदिनमा हेरिसक्नुपर्ने हाम्रो बाद्ध्यता।समयको पावन्दि। यूरोपको महङ्गि।तथापि हामी उत्साही छौ यात्रामा।मनभित्रको उमङ्गले उचालिदै र तनभित्रको उत्साहले आकासिदै हामीहरू कुदिरहेकाछौ। पेरिसको मुटु मानिने फराकिला सडकहरुमा दोहोरो लामबद्ध कटिङ्ग मिलाइएका रुखहरु हरित सुन्दरतामा चम्किएका छन्।मानिसहरुको घुइचो छ पैदल यात्रामा।तिनै भिडमा भिन्न लाग्ने हामीहरू।

सुनेको पेरिस,कल्पनाको पेरिस र आँखाअगाडिको पेरिसमा पाइने भिन्नतालाई केलाउँदै बुवाले भनसिन्छ-“खोइ सडक त टल्केननी अनुहारै देखिने गरि ज्वाईसाहेब।’’ हरेक कुरा सोचेजस्तो लाग्दैनन् जीवनमा।देख्नु र सुन्नुको भिन्नता हो यो।यधपि पेरिसको सुन्दरतालाई चुनौती हाम्रो बार्तालापको अँसले दिन सक्दैनथ्यो। काठमाण्डौले पेरिसलाई जीवनमा खै कैल्यै भेट्ला र?देश दुख्छ तुलनामा।विकाश,प्रगति र मान्छेहरुको समग्र जीवनस्तरले हामीलाई द्रवित बनायो।“हैन यी हाम्रा नेताहरूले के हेर्छन विदेशमा खै?’’मुवाको सोझो प्रतिक्रिया।

हाम्रोटोली उत्साहाबर्दकरुपमा पेरिसको सुन्दरतालाई पिइरहेछ।पैदलै हिडेपनि थकाइ महसुस नहुदो रहेछ जिग्यासू पर्यटककालागि।लगभग तीन किमिको दूरीपछि धेरै रमाइला चोक,आकर्षक मोनुमेन्ट र सुन्दर पार्कहरुलाई छिचोल्दै हामी एतिहासिक कला र सँस्किरितिले सजिएको भब्य सँग्रालय लूब्र दरबारको परिसरमा पुग्छौ।समय थोरै हेर्नुपर्ने सिङ्गै बिशाल कला सँग्रालय।लामो भिडमा लामबद्धभएर हामी पालो पर्खिन्छौ।मनभित्र खुसी र आतुरी मोनालिसालाई भेट्ने। कलाको राजधानी मानिने पेरिस र त्येसको मुटु लुब्र दरवार।हामी छिटो छिटो आँखा दौडाइ रहेछौ।कला र सँस्क्रितिका बारेमा त्यतिधेरै थाहा नभएपनि त्यहाँ सजाइएका बहुमुल्य पेन्टिङहरु,कलात्मक बस्तुहरु र त्यस्को भब्य सँग्रह देख्ने जोसकसैलाईपनि आकर्षित गर्दछ।मान्छेहरु लामबद्ध भएर कला र सँस्क्रितिका बारेमा अध्ययन गरिरहेछन्।कालखण्ड मिलाएर राखिएका भब्य सँग्रालयका हरेक चिज अनुसन्धान र अद्ध्ययन गर्न चाहने जिग्यासुका लागि एउटा महाविध्यालय नै हो।
मान्छेहरुको अलि ठूलो भिड क्यामेरा र मुवि क्यामेरा चलाउन ब्यस्त देखिन्थे।फ्ल्यास लाइटको बाडि चलिरहेको थियो।हामी पनि तेतै लाग्यौँ त्यो भिड मोनालिसालाई भेट्नेहरुको रेछ।हिजोसम्म कौतुहलता र कल्पनाको मोनालिसा,किताबका पानाहरुमा,पोस्टकार्डका चित्रहरुमा सिमित मोनालिसाको बिम्ब।आज आँखा अगाडिको मोनालिसा,लुब्र दरवार भित्रको बहुमुल्य चित्रक्रिति।त्यसलाई देख्न पाउने भाग्यमानी हामी।गर्वले छाती फुलाउदैँ हामीपनि क्यामेरामा कैद गर्छौ प्यारो मोनालिसालाई पोज पोजमा भोक मेटिने गरि। हेर्दा सामान्य नै लाग्ने यस चित्रक्रितिका कति प्रति पोस्टकार्ड बने,कतिप्रति तस्बिर बने त्यो सँख्याले करोड नाग्ला। धेरै लेखिए र लेख्दै छन् अझै मोनालिसाका फ्यानहरु।लियोनार्दो दा भिन्ची अमर छन् मोनालिसासँगै।
लुब्र दरवारको परिक्रमा सकेर हामी हानिएका छौ आइफल टावरतिर।थकाइ लागेपनि पेरिसको रमाइलोमा हामी लोभिएकाछौ।वाउ! आइफल टाबर।हिजोसम्म कितावका पानाहरुमा,रोमान्चकता र काल्पनीकतामा मात्र सिमित रहेको आइफल टावर आज हाम्रा आँखा अगाडि छ।हाम्रा द्रिश्य अगाडि छ।हाम्रै स्वागतमा तन्किइरहेछ।मुस्काइरहे छ।मनभित्रको खुसीले म आल्हादित छु।पेरिसमा सपत्नी सपरिबार सयर गर्न पाएकोमा।आइफल टावर साँझमा हेर्दा रमाइलो देखिने तथ्य त्यसको चम्किला बत्तीहरू रहेछन।पेरिसको साँझलाई मनमोहक बनाइरहने आइफल टावरको इलुमिनेसन सिस्टमलाई कौतुहलतापूर्ण नजर लगाइवरि हामी त्यसदिन फर्कन्छौ होटलतिर।भोलि आइफल टावर चड्ने कार्यक्रम साँचेर।

तीनदिनमा पेरिस हेरिसक्नु पर्ने।टुरिस्ट बसको फ्रि टिकट लिन्छौ हामी।दुईतले टुरिस्ट बसको माथिल्लो खुला छतमा रमाइरहेछ हाम्रो टोली।सवै गोराहरुको बीचमा हामी गहुँगोरे नेपालीहरू।पेरिसका सबै पर्यटकीय स्थलहरुलाई समेटने गरि बसहरु कुदिरहेछन। फ्रि टिकट जुनसुकै बसमा चड्न र झर्न पाइने आफ्नो रूचिअनुसार।पेरिसका फराकिला चिल्ला सडकहरू,सफा र स्निग्द वातावरण।दुइतले बसको छतबाट मजालिइरहेका हामीहरू।हातमा पेरिसको नक्सा र मनभरि उत्साह बोकेर घुमिरहे छौ।बसको अडियो सिस्टमबाट हरेक ठाऊँको बारेमा जानकारिले हामीलाई रोमान्चित बनाइरहेछ। जति घुमेपनि घुमिरहूँ जस्तो पेरिसलाई दिनभरि खुला बसको छतबाट हेर्दे हामीहरु आइफल टाबरको परिसरमा आइपुग्छौ। बसले देखाइरहेछ हरेक कोणबाट आइफल टाबरलाई।पर्यटकहरु तस्बिर खिच्न ब्यस्त छन्।घन्य छ आइफलटाबर!कति पर्यटकहरुलाई पागल बनायो आफ्नो मनमोहक सुन्दरताले।कतिलाई ळोभ्याइरहेछ।युरोपभरिकै एउटा इतिहास बनेर खडा छ आइफल टाबर सँसार सामू। आफ्नो स्थापानाको ११७ औ बर्षगाँठ मनाइरहेको आइफल टाबरको निर्माण सन् १८८९ मा भएको थियो।यति सुन्दर टाबरको परिकल्पना गरेर त्यसलाई जीवन्त डिजाइन दिने स्टकचरल इन्जिनियर थिए- गुस्ताभ आइफल। ७०० प्रस्थावित डिजाइनहरुबाट उनको डिजाइन छनोट भएकाले उनकै सम्जनामा टावरको नाम आइफल टावर राखियो।

हामी बसबाट झर्दछौ हानिदै आइफल टाबरतिर।लामो लाइनको पट्यारलाग्दो प्रतीछापनि आइफल टाबर चडने र चुम्ने अभिलाषा सामू केहि लाग्दैन।घन्टौ लामो प्रतीछापछि आइपुग्छ पालो आइफल टाबरको माथि चड्ने।रोमान्चित हामी सबै लिफ्टबाट माथि पुर्याइन्छौ आकासमा। ३१२.२७ मिटर अग्लो आइफल टाबरको छानामा।खुसी र रोमान्चकताको पराकास्ठ।जता हेर्यो उतै रमाइलो।हरित सुन्दरता र सजीवताले सुरम्य धरतीको विशालताले हामी उल्लासित हुन्छौ।कति फराकिलो कति मिलाएर बनाइएको रहेछ पेरिस उचाइबाट बल्ल हामीहरू अनूभूत गरिरहेछौ।फोटाहरुको उपक्रम रोक्नै मनलाग्दैन।जता हेर्यो उतै खिचौ लाग्ने पेरिसको रमणीयता।

आइफल टाबरको सबैभन्दा माथि सँसारभरिका झन्डाहरु र राजधानीको एरियल डिस्टेन्स लेखिएको रहेछ।काठमान्डौ खोज्दै हाम्रा रोमान्चित आँखाहरु।काठमान्डौ ,,,,,माइल।सँगै रहेको नेपालको झन्डा देखाउदै ऊत्साही प्रेजा।त्यहि झन्डालाईसमेत क्यामेरामा कैद गर्न लालायीत म।राष्टियता कति प्यारो हुदो रहेछ? परदेशमा। आइफल टाबर चडनेहरुले सम्जनाकालागि त्यहाका फलामे पिलर र भित्ताहरुमा आफ्ना नाम र मिति लेखेको देखियो बग्रेल्ती।म पनि लेख्छु प्रेजा तम्सिइ। आइफल टाबरको माथि क्याफे,बार छ।आइसक्रिम सप देखि रेष्टुरेन्ट सम्म; ग्यालरि देखि म्युजियम सम्मको सुबिधाले मान्छेको ठूलो भिडलाई आकर्षित गरेको छ। आइफल टावरको चुचुरोलाई एन्टिनाको रुपमा प्रयोग गरेकाछन् फ्रेन्च टेलिविजन र रेडियोले। उक्त एन्टेना सहितको टावरको उचाइ ३२४ मिटर रहेको छ।सुन्दर टावरलाई रातीमासमेत चम्काइ राख्न ६००० वाटका ठूला ४ फ्लूड लाइटहरू र जेनन बल्ब हरू घुम्नेगरि जडान गरिएकाछन्। जस्ले पुरै पेरिसलाई प्रकासित गर्दछन्। हरेक बर्ष ६ मिलियन पर्यटकहरुलाई स्वागत गर्ने आइफल टावर विश्वकै सबैभन्दा धेरै पर्यटकहरुलाई लोभ्याउने आकर्षणको थलो हो।

लाग्दछ बसिरहूँ सधै त्यै सुन्दर चुचुरैमा आइफल टाबरको टाकुरिमै।बिर्सेर सबै साँसारिकता।पिइरहूँ सुन्दरता पेरिस माहानगरीको सिनित्तै। कबितामयी भाबनाहरूले मात्र नचल्ने रहेछ जीवन। जीवनका कैयौँ प्राप्तिहरु चाहेर सधै चाटिरहन नपाइने र नचाहेर सधै साटिरहनै पाइने?जीवनका यस्तै अप्ठ्यारा सत्यहरुलाई आत्मसात गर्दै हामीहरु झर्दै थियौ आइफल टावरबाट मन अमीलो पार्दै। जीवनमा फेरी तिम्रो सामिप्यता मिल्ने हो या होइन?हामी सम्भ्रान्त युरोपेली होइनौ पटक पटक होलिडेमा आइरहने।हामी त दूर देशको नेपाली मात्र कागताली सँयोगले तीन दिनका लागि टप्केका तिम्रो अति चर्चाको भोक मेटनलाई।तिम्रा युरोसँग साटिरहने सामर्थ्य छैनन् हाम्रा सस्ता रुपियाँको। बाइ बाइ आइफल टावर! बाइ बाइ पेरिस माहानगरी!!बाइबाइ सापकोटा बन्धुहरु- मित्र, शालिग्राम र हरि!!!


सम्प्रति: बेलायत

Thursday, August 11, 2011

लन्डनतिर लन्ठिदा

लन्डनतिर लन्ठिदा
रामहरि पौड्याल
भरतपुर १२/१९३चितवन
नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१।वातावरण नवीन उत्साहले सुशोभित छ।हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश परदेश गर्नु छोराको धर्म रहेछ।स्वाभिमानी कर्म रहेछ।पुर्खाहरुले धानेको यो धरोहरलाई मैले समुन्द्र पारीसम्म पुर्याएँ।
यात्रै यात्राको बिदेशिने क्रमले एक दशक मनायो मेरै जीवनमा।सन् १९९४ को जापान यात्रासँगै सुरू भएको मेरो परदेश यात्राले पाँच बसन्त मनायो सूर्योदयको देशमा।काम,मिहेनत,अनुशासन र स्वाबलम्वनको सिङ्गो इतिहास देखे बुझेर सन् १९९९ मा फिलिपिन्स पुगेँ सिङ्गापुर हुँदै।उच्च अध्ययनका मेरा अर्का पाँच वर्षहरु फिलिपिन्समा बिते।जहाँबाट मैले इलेक्ट्रिकल इन्जिनियरिङ्गमा स्नातक र म्यानेजमेन्ट इन्जिनियरिङ्गमा स्नातकोत्तर सम्मको उपाधी हात पारेँ। त्यहि उपाधीको बल्छि थापेर हात परिन इन्जिनियरिङ्ग स्नातक आर्किटेक प्रेजा।
नवबिवाहित हाम्रो दाम्पत्य रमाइलैसँग बित्दै थिए। हामी दुबै इन्स्टिच्युट आफ म्यानेजमेन्ट एण्ड टेक्नोलजी भक्तपुरमा प्राध्यापन गर्दै थियौ।नेपालको वातावरणीय प्रदुषण,राजनैतीक प्रदुषण सबै सबैले हामीलाई देश छाडन प्रेरित गरे।बन्द,चक्काजाम,आन्दोलन,धरपकड,बेरोजगारी,अब्यवस्था कारक थिए हाम्रो पर्देश यात्राका।
पर्देशी नियती नै भएको एउटा मान्छे पुन: पर्देसियो।अभिलाषा उच्च अध्ययनको।यतिखेर यात्राले एउटा साथी पायो जीवनभरकै।यात्राको नया भूमी अलि टाढै थियो।एशिया महादेशलाई नाघेर युरोप सम्मको दूरी तय गर्नु थियो। बैशाख३गते २०६१ साल।तदनुसार १५ अप्रिल २००४।हाम्रो यात्राको प्रस्थान बिन्दु।बिहानको सखारै ६:३० बजे हामीले चक्रपथको घर छाड्यौ। बुवा, आमा, बैनी ग्यानु, अभिलाषा, सागर, माधुरी, माधवी,,,,,सबै।मर्निङ्ग स्टार चिल्ड्रेन च्यारिटीका सँस्थापक र पचासौ सडक बालबलिकाका सँरछ्यक दाइ विष्णु पराजुलीको सौजन्यमा प्राप्त भ्यानामा चढेर हामी सबै बिमानस्थल पुग्यौ।


बिमानस्थलको सुरछ्या ब्यवस्था परदेशीनेहरुकालागि एउटा तीतो यथार्थ बनेर जिस्काइरहेको हुन्छ। खै र विदायीकालागि आउने सबैलाई आत्मीयताको हार्दिक ‘बाइबाइ’ खुलेर गर्न पाएको? वरै गेटबाट आर्मीको आदेशलाई शीरोधार्य गर्नै पर्ने। कडै सुरछ्या ब्यवस्थालाई समेत बलै पूर्बक मिचेर विदायीमा पाल्नुभएका सासु,ससुराज्यू,भाइ अभिषेक,मामा,अङ्कल,आन्टीहरुको आशीर्बाद र विदायीलाई स्वीकार्दै हामीले बिमानस्थल प्रवेश गर्यौ।
एअरपोर्ट टेक्स,बेगेज चेकिङ्ग,बोर्डिङ्ग पास,ओभर वेट,भनसुन,गलफतिकोफेहरिस्त सकियो।बिमानस्थलको भित्रैसम्म आइपुग्नु भएका अङ्कल जगन्नाथ पौड्याल(पूर्व सासँद),आर्मी इन्जिनीयर दाइ विश्वबन्धु पहाडी, भन्सारमा कार्यरत किशोर अङ्कल, ससुराज्यू, छोराबुहारीलाई बिदेश उडाउन पाल्नुभएका मेरा ६८ बर्षिय पिताजी।सबैको मुहार मनीलो भएथ्यो।खुसी र दु:खको सँयोग।बिदायी आफैमा नरमाइलो।पिताजीका चार भाइ छोरा र तीन बैनी मध्यको माइला छोरा बुहारी हामी।सबै छोरा बुहारी बिदेशिए बूढाबूढीहरुको दुखेसो।परिवार अन्तराष्ट्रिय भयो।जेठो छोरा बुहारी जापान,साइलाका बूढाबूढी अमेरिका,कान्छो छोरो जापान,कान्छी छोरी फिलिपिन्स,ठूली छोरी ज्वाइ जापान,माइलो ज्वाइ जापान।मात्र माइली छोरी र हामी बूढाबूढी नेपालमा रह्यौ।ब्रिद्ध बुवा मुवाको हर्क र दु:ख।तीन भाइ छोरा सबै र एउटी बुहारी समेत इन्जिनीयर र अर्को छोरा डाक्टर मेरा पिताजीको साँचो धाक।तथापि सबै परदेशमा। स्वागत र बिदायीको धेरै अनुभव सँगाल्यो हाम्रो परिवारले।आउने जाने क्रम चलिनै रहेछ दशकौ देखी बिदेश यात्राको।

अव बिदेश देख्ने पालो बुवाआमाको।बिदायीलाई सहज बनाउदै मैले गरेको घोषणा। समय भैसके छ प्लेनको, बेला जुदायीको आफ्नो धर्तीसँग।आफ्नो माटो र बाटोसँग।छिटो,छिटो हामी कुद्यौ विमानतिर।आफ्नो लछ्यतिर।क्रमश: देश टाढिदै थियो मुलुक साटिदै थियो।सबैजनाको सम्जनाले भारी मन बोकेर कतार एअरलाइन्सको काठमान्डौ दोवा,दोवा लन्डनकालागि अनुबन्धित हाम्रो बायुयान क्यूआर ३१५ले विहानको ८:४५बजे काठमान्डौ छाड्यो। हेर्दा हेर्दै आकाशियो बायुयान,बिरानीयो गाऊँ।पशुपतिनाथलाई दूर दर्शन गर्दछु । शुभयात्राको मनोकामना। बिहानीको सुनौला घामसँगै उज्यलिएको छ आकाश।बादलै बादलको सफा र स्निग्ध आकाश। कपासै कपास जस्तो सेतो भुवादार मखमली साम्राज्य।खेलूँ खेलूँ लाग्ने छोउँ छोउँ लाग्ने आकाशे रमाइलो।एकै छिनपछि वायुयानका सबै बिदेशी पर्यटकहरू सलबलाए र झ्यालपट्टि चलमलाए। आहा! कस्तो सुरम्य मनमोहकता।हाम्रा हिमालहरु चाँदीझै टल्किएका छन्। घामका किरणहरुले त्यसमा थपेको चमक अबर्णनीय छ। सबै ब्यस्त छन् हिमाल हेर्न, हिमाल चुम्न।क्यामेराहरु चोरिरहेछन् हिमालका मनोरम द्रिश्यहरु। हिमाल हाम्रो महिमा,हाम्रो शान। हाम्रो चिनारी विश्व मानचित्रमा। मरो छाती स्वाभिमानले फुलेर सगरमाथा भइदिन्छ। मेरो शान फक्रेर कन्चनजङ्घा चुलिदिन्छ। हामी हिमाली हार्दिकता सिनित्त पिएर गौरवान्वित भइरहन्छौ यात्राभरि।

बायुयान आफ्नो निर्दिस्ट गति र दिशामा लम्किरहेकै छ। उडानको गति,तापक्रम,उचाइ र गन्तव्यको जानकारी स्क्रिनमा डिस्प्ले भइरहे छ। बिमान परिचारिकाहरु समुस्कान यात्रुहरुको सेवामा लागिरहेका छन्। नेपाली भन्दा विदेशी पर्यटकहरुनै बढी छन् बायुयानभरि।यात्राको तयारिमा भएको दौडधुप धुलो धुवाँको सौजन्यले प्राप्त रुघा खोकीले हामी दुबैलाई छोएको थियो। हामी खोक्दै थियौ बिमानभित्रै सम्म पनि। “तपाइहरुलाई सन्चो छैन जस्तो छ नि ?” कतार एरवेजकी बिमानपरिचारिका नेपाली प्रीतीको सोधाइ आत्मीय बनिदिन्छ। नेपाली युवतीहरु अन्तराष्ट्रिय विमानसेवासम्म काम गरिरहेको जानकारीले हामीलाई खुसी तुल्याउँछ।प्रीतीको सौजन्यमा प्राप्त हट लेमन र स्ट्रेप्सिलको एउटा पातो पुरै हार्दिकरुपमा स्वीकार्दै हामी दोवा विमानस्थलमा अवतरित हुन्छौ।
मरुभुमीको बीचमा रहेको दोवा बिमानस्थल त्यहाको भिन्न प्रक्रितिका घरहरु,भिन्न तापमान सबैको कौतुहलतापूर्ण जिग्यासा सक्दा नसक्दै दोवा लन्डनको यात्रा सुरु भइहाल्दछ।हाम्रो यात्रामा अर्का एकजना नेपाली डाक्टर भेटिनु हुन्छ।दोवाबाट लन्डनको विमानमा हामी तीन नेपाली हुन्छौ।दोवा लन्डनकालागि अनुबन्धित हाम्रो बायुयान ७ घण्टाको आफ्नो निर्धारित उडानलाई लछित गरेर आकासिन्छ। आकासमार्गका रमाइला छणहरु पुन: दोहोरिन्छन्।बायुयान समुन्द्रसतहबाट धेरै माथि पुग्दछ। प्रिथ्वीका सबै सम्पर्कहरु आकासिन्छन बादलपारिको अलौकिक सँसारमा। बिमानपरिचारिकाहरु आफ्नो सेवामा जुटिरहेकाछन्।यात्रुहरु आफ्नो रुचिअनुसारको फरमाइसमा ब्यस्तछन्।
यात्राको गन्तव्य आइसकेछ हामी अवतरित हुँदैछौ लण्डनको हिथ्रो बिमानस्थलमा। रातीको आठ बजे अचम्म अँध्यारो छइन।पूरै उज्यालो छ बिजुलीको होइन, बत्ती बलेकै छइन। भौगोलिक विषमता अचम्म लाग्दछ।एउटै धर्ती कहिँ उज्यालो कहिँ अँध्यारो।घुम्दो उपक्रम। इमिग्रसनको लामो लाइन,चेकिङ्ग,स्वास्थ परीछण सबैको लामो श्रिङ्खला सकेर बिमानस्थलबाट बाहिरिदै गर्दा खुसी र सँत्रास दुबैले मन फुल्दछ। कहाँ जाने? टेलिफोन, ठेगाना परदेशका प्रारम्भिक समस्याहरुले हामीलाई घेर्दछन। कलेजको होस्ट फेमिलीले पिकअप गर्ने सूचनालाई आधार मानेर दुई तीन चोटी घुम्दा पनि अराइभल लविमा प्ले कार्ड बोकेर उभिएकाहरुमा आफ्नो नाम देखिएन। सुटकेसका भारिहरूको लाइनसँगै बाहिरिँदै गरेका हामी दम्पतीलाई एकजना पाकिस्तानी भाइको भाडाको ट्याक्सीले ठूलै गुन लगाउँछ। हिथ्रोबाट रिडिङ स्टेसन टाढै रेछ अरूण थापा भाइको कोठा। साठी पाउण्ड भाडा तिर्यौ सधन्यवाद।
थकाइले क्लान्त हामी अरूण भाइको न्यानो आतिथ्यमा दङ्ग पर्दछौ।गाउँघरको गफ चल्दछ हामी दुई भाइको। परदेशमा देश प्यारो हुदो रेछ। चार बर्षदेखि घर नगएको ऊ गाऊँ सुन्न र बुज्न ब्यग्र छ। मावोबादी आक्रमणमा उस्को बुवा मेयर गणेशबहादुर थापा भरतपुरको घर बम बिस्फोटमा ध्वस्त भएको खबरले हामी दुबै स्तबद्द हुन्छौ।देशै हिँसा,हत्या र फोहरी राजनीतीले आक्रान्त भएको खवर मैले प्रेषित गरिरहन्छु।
परदेशका प्रारम्भकालीन चुनौतीहरु हाम्रा अघि पहाड बनेर तेर्सिरहे।नयाँ मुलुक, नयाँ चालचलन, नयाँ तौरतरिकाहरु।बिहानको रापीलो घामसँगै हामीहरु सेन्टर लण्डनतर्फ बढीरहेका हुन्छौ। लण्डन व्यवस्थित र वैभवशाली भएपनि टोकियो, सिङ्गापुर, मनिला, बेङ्कक, हङकङ्ग र साङ्घाइ देखिसकेको आफूलाई भने वाउ! वाउ!! लाग्दैन।पूराना बान्किका घरहरुले पूरानो बेलायती साम्राज्यको सँझना गराउदछ।कसरी सँरछण गरिरहेछन आफ्नो ऐतिहासिक बैभवलाई बेलायतीहरुले।हेरिटेजलाई बचाउन उनीहरू पूरै सफल देखिन्छन।लण्डन सबै एउटा ऐतिहासिक म्युजियम भएर खडा भएझै लाग्दछ।आजभन्दा सयौ बर्ष अगाडिका भवनहरू अध्यापि पूरानै सानमा पर्यटकहरुलाई लोभ्याइरहेछन्।
आधुनिक बन्ने होडमा हामीले आफ्नो काठमाण्डौको ऐतिहासिक गरिमालाई सिद्ध्याएको महसुस भयो लण्डन देखेपछि।जङ्गबहादुर पछि बेलायत यात्रामा निस्कने म कतिऔ नेपाली हुँला?जतिजनाले बेलायत देखे बुझेपनि,पढे र बरालिएपनि काठमाण्डौको ऐतिहासिक गरिमालाई बचाइराख्ने कुनै साहसिक राजनेता, मेयर देखिएन आजसम्म।
विदेशमा आफ्नो मान्छे औधि प्यारो बन्छ नै।हामी दङ्ग हुन्छौ भोलिपल्टै साथीहरू सबै चिनेजानेका इन्जिनीयरहरू – हरि हमाल, शैलेन्द्रकाजी श्रेष्ठ, सुभाष अधिकारी,राजन खरेल, सुरज थापा, नमीता श्रेष्ठ, बन्दना प्रधान,आरजीत गुप्ता, सबैको फेहरिस्त पत्ता लाग्दछ। इन्जिनीयरहरुको लण्डन च्याप्टर खोल्ने चर्चा चल्छ हाम्रो टोलीमा।
लण्डनको दुईतले बस,भूमीगत रेल (ट्यूब),चढ्दै हामीहरू सेन्ट्रल लण्डनको द्रिश्यावलोकनामा ब्यस्तछौ।नेत्रित्व गरिरहेछन् हरि र सुभाष। वाऊ! वाऊ!! लण्डन ब्रिज हामी दङ्ग हुन्छौ। फोटाहरुमा,चलचित्रका पर्दाहरुमा देखे सुनेको लण्डन ब्रिज आफ्नै आँखा अगाडी।रोमान्चक हुदै हामीहरु तस्विर उतार्छौ।सन्ध्याकालीन सुरम्य द्रिश्यले हामी पुलकीत भइरहेछौ। लण्डन स्वागतातुर देखिन्छ सबैको सत्कारमा। लण्डनका ब्यस्त बजारहरुमा भेटिने बग्रेल्ति इण्डियनहरू,पाकिस्तानीहरू र बँगालीहरुले लण्डन कतै लण्डन नभएर दिल्ली,कराँची र ढाका बन्दै गरेको बास्तबिकता साथीहरुले बताइरहे।दोश्रो विश्व युध्दताका नै भूमीगत रेलमार्गको टनेल खन्न ल्याइएका पचासौ हजार इन्डियनहरुका सन्तानहरु बडदै थपिदै ऐले बेलायतको अर्थतन्त्रमै दखल दिने भएकाछन्।मिलेनियर इण्डियनहरुको विजनेसमा समेत बोलबाला छ।बेलायतभरि बिसौहजार इन्डियन रेष्टुरेन्ट छन्।साउथ हल, ग्रिन स्ट्रिट पुग्ने जसकसैलाई पनि लण्डन होइन गोरखपुर र रक्सौल पुगेको भ्रान्ति हुन्छ।“मिनी इण्डिया”को रुपमा बिकासहुदै छ साउथहल। सँसारकै सबैभन्दा ठूलो गुरूद्वार बनेको छ प्रार्थनाकोलागि।धार्मिक हिसाबले जहाँबसेपनि इण्डियनहरुमा धार्मिक साँस्क्रितीक मोह बढी पाइन्छ।धर्मभीरू तिनीहरूकै दानदातब्यले बनेकाछन ठूला ठूला मठ मन्दिर,गुरूद्वार र मस्जितहरु बेलायतभरिनै।
बेलायतमा बसेर स्वदेशी अनुभव गर्न पाउनुपनि कम्ति मजाको कुरा हो र?इण्डियन रेष्टुरेन्ट,इण्डियन सपहरू।भाडाको ट्याक्सी चलाउने पाकिस्तानीहरु,बँगालीहरु,अफ्रिकी कालेहरू,ल्याटिन अमेरिकीहरु,चाइनिजहरु।सँसारभरिकै मान्छेहरुको भिड लण्डनमा देखिन्छ।त्यसैले त लण्डनलाई “वर्ल्ड क्यापिटल” पनि भनिन्छ।बिदेशीहरुको यो बिशाल महासागरमा कतिछन त हाम्रा नेपालीहरू?के गर्छन तिनीहरुले??यो अर्को खोजको बिषय हुदै हो।तथापि आधिकारिक तथ्याङ्क लण्डनको केनसिङ्गटन पेलेस गार्डेनमा अवस्थित शाही नेपाली राजदूताबासलाई समेत थाहाछैन रे?
बेलायत प्रजातन्त्रको जननी देश।मानवाधिकार र स्वतन्त्रताको नमूना देश।उदार मानवाधिकारकै कारणले सँसारकै शरणाथ्रीहरुलाई थामेको छ,पालेको छ उल्टै बस्ने घर र भत्ता दिएर।बेलायत बस्ने सबैभन्दा सस्तो तरिका भएको छ “रिफिउजी”। एउटा केश खडा गर्यो मानावाधिकारवादिहरुले निसुल्क केश लडिदिन्छन।
लण्डनतिर लन्ठिनेक्रम जारी नै भएकाले बाँकी बचेका यात्रानुभूतीहरू,विदेश बसाइका सुख दुखका कोशेलीहरू सँगाल्ने सुनाउने र पठाइरहने बाचासहित आजलाई बिदा!

हाल: बेलायत