Labels

Total Pageviews

Friday, June 21, 2013


विषमता                 

रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक, चितवन
कातिर शान्ति छ सम्पन्नता छ
विपुल ऐश्वर्य छ प्रशन्नता छ
अर्कातिर अशान्ति छ विपन्नता छ
तन्नम गरीवी छ घोर असन्तोष छ
            १
एकातिर जीवन छ चम्किलो प्रकाश छ
सुनौलो बिहानी छ उज्यालो भबिष्य छ
अर्कातिर मृत्यु छ निस्पट अन्धकार छ
चरम असमानता छ विषमता छ
            २
एकातिर आशा छ बिश्वास छ
सत्य र बिबेक छ इमान र धर्म छ
अर्कातिर निराशा छ अबिस्वास छ
असत्य र अबिबेक छ बेइमानी र अधर्म छ
            ३
एकातिर निस्काम कर्म छ कर्तब्य छ
देश समाज छ बिश्वो ब्रम्हाण्ड छ
अर्कातिर दुस्कर्म छ अकर्मण्यता छ
सर्बत्र बदनामी छ बदनियति छ |
            ४

रचना काल: ११ जनवरी, १९९८
गुन्मा केन , जापान

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Wednesday, May 15, 2013



तिमी मेरी ...........

रामहरि पौड्याल
भरतपुर १२/१९३बसन्त चोक
चितवन, भरतपुर


तिमि मेरी मनकी रानी मायाकी हौ खानी
अमर रहोस् हाम्रो प्रीत जुग जुग जानी
आऊ आज बाचा गरौँ हाँसी खेली गर्ने
प्रीत हाम्रो अमर बनोस् युग युग टर्ने
अजम्बरी माया हाम्रो दुनियाँले गायो
सँगै मर्ने सँगै बाँच्ने कसम कता लायो ?
तिमी मेरी मनकी रानी मायाकी हौ खानी
अमर रहोस् हाम्रो प्रीत जुग जुग जानी
तिमी मेरी सपनीमा आउने माधुरी हौ
तिमी मेरी बिपनीमा बज्ने बाँसुरी हौ
पर्खेकै छु युगौं देखि तिमी मेरी रानी
कहिले आउली मेरी नानी मैलाई आफ्नै मानी
कहिले  आउछेउ मलाई खोइ राजकुमार ठानी |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत





Saturday, April 13, 2013

नयाँ दिनको प्रतिज्ञा !!!!



नयाँ दिनको प्रतिज्ञा !!!
      रामहरि पौड्याल
      भरतपुर१२/१९३,चितवन


कोइलीको कुहु कुहुले तिम्रै नाम बोलायो,
ज्वारभाटाहरु घुमेर बदलिए परिवर्तनको झोक्कासँगै |
प्रकृतिमा बासन्ती मोहकता पोखियो
राताम्मे लालीगुराँसहरु,
फक्रिएका सुनगाभाहरु |
मैले कस्तो सुखानुभूति गरें,
एउटा नयाँ दिनको प्रतिज्ञा
एउटा नयाँ बिहानीको प्रतीक्षा
एउटा नयाँ युगको प्रलोभन !
नयाँ दिनको प्रतिज्ञासँगै
पृथ्बी मेरै खुट्टामुनि घुमिरहने छ
एक पाइलो नजिक सानिघ्यता गाँस्दै प्रेमको,
एक पाइलो अधिक सामिप्यता दर्साउदै भावनाको |

केहि भन्नु र गर्नु छ कि?
हाम्रो नयाँ दिनको प्रतिज्ञामा
हाम्रो नयाँ बिहानिको प्रतीक्षामा
हाम्रो नयाँ युगको प्रलोभनमा |
घुम्दो दैनन्दिनी ! श्रीस्टी चक्रको एउटा नियम
संसार बदलिने छ परिवर्तनको संकेतसँगै,

कसैले भन्न सक्दैन
कसैले रोक्न सक्दैन
परिवर्तन युगको/परिवर्तन बिहानीको
मात्र प्रतिज्ञा एक दिनको सँगै बस्ने
सँगै खेल्ने र सँगै हाँस्ने

बुध्दिपूर्ण सज्जनताले बिर्सिदेउ अतितका
हाम्रा भूलहरुलाई, हाम्रा कलुषित मुलहरुलाई |
सुन त नयाँ पिढीले सोधिरहेछन्
हामीले कस्तो अनुभूत गर्यौं ?
नयाँ दिनको प्रतीक्षा
नयाँ बिहानीको प्रतिज्ञा
नयाँ युगको प्रलोभन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Sunday, February 17, 2013


 मेरो देश

रामहरि पौड्याल
भरतपुर१२/१९३, चितवन

 सारै नै राम्रो नेपाल मेरो देश
 नेपाली मेरो  भेष्
जहाँ जाऊ जेसुकै खाऊ
याद आउछ मेरो देश
संसार डुल्दै फुलेछ मेरो केश
जहाँ जाऊ जेसुकै पाउ
याद आउछ मेरो देश
हिमाल होस् वा पहाड मधेश
जहाँ नै म रहू तेइ हो मेरो देश
नेपाली जाती बिरको सन्तान
राख्नु छ आफ्नो नाम
पूर्खाको रगत सिंचित यो देश
 प!रेर टुक्रा नप!रौं बदनाम

(रचना अवधि: २५ सितम्बर २०१०)
सम्प्रति: संयुक्त अधिराज्य बेलायत


Sunday, December 16, 2012

आहा ! संस्कृति र सभ्यताको त्यो फूलवारीले कस्को मन नाचोर्ली ?


आहा ! संस्कृति र सभ्यताको त्यो फूलवारीले कस्को मन नाचोर्ली ?

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

जापानको टोकियो महानगरी संसारको महङ्गा शहरहरुमध्येको एक शहर, सुन्दर शहर, हरियाली रमणीय शहर, ब्यस्त शहर, सौम्य र शान्त शहर | मान्छेहरु कुदिरहेछन | ट्रेनहरु गुडिरहेछन् | बायुयानहरु उडीरहेछन | ब्यस्त छन् सबै सबै | व्यस्तता नै यहाँको बिशेषता हो | मान्छेहरुको बिशाल भीड छ तर कोलाहल छैन अनुशासित लाग्छन सबै | 
ब्यस्त जापानको अति ब्यस्त परिबेशलाई पन्छाउदै ‘’गोल्डेन विक’’ को छुट्टीमा हामी निस्कन्छौं टोकियो भ्रमणमा | त्यस दिन सन् १९९८ को मे ४ तारिख थियो | प्रभाती शितलतासँगै हाम्रो यात्रा प्रारम्भ भयो गुन्मा प्रिफेक्चरको वता सिटीबाट | भर्जिन मिलाग्रोसा युनिभर्सिटी फिलिपिन्समा मेडिसिन्स अध्यनरत दाइ बिष्णुहरि समरको छुट्टीमा जापान घुम्न आउनु भएकाले हामी उत्साही भएका थियौं | सोही आलो उत्साहाले उफ्रँदै र उमङ्गले उचालिदैं साथी राजदेव चौधरी सहितका हामी तीन प्राणीहरु टोकियो तर्फ लाग्दछौँ ट्रेनमा |  


दिन सफा र कन्चन थियो | सुनौलो सप्ताहको रमाइलो सुगन्ध वातावरणभरि छरिएझैं लाग्दथ्यो | ट्रेनहरुमा घुइचो थियो सबै आफ्नो सप्ताहालाई अतिनै सुनौलो बनाउने होडमा कुदिरहेका थिए | युगल जोडीहरुको बैंसालु गन्धले वातावरणमा थप मादकता थपेको थियो | हरेक चोक,हरेक मोड र हरेक गल्लीमा घुम्ने फिर्ने र मोज गर्ने बैंशालु जोडीहरु टोकियो महानगरिका सुरम्य स्थलहरुमा किनै पछि पर्थे र ? आकिसिँदो आजको फेसन, आजको क्याटवाक र ग्ल्यामरको अत्याधुनिक संसारमा माइक्रो मिनिस्कर्ट र अग्ला जुत्ताहरुलाई बलैले घिसार्दै कुदिरहेका थिए आ-आफ्ना पङ्गक ब्वाई फ्रेण्डसँगै |खैरो कपाल, कानमा मुन्द्री, डिङ्गो बुट र अमेरिकन ह्याट लगाएर ‘काउ ब्वाई’ बन्ने होडमा जापानी युवा पिढीहरु धेरै अघि छन् संसारमा | उनीहरलाई आफ्नो साधन सम्पन्नताले साथ दिएको छ प्रतिस्प्रधामा उत्रिन | 

जापानका हरियाली रमणीय ग्रामीण बस्तीहरु , सुन्दर फाँटहरुमा लहराईरहेका बालीनालीहरु तिनमा कार्यरत किसानहरु, खेतका गराहरुलाई बीचबीचमा चिरेर बनाईएका फराकिला बाटाहरु | योजनाबद्ध ग्रामीण बस्तीहरु सबै सबैलाई आफ्नो २ घण्टा लामो ट्रेन यात्रामा आँखाभरि संगाल्दै र सजाउँदै हामीहरु मध्यान्हमा टोकियो आइपुग्छौ | टोकियो टावरमा पुग्ने रुट साथी देबेन्द्र दाहालजीबाट टेलिफोन मार्फत थाहा पाएपछि हामीहरु फुर्तिसाथ अघि बढ्दछौं | जापानी भाषा बोल्न जानेपछि त्यति गाह्रो हुदैन कसैलाई पनि तत्र त सोद्दै र खोज्दै अँग्रेजी बोल्नेहरुलाई पर्दछ फसादै | प्रायः जापानिजहरु अँग्रेजी बोल्न डराउछन | ‘’ एगो वा चोत्तो वाकरानाइ ने ‘’ (अँग्रेजी बोल्न अलि जान्दिन ) भन्दै हात हल्लाउदै दौडिन्छन सबै | अनि पर्दैन फसाद नौला पर्यटकहरुलाई | ट्रेन कुदिरहेको छ | मान्छेहरुको भीड समुन्द्रझैं बगिरहेको छ सलल्ल | कोहि रोकिदैनन | फुर्सतै छैन कसैलाई | ट्रेन समात्ने चटारो | काममा पुग्ने र घरमा फर्कने हतारो | चारैतिर जापानिज अनाउन्समेन्ट सुनिन्छ | बहुत थोरै अँग्रेजी सूचनाहरु देखिन्छन | यहाँसम्मकी टोकियो महानगरीमा समेत | 

यस्ता धेरै भाषिक अप्ठ्याराहरुलाई दूध भात खाएझैं बिगत तीन बर्षदेखि पचाउदै आएका चौधरीजीलाई र मलाई बल्ल मजा आयो | जापानी भाषामा सोध्न खोज्न पाउँदा खेरि | त्यसो त जापानीहरु पर्यटकका प्रति बिनम्र देखिन्छन | कसैको सोधाईमा नम्रताले  हाइ / सो देसु ( हो हजुर ! ) भन्दै ढाडै कुप्र्याएर शिर झुकाउनु  जापानीहरुको संस्कृति नै हो | यस्तै बिनम्र संस्कृतिका धनी र आफ्नो काम र कर्तव्यमा अत्यन्तै इमान्दार, लगनशील कर्मशील जापानीहरुको अहोरात्र कार्य व्यस्तताले नै आज जापान दुनियाँको अघि एउटा सबैभन्दा बिकसित रास्ट्रका रुपमा आफूलाई उभ्याउन सफल भएको छ | यसको गुह्य रहस्यका प्रति जापानीहरु स्वयम्  जापानीहरु भन्ने गर्दछन् – ‘’वि आर नट अ मेन एन इकोनामिकल एनिमल , वि आर लाइक अ बिजी मसिन, रोबोट एण्ड कम्प्युटर |’’

कुनै पनि देश बन्न र बनाउनकालागि हरेक व्यक्ति व्यक्तिबीचको जाग्रत इक्षा शक्ति सबैभन्दा ठूलो साधन रहेछ | राज्य व्यवस्था, सरकार र सरकारी प्रबृत्ति त केवल साध्य मात्र रहेछन् | चालिसको दशकमा   अमेरिकी बम प्रहारले क्षत बिक्षत जापानको हिरोशिमा र नागाशाकी मात्र नभएर प्रथम र दोश्रो बिश्वोयुद्धको तीतो यथार्थ सबैलाई स्वीकारेको जापानले प्रतिसोध र बिनासको बाटोलाई चटक्कै बिर्सेर पुनर्निर्माण र शान्तिको पक्षमा आफूलाई पुनर्स्थापित गरेर बिश्वोलाई देखाई दियो | अल्प समयमै एउटा औधोगिक, एउटा बिकसित जापानको नयाँ आकर्षक स्वरूप सुम्पेर | 

जापानीहरुको रास्ट्र पुनर्निर्माणको  यो एउटा महान सन्देश, यो एउटा महाभियान आज हरेक विकासोन्मुख रास्ट्रका लागि अनन्त प्रेरणाको स्रोत भएको छ | देश बनाउने महायज्ञमा साँच्चै लाग्ने हो भने जापानीहरुझैँ इमान्दारपूर्वक खट्ने प्रण सबैले गर्नु पर्ने समय आएको छ | 

अपरान्हको १२ बज्नु भन्दा केहि अघि हामी ट्रेनबाट उत्रिएर टोकियो टावरतिर बढ्यौँ पैदलै | शहरमा लामो घुइचो देखिन्थ्यो टावरतर्फ बढ्दै गरेको | हामी तीन भाइ नेपालीहरु हातमा टोकियो टावरको सचित्र गाइड बुक लिएर हानियौँ त्यतै तर्फ | त्यहीं नजिकैको सानो स्टलवाला रेस्टुरेन्टमा एउटी जापानिज बुढी हजुरआमाको सौजन्यमा केहि जापानिज परिकारहरु उदरस्थ गरेपछि बल्ल भोको पेटले शान्ति महसुस गरेथ्यो | मेरी बास्स्स्सै !! जापानीहरुको लाइन थियो लगभग सवा किमी लामो टावरमा चढ्नकालागि | दोहोरो व्यवस्था थियो इलिभेटर र भर्याङ्गको | बलियाबाङ्गाहरु उक्लन्थे भर्याङ्गबाटै | धेरै इलिभेटरबाटै माथि पुग्दथे | इलिभेटरको लामो लाइनमा एकाध घण्टा कुर्नु भन्दा भर्याङ्गकै छोटो बाटो उपर्युक्त ठानेर हामी पनि उक्लियौँ टोकियो टावर माथि क्रमसः | टावरको इन्ट्रान्समै टावरको प्रतीक लोगो लकेट र एउटा जानकारीमूलक सानो लेटरप्याड उपहार स्वरुप स्वीकार्दै हामी टावरमाथि उक्लि रह्यौँ उक्लि रहयौं | स्याँस्याँ र फ्याँ फ्याँको दम फुलाई पनि एउटा रमाइलो अनुभव भएथ्यो टोकियो टावरको मनोरम सुन्दरतालाई आफ्ना आँखामा कैद गर्न पाउँदा | एउटा भूस्वर्ग झैं लाग्दथ्यो टोकियो टावरको ३३३ मिटर अग्लो उचाईमा आफूलाई पाउँदा | त्यसदिन हामी टोकियोको आकाशमा थियौँ | संसारको ठूलो अग्लो टावरमा थियौँ | टोकियोको शिरमा उभिएर बिशाल महानगरी देख्दा लाग्थ्यो संसारको बैभव र विकास कहाँ पुगिसक्यो भन्ने कुरा | यस्तै बेलामा चसक्क देश दोख्दो रहेछ तुलनामा | झट्ट सम्झना आयो स्मृतिमा  कतै पढेको एउटा पंक्ति – 
‘’मान्छेले कति गरिसक्यो पिइसक्यो ब्रह्माण्डनै तनतनी !
हाम्रा बाउन अझ मक्ख छन् छामी जनै टुपी कन्दनी !!’’
चारैतिर सुन्दर लागेथ्यो सबै सबै | अग्ला अग्ला भवनहरु लामबद्ध गाडीहरु , योजनाबद्ध शहरका बीचमानै प्रफुल्ल हुने हरियाली रमणीय दृश्य | बिशाल नील समुन्द्र , माउन्ट फुजिको उज्यालो चम्काईले आफ्नो सगरमाथा सम्झायो | बिश्वोको छानो, हाम्रो हिमशिखर नेपालीमात्रको एकल स्वाभिमान | 
पहिले हामी पुग्यौँ मेन अब्जरभेटरीको १५०मि. उचाइमा | चारैतिर दृष्टि लगायौँ | खुसीले गद्गद् हुँदै दुर्विन लगाएर देखिने शहरको सन्निकट विशालता लोभलाग्दो देखिन्थ्यो सबैलाई | टावरमाथि रहेका स-साना टी कफी स्टलहरु | स-साना सोभिनियर सपहरु | आइसक्रिम पसलहरु सेवामा तम्तयार थिए | हामीले पनि आइसक्रिम खायौँ टोकियो टावरको थाप्लोमा | त्यस माथिको २५० मिटरको स्पेसल अब्जरभेटरीमा देखिने मनोरम दृश्यले हरेकलाई आल्हादित बनाउथ्यो | टावरको उचाइमा आफ्ना कुचिहरु समाएर आकिर्तिमा रङ्ग भर्ने कलाकारहरु ब्यस्त देखिन्थे सबैको सम्झनाकालागि टोकियो टावरको | 

यो एउटा सामान्य दृस्याबलोकनीय टावर मात्र नभएर एउटा बिशाल कला संस्कृतिको जगेर्नास्थल समेत भएको तथ्य त्यँहाको भौतिक  सुबिधा सम्पन्नताले बताइरहेको थियो | पहिलो तलामा टोकियो टावर एक्कोरियम र त्यसमा जम्मा गरिएका ५० हजार, ८०० थरिका बिभिन्न माछाहरुको सङ्कलन थियो | दोश्रो तलामा सपिङ्ग आर्किड, रेस्टुरेन्ट र टी कफी रुम देखिन्थ्यो | तेश्रोतलामा संसारका प्रसिद्ध व्यक्तिहरुका चित्रकृतिहरु झुन्डिएका थिए | चौथो तलामा ट्रीक आर्ट ग्यालरी  र त्यसमा ब्यस्त कलाकारहरु अर्को तलामा सरकारी सूचना र डिस्प्ले सेन्टरहरु रहेका छन् टोकियो टावरमा | 

टावरको सबैभन्दामाथि लाइटनिंग रडका अतिरिक्त जापानमा ब्यस्त रहेका सबै रेडियो तथा टिभी स्टेसनका ट्रान्समिटिङ्ग एन्टेनाहरु र १४ वटा बोर्ड कास्ट सिग्नलहरु राखिएको छ | संसार प्रसिद्ध आइफल टावर भन्दा १३ मिटर अग्लो टोकियो टावर सन् १९५८ बाट निर्माण शुरु गरिएको थियो | यसको वजन ४००० टन छ र यो आइफल टावर भन्दा ३००० टन कम वजनदार छ |   सेतो र सुन्तला रङ्गमा चम्कने सुन्दर टोकियो टावरको हरेक पार्टहरुमा १६४ वटा फ्लुड लाइट जडान गरिएको छ | टावर जाडोमा सुन्तला रङ्गको र गर्मीमा सेतो रङ्गको प्रकाशमा चम्किने गर्दछ | आकाशबाट देखिने टोकियो टावरको मनोरम रात्रि दृश्य हेर्न लाएकको देखिन्छ | 
यसरि आँखाभरि मनभरि र तनभरि टोकियो टावरको माधुर्यलाई सिनित्त पिएर हामीले नचाहेरै पनि बिदायिका हातहरु हल्लाउनै पर्यो अन्ततः इलिभेटर जापानिज बैनीको समुस्कान ‘’आरिगातो गोजैमास्ता’’ लाई स्वीकार्दै बिदा भयौँ त्यस दिन | 
सायोनारा टोकियो टावर !
सायोनारा टोकियो महानगरी !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा बिमोचन मासिकको असार बि.सं. २०५८ को अङ्कमा छापिएको थियो )


Friday, December 14, 2012


नेपालकी मनकामना र फिलिपिन्सकी मनाओग देबी !
रामहरि पौड्याल
हरेक देश हरेक समाजका आ-आफ्नै धार्मिक सांस्कृतिक मूल्य र मान्यताहरु रहेका हुन्छन | आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो चाहाड बहाड र आफ्ना इस्ट देव देवीलाई मान्ने, पुज्ने चलन पनि आ-आफ्नै पाइए पनि तिनमा मुलभूत समानता पनि सन्निहित भएको हुँदो रहेछ | धार्मिक हिसाबले चाहे कोहि हिन्दू होस् या मुस्लिम, चाहे कोहि क्रिस्चियन होस् या बुद्धिस्ट | जे भएपनि धर्मको मूल सार एउटै छ | फरक प्रक्रियामा होला मन्दिर र मस्जितको , चर्च र गुम्बाको | पूजा र भक्तिका तौर तरिका हरुमा देखिने बिभितता गौण बिषय हुन इश्वोरिय आस्था र बिश्वाशका सामू | इश्वोर एउटै छ, सन्देश एउटै छ | फरक भूगोलको , फरक भाषा र संस्कृतिको फरक मात्र बोलाउने नाम र बिचारको |

त्यस दिन १९ डिसेम्बर १९९९ को दिन थियो | शताब्दि परिवर्तनको संघारमा क्रिश्चियनहरुको महान पर्व क्रिसमस संघारमा मुस्कुराई रहेको थियो | शुभकामनाका थाली भरि स्वागतका सगुनहरु बोकेर | अर्कातिर तीतामीठा, राम्रा नराम्रा सबै खाले अनुभव र अनुभूतिलाई स्मृतिको गर्भगृहमा छाडेर बिदाईको सँघारमा अलबिदाका हातहरु हल्लाउदै थियो सन् १९९९ ले | प्रकृतिको मनोरम मादकता वातावरण भरि छरिएझैं प्रतीत हुन्थ्यो पूर्वी एसियाको सुन्दर राष्ट्र फिलिपिन्स भरिनै |  हामीहरु सानकार्लोस सिटीको एकान्त कुनामा रहेको सान प्यात्रो स्ट्रीटको एउटा पारिवारिक घरमा थियौँ | बिगत केहि दिनदेखि नै सहरमा क्रिश्मसको धुमधाम देखिन्छ | झिलिमिली बत्तिहरुले सजाईएका सुन्दर क्रिश्मस ट्रीहरु | बन्द छन् बिध्यालय र बिश्वोबिध्यालयहरु | क्रिश्मस देखि नयाँ बर्षसम्मकालागि | हामीहरुकोमा दशैं तिहार सम्म बिदा भएझैं |
अघिल्लो बेलुकै हामी दुई भाइ आमन्त्रित थियौँ तीर्थाटनकालागि | फिलिपिन्सको राजधानी मनिलाबाट २०५ किमी उत्तर पश्चिममा अवस्थित प्रसिद्ध मनाओग देबी (Lady of Manaoag) को दर्शनार्थ | बिहानीको चीसो प्रभाती हार्दिकतासँगै हामीहरु एकत्रित भयौँ | घरबेटी लारीको आफ्नै जीप्निमा खचाखच थिए फिलिपिनो आफन्तहरु | ७२ बर्षे हजुरामादेखी २.५ बर्षे पनातिनी लिसेद सम्मका ठूलै डप्फा हाजिर थियो | खानपिनकालागि रासनपानीको जोहो अघिल्लै दिनदेखि चल्दै थियो धुमधाम सँग |  फिलिपिनोहरुको त्यो पारिवारिक भिडमा हामी दुई भाइ बिदेशीहरु हजारौं माइलको भौगोलिक दूरतामा पनि रमाइरहेकै थियौं | उनीहरको उत्कट खुसी र उमङ्गले हामीलाई उर्जा थपेको थियो | मेरो नजिकै रोजी थिइ र बिष्णु दाइसँग रिया | हामीहरुलाई गाइड गर्दै थिए बाटाभरि ती दुई दीदी बैनीहरु | तिनीहरु कम्प्युटर साइन्सका बिध्यार्थी थिए | देबी मनाओग प्रतिको फिलिपिनो बिश्वासलाई प्रस्ट्याउदै रियाले बताई –
 ‘’ दियर ह्याभबिन  मेनी साइटसींगस् बट टू द फिलिपिनो फेथफूल – नोथिंग केन पोसिब्ली कम्पेयर टू आओर लेडी अफ मनाओग |’’ (धेरै नै दर्शनीय राम्रा घुम्ने ठाउँहरु भए पनि फिलिपिनो बिश्वास अनुसार  सायद देबी मनाओगसँग तुलना योग्य केहि पनि छैन ) |

हामिकाहाँ मनकामना देबीको मन्दिरमा गएर पूजा गर्ने सबैको मनोकामना पूरा हुने बिश्वास लिएझैं फिलिपिन्समा पनि मनाओग देबीको पवित्र चर्चमा पुग्ने सबैको मनोरथ पूरा हुने बिश्वास लिईदों रहेछ | सत्रौं शताव्दीबाट सुरु भएको मनाओग देबीको कथा प्रसङ्गका सम्बन्दमा फिलिपिनो समाजमा अनेक थरिका आश्चर्य जादुगरी बिश्वासहरु  बताइने गरिन्छ | मनाओग देबीको दर्शन र त्यहाँको पवित्र पानीलाई घरघरमा लगिँदो रहेछ ‘मेडिकेटेड वाटर’ भन्दै ग्यालन भरि उठाएर | हामीले पनि पियौं त्यो पबित्र पानी भावपूर्ण श्रद्धाले अन्जुली भरि भरि | हजारौं मान्छेले खचाखच भरिएको मनाओग क्षत्र हरियाली रमणीय वृक्ष र लतिकाहरुले सजिएको सुन्दर तपोवन नै प्रतीत हुन्थ्यो | बिशाल चर्चको बीचबाट फादर (गुरु)ले आधा तगालोग र आधा अँग्रेजीमा बाइबलको सन्देश सुनाइरहेको सुनिन्थ्यो माइकमा – ‘’ ओहो ! गड !! आइ एम अलोएज  विथ यु फर एभर एण्ड एभर !’’ ( प्रभु ! म सधैं हजुरकै भक्तिमा हुने छु सधैं सधैं !)

हामीकाहाँ मन्दिरमा धुप दीप प्रज्ज्वोलित गरिएझैं यहाँ पनि चर्चहरुमा मैन बत्ति बाल्दा रहेछन | हामीले पनि क्यान्डील किन्यौँ र जलायौं रोजी र रियाले गरेझैं आफ्नो मनोकामना पुराहोस भनेर | तलपट्टि डोनेसन बक्स रहेछ र त्यहाँ सबैले आफना मनोकामनाहरु लेडी अफ मनाओगको नाममा लेखेर यथासक्य दक्षिणा सहित खसाल्नु पर्ने रहेछ | सबैले त्यसै गरे अरुहरुले गरेजस्तै | हामी दुई भाइ वरै बसेर त्यो मानवीय बिश्वास र सद्भावलाई हेरिरह्यौँ एकाग्र भएर |
रोजीले कराउदै भनी – ‘’ रामू यु डन्ट लाइक टू विस एनिथिंग ? मैले प्रतिउत्तरमा रमाइलो जवाफ दिएँ –‘’ मेरा लागि एउटी राम्री गर्लफ्रेन्ड विस गर्दे !” स्विकारोक्तीमा मुस्कुराई रोजी ओ रियल्ली ! के म राम्री छैन र ?
फिलिपिनो परिवारको संयुक्त परिवारमा देखिएको त्यो लोभलाग्दो पारिवारिक  एकता आपसी प्रेम र सामिप्यता हाम्रा लागि समेत एउटा नमूना पाठ लागि रह्यो | एउटै यात्रामा कति उत्साहले जुटेका छन् एउटै परिवारका दाजुभाइ, दिदीबैनी, बुहारी भान्जा, भान्जी, ज्वाई, फुपू पुसाजु सबै समेटिएका छन् | हांसीरहेका छन् रमाइलो गरिरहेका छन् पिइ रहेका छन् | कुनै प्रकारको बिभेद र आडम्बर देखिदैन त्यहाँ |
यसरि दिनभरी रमाइलो आध्यात्मिक मनाओग देबीको दर्शनले पुलकित हुदै तेइ रमाइलो क्षत्रमा मीठो खानपिन सकेर हामी फर्कियौँ त्यस दिन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा दशकौं अघि बिमोचन मासिकमा प्रकासित भएको थियो )


Thursday, November 29, 2012

साइबर प्रेम


साइबर प्रेम
रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक,चितवन

जीतबहादुर दम्पती दङ्ग छन् छोरी एलीनाले कम्प्युटर चलाएको देखेर | एउटी छोरीको खुसीकोलागि उनीहरु जस्तोसुकै मूल्य चुकाउन पनि तम्तयार देखिन्छन | अभाव, असजिलो केहो ? एलिनालाई थाहै भएन | भाग्यमानी ब्रिटिश लाहुरेकी एकल सुपुत्री एलीना घले |
भर्खरै टीन एजको अन्तिम सँघार नाप्दै गरेकी बिबिएस अध्ययनरत एलीनालाई देख्नेहरु आफ्ना लोभी नजरहरु घुमाई हाल्थे सुटुक्क | युबाहरुको धुकधुकी बढाउने चपल सुन्दरताकी धनी ऊ अग्ली,पातली, टिमिक्क जीउडालकी थिइ | उसका कामिनी हाउभाउले हर कोहीलाई बिमोहित परिछाडथ्यो सहजै |
‘’गाँठवाला लाहुरेकी एक्ली छोरी’’
छिमेकका तरुण मनहरुको कानेखुसी |
‘’फ्रयाङ्क पनि छ मोरी !’’
‘’फेसनको दुनियाको एउटा प्रयोग !
...................................... |’’
कलेजका ठिटाहरुका बीच चल्ने प्रतिक्रिया दिनहुँ |
धेरै युवाहरुको भित्रैसम्म कम्पन छुटाउने अपार सुन्दरता, हाउभाउ कटाक्ष र तज्ज्यन्न आभूषणआदिले सजिएर हिंड्ने उसका स्वतन्त्र दिनचर्या थिए | हरेक दिन कम्प्युटर इन्टरनेटसँग २/४ घण्टे क्रिडा | इमेल, ग्रीटीङ्ग, एम.एस.एन./ याहु, स्काईप/ फेसबुक, ट्विटर उनका कम्पुटर भाषा थिए | पढ्नमा पनि तेजनै थिई ऊ आफैजस्ती | सुन्दरता र बौद्धिकता एकै ठाउँमा घोप्टिएको थियो |
‘‘हेर्नुस न ड्याडी  यो मेरो नयाँ साथी ‘
ममी !  ममी !! यो मेरो साथी आकाश !’’
फेसबुकका भित्ताहरुमा हराउछे एलिना |
मेरो  सपनाको राजकुमार !
ड्रिम ब्वाई !!
कस्तो हेन्डसम ! उसका प्रोफाइल हेर्छे | फ्रेन्ड लिस्ट हेर्छे | दङ्ग पर्छे ऊ |
आँखा चिम्लेर चुम्म ! चुम्म !! उसको फोटोलाई मायाँ बर्साउँछे |
यस्ता धेरै फेशबुक फ्रेन्डहरुसँग उसको हिमचिम | तिनीहरुका नयाँ नयाँ फोटोहरुको कमेन्ट | म्यासेज, च्याट, स्काईप गफ उसका व्यस्ततम दैनन्दिनी थिए | नयाँ नयाँ साथीहरु | नयाँ नयाँ च्याटमेटहरु | केटी भन्दा केटाहरु नै बढी थिए उसंग नजिकिन खोज्नेहरु |
जीतबहादुर दम्पतीलाई यी सबै कुराको त्यति साह्रो भेउ थिएन | उनीहरु दङ्ग थिए छोरीको कम्प्युटर क्रेज, च्याटिङ्ग, फेसबुक, इमेल, स्काईपमा देखिने नयाँ नयाँ ठिटाहरु छोरीका साथीहरु वा ब्वाइफ्रेण्ड ? त्यसैमा भावी ज्वाँईको स्वरुप देख्ने सोझा लाहुरे दम्पती |
करोढपति लाउरेकी एक्ली सन्तान एलीना फूलजस्तै सुकोमल सुरम्य | चन्चल र चतुर थिई ऊ | बिहानको क्याम्पस, दिउसोको कम्प्युटर क्लास, साँझको ल्यांग्योइज उसका अति ब्यस्त जीवनहरु थिए | बिबिएस सकेर अमेरिका जाने उसका सपनाहरु ..... | त्यसकालागि गर्नु पर्ने तयारीको चटारो टफेल प्रिपरेसन, जीआरइ, जिम्याट उसलाई भ्याई नभ्याई थियो |
जीतबहादुर दम्पतीका जीवनका उत्तरार्धहरु रमाइला देखिए आफूले सोचे र साँचेझैं | लाहुरे जीवनका दुखद दिनहरु फ्ल्यास ब्याकमा परेका छन् | ‘‘छोरीले राम्रै पढेकी छ ‘ एलिनाको बुवा ! हैन त्यो अचेल कम्पुटरमा अलि बढी चल्छे |’’ माथिल्लो तलामा एक्लै सुत्छे राति राती टेलिभिजनमा के के हेर्छे कुन्नि ?’’
‘उसको पढाइ नै त्यस्तो कम्पुटरको जमाना क्या !’
हाम्रो जस्तो खरीले पाटीमा लेख्ने जमाना हो र ?’
घले दम्पतीका सम्बादहरु.............|
‘’अलि बिचार गर्नुपर्छ त्यस्तो राती राती सम्म कम्पुटरमा के के गर्छ ? बाऊ चाहिंको निर्देशन |
खैर हामीले के जान्ने ? त्यस्तो केहि नहोला ! छोरी सानै छ भर्खरै बीस पनि लागिसकेकी छैन |
त्यै त हो बिग्रने बेला | गाउँमा भए रोदिमै टाप कस्ने बेला | तुलाई मैले भगाएको १७ बर्षमै होइन म्ले ?’’
काँको घान्द्रुकको गाउँ काँको काठमान्डौ सहर एउटै हुन्छ ऐलेको जमाना ? तिमिपनि ब्यर्थैको शंका गर्छौ बुढा |
जाडोले जमेको कुक्रुक्क काठमान्डौ बिगत केहि दिनदेखि सेतै हुस्सुमा हराएको छ | कस्तो जाडो यसपालिको | कसरि जान्छे त्यो छोरी क्याम्पस खोइ यस्तो जाडोमा ? आमाको स्वाभाविक स्नेह !
सिरकभित्र गुम्सिएका छन् घले दम्पती अवेर सम्मै | एलीना बिहानै उठी चिया  नास्ता खाइवरी क्याम्पस पुगि |
हाइ एलिना !
हेलो एलिना !!
सर्बत्र ऊ छाएकी छ साथीहरु माझ |
समयको चक्र चलिनै रह्यो यसरी नै सधैं |
बाटोमा हिडिरहेकी एलीना टक्क अडिएर हेरी अनौठो आवाज आएतिर –
 ‘’ हाई एलीना !
   म  आकाश !!’’
 अस्ति च्याटमा भेटेको | नाइस मिटिङ्ग यु स्वीटी ! म डनबोस्कोमा पढ्दै छु बिबिएस  थर्ड इयर | ‘’ ए हो बाइ मलाई अलि हतार छ | ऊ छिटो छिटो पाइला चाल्छे |
बेलुका अनलाइनमा फेरी आकाश भेटिन्छ | उही कुरा हाइ एलीना ! हेलो स्वीटी !! डार्लिंग !!! आइ लाइक यु , आइ लभ यु , डाइ फर यु | उ त्यति खुल्दिन सुरुमै तथापि अनलाईन भेटको क्रम चलिनै रहन्छ हप्तौं सम्म | महिनौं सम्म |

आकाश डेटिङ्ग चाहन्छ एलीनासँग नगरकोट जाने | उसले सहमति दिन्न तुरुन्तै | ऊ बिक्षिप्त हुन्छ पागलप्रेमी बनेर एकोहोरो प्रेममा |

साथीहरुले उचालिदिन्छ्न –

 ‘’ हेर आकाश ! करोढपति लाहुरे बाउकी एक्ली छोरी हो | पट्याइस भने त तेरो जीन्दगी बदलियो | त्यो बङ्गला त्यो कार त्यो सारा वैभवको मालिक तँ नै हुन्छस यार | न छोड त्यो एलिनालाई यार | क्या चीज छ ! किड्न्याप गर्नु परे पनि हामी छौं तलाई साथ दिने | साथी भाइहरुले उसलाई उचालिरहे उकासी रहे |
‘संसर्गजा दोषा गुणा भवन्ति !’
प्रेममा अन्धो भए र त होइन पागलपनको पराकास्टा जागेरै नै होला | एलिनाले आफूलाई बाल नदिएको झोकमा आकाशले एकबिहानै एलिनाको बाटो कुरेर पिपलबोटको सुनसान चौतारीमा निर्घात चक्कु प्रहार गर्छ | बिचरीको प्राणपखेरु रगतको आहालमा डुबेर सदाकालागी उड्छ |
‘’इन्टरनेटबाट प्रेमको नाटक रच्ने युवकले युबतीको हत्त्या !
फेसबुक फ्रेन्डको क्रेजी युवकले दिनदाहाडै युबतीको हत्या !!
लाहुरेकी छोरीलाई सम्पतिको लोभमा प्रेमको नाटक रचि हत्या !!!’’

कतिले त यो घटना मावोबादिले गराएको सम्म  भन्न पनि पछि परेनन् | शान्ति शुरक्षा, जीउ धनको संरक्षणको चर्को आवाज उठ्यो सहर भरि | जुलुस भयो हत्यारालाई कार्यबाहीको माग सहित | टायर बालिए सडक तताइए कलेजका बिध्यार्थीहरु ओइरिए |
पत्रिकाहरु र मिडियाहरुमा हाइलाइट निउज भए हप्तौं सम्म |

तथापि बिचरा ! घले दम्पतीको सर्वश्वो गुमेको थियो | बुढेशकालको एउटै सहारा त्यसरी टुटेपछि |
बिहे गरेर झ्याइ झ्याई बाजा बजाएर छोरीलाई बिदायी गर्ने बेलामा उल्टै उन्नाइस बर्षकै कलकलाउदो यौवनमै अर्घुं गर्नु पर्दा कुन चाहिं बाऊ आमाको मन नरोला र ?
जीवन दुर्घटनै दुर्घटनाकाबीच संजोगले बाँचिने खेल | फोकल्याण्डको टापुमा, इराकको बग्दातमा शत्रुको त्यत्रो गोलाबारीमा बाँचेका उनले आफ्नै आँगनमा आफ्नी त्यति राम्री फूलजस्ती छोरीलाई बचाउन नसकेको गुनासो सबैलाई सुनाइ रहे | सपनाका महलहरु तासको घरझैं यसरि गर्ल्याम्म ढलेर पनि जीवनमा बाच्नु पर्ने सहनु पर्ने जीवनका नमीठा सत्यहरु |

जीवनभर निको नहुने एउटा दुखद घाऊ तिनीहरुको मुटुमा लागेको थियो | ‘’के छोरीको यो अल्पायुमै मृत्यु त्यही कम्प्युटरको इन्टरनेट क्रेजनै थियो त ? के त्यो युबक प्रेमी हो या पागल ?? यदि त्यसले हाम्री छोरीलाई साँचो प्रेम गरेका भए किन रोपेन त्यो छुरी आफैलाई र भाग्यो त्यसरी ...........???’’
आजको बिशौ सदीको उपहार मानिने साइबर संस्कृतिले ल्याएको एउटा तीतो छाडापन घले दम्पतीका मनभरी बेदनाका भूमरी बनेर घुमि रहेको छ | घुमि रहेको छ | कहिल्यै नमेटिने घाऊ बनेर |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत