चाहिन्न केही अरु
रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक
चितवन, नेपाल
माया यो भुमिको बढेर अतिनै बल्झिन्छ है यो मन
छाया यो उनको चढेर मनमा तडपिन्छ है यो तन
लेखूँ यो कविता भनेर उनकै तम्सिन्छ है यो मन
अर्काको भुमिमा बसेर अहिले कल्पिन्छ है यो मन
१
तिर्खा यो मनमा छ दूर घरको एक्लै रहेको म छु
मान्छे छन् तर भाव भिन्न छ सबै देख्दिन आफ्नो कुनै
भाषा भिन्न छ भेष भिन्न दुनियाँ संसार बेग्लै छ है
देशै भिन्न छ छिन्न भिन्न छ मुटु संस्कार बेग्लै छ है
२
मान्छे छन् छनता तथापि तिनमा आफन्तको भाव खै ?
मान्छे कै हुलमा म खिन्न हुन् गै एक्लै भएछु कठै !
मायामा पनि यो अहो कृत्रिमता देखिन्छ यो के भयो ?
माया यो मुटुको समस्त जनको माटो कहाँ गै गयो ?
३
खाई खेलि बढेर मस्त डुलने गाउँ कता हो हरे ?
आफ्नो प्यार बिसाउने हृदयको ठाउं कता गो हरे ?
आफ्नै रक्त पनी प्रेबाहित हुने माटो त टाढा छरे
आफ्नै गन्ध मिली सुवासित हुने बास्ना त्यतै चल्छ रे
४
बस्ने छैन मता पराइ घरमा जस्तै हओस उन्नति
पस्ने छैन अरु पराइ भूमिमा कस्तै हओस दुर्गति
सागै सिस्नु ठिकै बरु मकनता खानै परे बन तरु
आफ्नै देश बिशे छ मोह ममता चाहिन्न केही अरु
५
माया यो भुमिको बढेर यसरी तड्पिन्छ मेरो मुटु
छाया यो उनको चढेर मुटुमा तडपिन्छ भै भुटभुटु
लेखूँ यो कबिता भने तर अहो ! लेखूँ म के के भन ?
अर्काको भुमिमा बसेर टुहुरो कल्पिन्छ मात्रै मन
६
सम्प्रति : संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment