नदी
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
आफ्नै प्रवाहमा बगेको छ नदी,
निरन्तर निरन्तर अनन्ताकाशमा !
कुनै रीष द्वेष पाल्दैन नदी,
सुन्दर हिमशिखरबाट प्रस्फुटित
आफ्नु मुहान, आफ्नो मूल कहिल्येई बिर्सदैन नदी |
बाटामा कतिले फोहोरहरु हालिदिउन,
बाटामा कतिले अवरोधहरु तेर्स्याईदिउन,
तथापि कहिलेइ भुल्दैन बाटो,
रीष द्वेष कसैलाई पाल्दैन साटो |
बगेको छ आफ्नो लक्षमा,
पहाडका खोंचहरुमा,
हिमालका टारिहरुमा रमाउदै,
बुर्कुसी मार्दै नदी जव पुग्दछ सभ्य मान्छेका बस्तीहरुमा,
अनि सुरु हुन्छ पवित्र हिमनदी माथिको मानवीय बलत्कार |
खान्दानिहरु आफ्ना काला कर्तुतहरुलाई,
आफ्ना कलुषित भावनाहरुलाई नदीमा पोखिदिन्छन |
हेर्दा हेर्दै सुन्दर बाग्मती ढलमती बन्छे |
हेर्दा हेर्दै सुन्दर सेती मानवबस्ती देखि तर्सिएर लुक्दै भासिदिन्छे |
सफा मनोहर नदीमा आफ्नै मलमुत्र बिसर्जन गरेर,
सभ्यताको पाठ घोकाउछ मान्छे,
शालिनताको गीत गाउँछ मान्छे |
तथापि यी सबैलाई नीलकण्ठ बनेर पचाउदै,
आफ्नै अनन्त प्रवाहमा बहदै लक्ष कहिल्येई भुल्दैन नदी |
दोष अरुलाई थोपरेर आफू चोखो बन्ने ढोंग कहिल्येई गर्दैन नदी मान्छे झैँ |
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment