Labels

Total Pageviews

Sunday, December 16, 2012

आहा ! संस्कृति र सभ्यताको त्यो फूलवारीले कस्को मन नाचोर्ली ?


आहा ! संस्कृति र सभ्यताको त्यो फूलवारीले कस्को मन नाचोर्ली ?

रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

जापानको टोकियो महानगरी संसारको महङ्गा शहरहरुमध्येको एक शहर, सुन्दर शहर, हरियाली रमणीय शहर, ब्यस्त शहर, सौम्य र शान्त शहर | मान्छेहरु कुदिरहेछन | ट्रेनहरु गुडिरहेछन् | बायुयानहरु उडीरहेछन | ब्यस्त छन् सबै सबै | व्यस्तता नै यहाँको बिशेषता हो | मान्छेहरुको बिशाल भीड छ तर कोलाहल छैन अनुशासित लाग्छन सबै | 
ब्यस्त जापानको अति ब्यस्त परिबेशलाई पन्छाउदै ‘’गोल्डेन विक’’ को छुट्टीमा हामी निस्कन्छौं टोकियो भ्रमणमा | त्यस दिन सन् १९९८ को मे ४ तारिख थियो | प्रभाती शितलतासँगै हाम्रो यात्रा प्रारम्भ भयो गुन्मा प्रिफेक्चरको वता सिटीबाट | भर्जिन मिलाग्रोसा युनिभर्सिटी फिलिपिन्समा मेडिसिन्स अध्यनरत दाइ बिष्णुहरि समरको छुट्टीमा जापान घुम्न आउनु भएकाले हामी उत्साही भएका थियौं | सोही आलो उत्साहाले उफ्रँदै र उमङ्गले उचालिदैं साथी राजदेव चौधरी सहितका हामी तीन प्राणीहरु टोकियो तर्फ लाग्दछौँ ट्रेनमा |  


दिन सफा र कन्चन थियो | सुनौलो सप्ताहको रमाइलो सुगन्ध वातावरणभरि छरिएझैं लाग्दथ्यो | ट्रेनहरुमा घुइचो थियो सबै आफ्नो सप्ताहालाई अतिनै सुनौलो बनाउने होडमा कुदिरहेका थिए | युगल जोडीहरुको बैंसालु गन्धले वातावरणमा थप मादकता थपेको थियो | हरेक चोक,हरेक मोड र हरेक गल्लीमा घुम्ने फिर्ने र मोज गर्ने बैंशालु जोडीहरु टोकियो महानगरिका सुरम्य स्थलहरुमा किनै पछि पर्थे र ? आकिसिँदो आजको फेसन, आजको क्याटवाक र ग्ल्यामरको अत्याधुनिक संसारमा माइक्रो मिनिस्कर्ट र अग्ला जुत्ताहरुलाई बलैले घिसार्दै कुदिरहेका थिए आ-आफ्ना पङ्गक ब्वाई फ्रेण्डसँगै |खैरो कपाल, कानमा मुन्द्री, डिङ्गो बुट र अमेरिकन ह्याट लगाएर ‘काउ ब्वाई’ बन्ने होडमा जापानी युवा पिढीहरु धेरै अघि छन् संसारमा | उनीहरलाई आफ्नो साधन सम्पन्नताले साथ दिएको छ प्रतिस्प्रधामा उत्रिन | 

जापानका हरियाली रमणीय ग्रामीण बस्तीहरु , सुन्दर फाँटहरुमा लहराईरहेका बालीनालीहरु तिनमा कार्यरत किसानहरु, खेतका गराहरुलाई बीचबीचमा चिरेर बनाईएका फराकिला बाटाहरु | योजनाबद्ध ग्रामीण बस्तीहरु सबै सबैलाई आफ्नो २ घण्टा लामो ट्रेन यात्रामा आँखाभरि संगाल्दै र सजाउँदै हामीहरु मध्यान्हमा टोकियो आइपुग्छौ | टोकियो टावरमा पुग्ने रुट साथी देबेन्द्र दाहालजीबाट टेलिफोन मार्फत थाहा पाएपछि हामीहरु फुर्तिसाथ अघि बढ्दछौं | जापानी भाषा बोल्न जानेपछि त्यति गाह्रो हुदैन कसैलाई पनि तत्र त सोद्दै र खोज्दै अँग्रेजी बोल्नेहरुलाई पर्दछ फसादै | प्रायः जापानिजहरु अँग्रेजी बोल्न डराउछन | ‘’ एगो वा चोत्तो वाकरानाइ ने ‘’ (अँग्रेजी बोल्न अलि जान्दिन ) भन्दै हात हल्लाउदै दौडिन्छन सबै | अनि पर्दैन फसाद नौला पर्यटकहरुलाई | ट्रेन कुदिरहेको छ | मान्छेहरुको भीड समुन्द्रझैं बगिरहेको छ सलल्ल | कोहि रोकिदैनन | फुर्सतै छैन कसैलाई | ट्रेन समात्ने चटारो | काममा पुग्ने र घरमा फर्कने हतारो | चारैतिर जापानिज अनाउन्समेन्ट सुनिन्छ | बहुत थोरै अँग्रेजी सूचनाहरु देखिन्छन | यहाँसम्मकी टोकियो महानगरीमा समेत | 

यस्ता धेरै भाषिक अप्ठ्याराहरुलाई दूध भात खाएझैं बिगत तीन बर्षदेखि पचाउदै आएका चौधरीजीलाई र मलाई बल्ल मजा आयो | जापानी भाषामा सोध्न खोज्न पाउँदा खेरि | त्यसो त जापानीहरु पर्यटकका प्रति बिनम्र देखिन्छन | कसैको सोधाईमा नम्रताले  हाइ / सो देसु ( हो हजुर ! ) भन्दै ढाडै कुप्र्याएर शिर झुकाउनु  जापानीहरुको संस्कृति नै हो | यस्तै बिनम्र संस्कृतिका धनी र आफ्नो काम र कर्तव्यमा अत्यन्तै इमान्दार, लगनशील कर्मशील जापानीहरुको अहोरात्र कार्य व्यस्तताले नै आज जापान दुनियाँको अघि एउटा सबैभन्दा बिकसित रास्ट्रका रुपमा आफूलाई उभ्याउन सफल भएको छ | यसको गुह्य रहस्यका प्रति जापानीहरु स्वयम्  जापानीहरु भन्ने गर्दछन् – ‘’वि आर नट अ मेन एन इकोनामिकल एनिमल , वि आर लाइक अ बिजी मसिन, रोबोट एण्ड कम्प्युटर |’’

कुनै पनि देश बन्न र बनाउनकालागि हरेक व्यक्ति व्यक्तिबीचको जाग्रत इक्षा शक्ति सबैभन्दा ठूलो साधन रहेछ | राज्य व्यवस्था, सरकार र सरकारी प्रबृत्ति त केवल साध्य मात्र रहेछन् | चालिसको दशकमा   अमेरिकी बम प्रहारले क्षत बिक्षत जापानको हिरोशिमा र नागाशाकी मात्र नभएर प्रथम र दोश्रो बिश्वोयुद्धको तीतो यथार्थ सबैलाई स्वीकारेको जापानले प्रतिसोध र बिनासको बाटोलाई चटक्कै बिर्सेर पुनर्निर्माण र शान्तिको पक्षमा आफूलाई पुनर्स्थापित गरेर बिश्वोलाई देखाई दियो | अल्प समयमै एउटा औधोगिक, एउटा बिकसित जापानको नयाँ आकर्षक स्वरूप सुम्पेर | 

जापानीहरुको रास्ट्र पुनर्निर्माणको  यो एउटा महान सन्देश, यो एउटा महाभियान आज हरेक विकासोन्मुख रास्ट्रका लागि अनन्त प्रेरणाको स्रोत भएको छ | देश बनाउने महायज्ञमा साँच्चै लाग्ने हो भने जापानीहरुझैँ इमान्दारपूर्वक खट्ने प्रण सबैले गर्नु पर्ने समय आएको छ | 

अपरान्हको १२ बज्नु भन्दा केहि अघि हामी ट्रेनबाट उत्रिएर टोकियो टावरतिर बढ्यौँ पैदलै | शहरमा लामो घुइचो देखिन्थ्यो टावरतर्फ बढ्दै गरेको | हामी तीन भाइ नेपालीहरु हातमा टोकियो टावरको सचित्र गाइड बुक लिएर हानियौँ त्यतै तर्फ | त्यहीं नजिकैको सानो स्टलवाला रेस्टुरेन्टमा एउटी जापानिज बुढी हजुरआमाको सौजन्यमा केहि जापानिज परिकारहरु उदरस्थ गरेपछि बल्ल भोको पेटले शान्ति महसुस गरेथ्यो | मेरी बास्स्स्सै !! जापानीहरुको लाइन थियो लगभग सवा किमी लामो टावरमा चढ्नकालागि | दोहोरो व्यवस्था थियो इलिभेटर र भर्याङ्गको | बलियाबाङ्गाहरु उक्लन्थे भर्याङ्गबाटै | धेरै इलिभेटरबाटै माथि पुग्दथे | इलिभेटरको लामो लाइनमा एकाध घण्टा कुर्नु भन्दा भर्याङ्गकै छोटो बाटो उपर्युक्त ठानेर हामी पनि उक्लियौँ टोकियो टावर माथि क्रमसः | टावरको इन्ट्रान्समै टावरको प्रतीक लोगो लकेट र एउटा जानकारीमूलक सानो लेटरप्याड उपहार स्वरुप स्वीकार्दै हामी टावरमाथि उक्लि रह्यौँ उक्लि रहयौं | स्याँस्याँ र फ्याँ फ्याँको दम फुलाई पनि एउटा रमाइलो अनुभव भएथ्यो टोकियो टावरको मनोरम सुन्दरतालाई आफ्ना आँखामा कैद गर्न पाउँदा | एउटा भूस्वर्ग झैं लाग्दथ्यो टोकियो टावरको ३३३ मिटर अग्लो उचाईमा आफूलाई पाउँदा | त्यसदिन हामी टोकियोको आकाशमा थियौँ | संसारको ठूलो अग्लो टावरमा थियौँ | टोकियोको शिरमा उभिएर बिशाल महानगरी देख्दा लाग्थ्यो संसारको बैभव र विकास कहाँ पुगिसक्यो भन्ने कुरा | यस्तै बेलामा चसक्क देश दोख्दो रहेछ तुलनामा | झट्ट सम्झना आयो स्मृतिमा  कतै पढेको एउटा पंक्ति – 
‘’मान्छेले कति गरिसक्यो पिइसक्यो ब्रह्माण्डनै तनतनी !
हाम्रा बाउन अझ मक्ख छन् छामी जनै टुपी कन्दनी !!’’
चारैतिर सुन्दर लागेथ्यो सबै सबै | अग्ला अग्ला भवनहरु लामबद्ध गाडीहरु , योजनाबद्ध शहरका बीचमानै प्रफुल्ल हुने हरियाली रमणीय दृश्य | बिशाल नील समुन्द्र , माउन्ट फुजिको उज्यालो चम्काईले आफ्नो सगरमाथा सम्झायो | बिश्वोको छानो, हाम्रो हिमशिखर नेपालीमात्रको एकल स्वाभिमान | 
पहिले हामी पुग्यौँ मेन अब्जरभेटरीको १५०मि. उचाइमा | चारैतिर दृष्टि लगायौँ | खुसीले गद्गद् हुँदै दुर्विन लगाएर देखिने शहरको सन्निकट विशालता लोभलाग्दो देखिन्थ्यो सबैलाई | टावरमाथि रहेका स-साना टी कफी स्टलहरु | स-साना सोभिनियर सपहरु | आइसक्रिम पसलहरु सेवामा तम्तयार थिए | हामीले पनि आइसक्रिम खायौँ टोकियो टावरको थाप्लोमा | त्यस माथिको २५० मिटरको स्पेसल अब्जरभेटरीमा देखिने मनोरम दृश्यले हरेकलाई आल्हादित बनाउथ्यो | टावरको उचाइमा आफ्ना कुचिहरु समाएर आकिर्तिमा रङ्ग भर्ने कलाकारहरु ब्यस्त देखिन्थे सबैको सम्झनाकालागि टोकियो टावरको | 

यो एउटा सामान्य दृस्याबलोकनीय टावर मात्र नभएर एउटा बिशाल कला संस्कृतिको जगेर्नास्थल समेत भएको तथ्य त्यँहाको भौतिक  सुबिधा सम्पन्नताले बताइरहेको थियो | पहिलो तलामा टोकियो टावर एक्कोरियम र त्यसमा जम्मा गरिएका ५० हजार, ८०० थरिका बिभिन्न माछाहरुको सङ्कलन थियो | दोश्रो तलामा सपिङ्ग आर्किड, रेस्टुरेन्ट र टी कफी रुम देखिन्थ्यो | तेश्रोतलामा संसारका प्रसिद्ध व्यक्तिहरुका चित्रकृतिहरु झुन्डिएका थिए | चौथो तलामा ट्रीक आर्ट ग्यालरी  र त्यसमा ब्यस्त कलाकारहरु अर्को तलामा सरकारी सूचना र डिस्प्ले सेन्टरहरु रहेका छन् टोकियो टावरमा | 

टावरको सबैभन्दामाथि लाइटनिंग रडका अतिरिक्त जापानमा ब्यस्त रहेका सबै रेडियो तथा टिभी स्टेसनका ट्रान्समिटिङ्ग एन्टेनाहरु र १४ वटा बोर्ड कास्ट सिग्नलहरु राखिएको छ | संसार प्रसिद्ध आइफल टावर भन्दा १३ मिटर अग्लो टोकियो टावर सन् १९५८ बाट निर्माण शुरु गरिएको थियो | यसको वजन ४००० टन छ र यो आइफल टावर भन्दा ३००० टन कम वजनदार छ |   सेतो र सुन्तला रङ्गमा चम्कने सुन्दर टोकियो टावरको हरेक पार्टहरुमा १६४ वटा फ्लुड लाइट जडान गरिएको छ | टावर जाडोमा सुन्तला रङ्गको र गर्मीमा सेतो रङ्गको प्रकाशमा चम्किने गर्दछ | आकाशबाट देखिने टोकियो टावरको मनोरम रात्रि दृश्य हेर्न लाएकको देखिन्छ | 
यसरि आँखाभरि मनभरि र तनभरि टोकियो टावरको माधुर्यलाई सिनित्त पिएर हामीले नचाहेरै पनि बिदायिका हातहरु हल्लाउनै पर्यो अन्ततः इलिभेटर जापानिज बैनीको समुस्कान ‘’आरिगातो गोजैमास्ता’’ लाई स्वीकार्दै बिदा भयौँ त्यस दिन | 
सायोनारा टोकियो टावर !
सायोनारा टोकियो महानगरी !!

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा बिमोचन मासिकको असार बि.सं. २०५८ को अङ्कमा छापिएको थियो )


Friday, December 14, 2012


नेपालकी मनकामना र फिलिपिन्सकी मनाओग देबी !
रामहरि पौड्याल
हरेक देश हरेक समाजका आ-आफ्नै धार्मिक सांस्कृतिक मूल्य र मान्यताहरु रहेका हुन्छन | आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो चाहाड बहाड र आफ्ना इस्ट देव देवीलाई मान्ने, पुज्ने चलन पनि आ-आफ्नै पाइए पनि तिनमा मुलभूत समानता पनि सन्निहित भएको हुँदो रहेछ | धार्मिक हिसाबले चाहे कोहि हिन्दू होस् या मुस्लिम, चाहे कोहि क्रिस्चियन होस् या बुद्धिस्ट | जे भएपनि धर्मको मूल सार एउटै छ | फरक प्रक्रियामा होला मन्दिर र मस्जितको , चर्च र गुम्बाको | पूजा र भक्तिका तौर तरिका हरुमा देखिने बिभितता गौण बिषय हुन इश्वोरिय आस्था र बिश्वाशका सामू | इश्वोर एउटै छ, सन्देश एउटै छ | फरक भूगोलको , फरक भाषा र संस्कृतिको फरक मात्र बोलाउने नाम र बिचारको |

त्यस दिन १९ डिसेम्बर १९९९ को दिन थियो | शताब्दि परिवर्तनको संघारमा क्रिश्चियनहरुको महान पर्व क्रिसमस संघारमा मुस्कुराई रहेको थियो | शुभकामनाका थाली भरि स्वागतका सगुनहरु बोकेर | अर्कातिर तीतामीठा, राम्रा नराम्रा सबै खाले अनुभव र अनुभूतिलाई स्मृतिको गर्भगृहमा छाडेर बिदाईको सँघारमा अलबिदाका हातहरु हल्लाउदै थियो सन् १९९९ ले | प्रकृतिको मनोरम मादकता वातावरण भरि छरिएझैं प्रतीत हुन्थ्यो पूर्वी एसियाको सुन्दर राष्ट्र फिलिपिन्स भरिनै |  हामीहरु सानकार्लोस सिटीको एकान्त कुनामा रहेको सान प्यात्रो स्ट्रीटको एउटा पारिवारिक घरमा थियौँ | बिगत केहि दिनदेखि नै सहरमा क्रिश्मसको धुमधाम देखिन्छ | झिलिमिली बत्तिहरुले सजाईएका सुन्दर क्रिश्मस ट्रीहरु | बन्द छन् बिध्यालय र बिश्वोबिध्यालयहरु | क्रिश्मस देखि नयाँ बर्षसम्मकालागि | हामीहरुकोमा दशैं तिहार सम्म बिदा भएझैं |
अघिल्लो बेलुकै हामी दुई भाइ आमन्त्रित थियौँ तीर्थाटनकालागि | फिलिपिन्सको राजधानी मनिलाबाट २०५ किमी उत्तर पश्चिममा अवस्थित प्रसिद्ध मनाओग देबी (Lady of Manaoag) को दर्शनार्थ | बिहानीको चीसो प्रभाती हार्दिकतासँगै हामीहरु एकत्रित भयौँ | घरबेटी लारीको आफ्नै जीप्निमा खचाखच थिए फिलिपिनो आफन्तहरु | ७२ बर्षे हजुरामादेखी २.५ बर्षे पनातिनी लिसेद सम्मका ठूलै डप्फा हाजिर थियो | खानपिनकालागि रासनपानीको जोहो अघिल्लै दिनदेखि चल्दै थियो धुमधाम सँग |  फिलिपिनोहरुको त्यो पारिवारिक भिडमा हामी दुई भाइ बिदेशीहरु हजारौं माइलको भौगोलिक दूरतामा पनि रमाइरहेकै थियौं | उनीहरको उत्कट खुसी र उमङ्गले हामीलाई उर्जा थपेको थियो | मेरो नजिकै रोजी थिइ र बिष्णु दाइसँग रिया | हामीहरुलाई गाइड गर्दै थिए बाटाभरि ती दुई दीदी बैनीहरु | तिनीहरु कम्प्युटर साइन्सका बिध्यार्थी थिए | देबी मनाओग प्रतिको फिलिपिनो बिश्वासलाई प्रस्ट्याउदै रियाले बताई –
 ‘’ दियर ह्याभबिन  मेनी साइटसींगस् बट टू द फिलिपिनो फेथफूल – नोथिंग केन पोसिब्ली कम्पेयर टू आओर लेडी अफ मनाओग |’’ (धेरै नै दर्शनीय राम्रा घुम्ने ठाउँहरु भए पनि फिलिपिनो बिश्वास अनुसार  सायद देबी मनाओगसँग तुलना योग्य केहि पनि छैन ) |

हामिकाहाँ मनकामना देबीको मन्दिरमा गएर पूजा गर्ने सबैको मनोकामना पूरा हुने बिश्वास लिएझैं फिलिपिन्समा पनि मनाओग देबीको पवित्र चर्चमा पुग्ने सबैको मनोरथ पूरा हुने बिश्वास लिईदों रहेछ | सत्रौं शताव्दीबाट सुरु भएको मनाओग देबीको कथा प्रसङ्गका सम्बन्दमा फिलिपिनो समाजमा अनेक थरिका आश्चर्य जादुगरी बिश्वासहरु  बताइने गरिन्छ | मनाओग देबीको दर्शन र त्यहाँको पवित्र पानीलाई घरघरमा लगिँदो रहेछ ‘मेडिकेटेड वाटर’ भन्दै ग्यालन भरि उठाएर | हामीले पनि पियौं त्यो पबित्र पानी भावपूर्ण श्रद्धाले अन्जुली भरि भरि | हजारौं मान्छेले खचाखच भरिएको मनाओग क्षत्र हरियाली रमणीय वृक्ष र लतिकाहरुले सजिएको सुन्दर तपोवन नै प्रतीत हुन्थ्यो | बिशाल चर्चको बीचबाट फादर (गुरु)ले आधा तगालोग र आधा अँग्रेजीमा बाइबलको सन्देश सुनाइरहेको सुनिन्थ्यो माइकमा – ‘’ ओहो ! गड !! आइ एम अलोएज  विथ यु फर एभर एण्ड एभर !’’ ( प्रभु ! म सधैं हजुरकै भक्तिमा हुने छु सधैं सधैं !)

हामीकाहाँ मन्दिरमा धुप दीप प्रज्ज्वोलित गरिएझैं यहाँ पनि चर्चहरुमा मैन बत्ति बाल्दा रहेछन | हामीले पनि क्यान्डील किन्यौँ र जलायौं रोजी र रियाले गरेझैं आफ्नो मनोकामना पुराहोस भनेर | तलपट्टि डोनेसन बक्स रहेछ र त्यहाँ सबैले आफना मनोकामनाहरु लेडी अफ मनाओगको नाममा लेखेर यथासक्य दक्षिणा सहित खसाल्नु पर्ने रहेछ | सबैले त्यसै गरे अरुहरुले गरेजस्तै | हामी दुई भाइ वरै बसेर त्यो मानवीय बिश्वास र सद्भावलाई हेरिरह्यौँ एकाग्र भएर |
रोजीले कराउदै भनी – ‘’ रामू यु डन्ट लाइक टू विस एनिथिंग ? मैले प्रतिउत्तरमा रमाइलो जवाफ दिएँ –‘’ मेरा लागि एउटी राम्री गर्लफ्रेन्ड विस गर्दे !” स्विकारोक्तीमा मुस्कुराई रोजी ओ रियल्ली ! के म राम्री छैन र ?
फिलिपिनो परिवारको संयुक्त परिवारमा देखिएको त्यो लोभलाग्दो पारिवारिक  एकता आपसी प्रेम र सामिप्यता हाम्रा लागि समेत एउटा नमूना पाठ लागि रह्यो | एउटै यात्रामा कति उत्साहले जुटेका छन् एउटै परिवारका दाजुभाइ, दिदीबैनी, बुहारी भान्जा, भान्जी, ज्वाई, फुपू पुसाजु सबै समेटिएका छन् | हांसीरहेका छन् रमाइलो गरिरहेका छन् पिइ रहेका छन् | कुनै प्रकारको बिभेद र आडम्बर देखिदैन त्यहाँ |
यसरि दिनभरी रमाइलो आध्यात्मिक मनाओग देबीको दर्शनले पुलकित हुदै तेइ रमाइलो क्षत्रमा मीठो खानपिन सकेर हामी फर्कियौँ त्यस दिन |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत नियात्रा दशकौं अघि बिमोचन मासिकमा प्रकासित भएको थियो )


Thursday, November 29, 2012

साइबर प्रेम


साइबर प्रेम
रामहरि पौड्याल
भरतपुर १२/१९३, बसन्त चोक,चितवन

जीतबहादुर दम्पती दङ्ग छन् छोरी एलीनाले कम्प्युटर चलाएको देखेर | एउटी छोरीको खुसीकोलागि उनीहरु जस्तोसुकै मूल्य चुकाउन पनि तम्तयार देखिन्छन | अभाव, असजिलो केहो ? एलिनालाई थाहै भएन | भाग्यमानी ब्रिटिश लाहुरेकी एकल सुपुत्री एलीना घले |
भर्खरै टीन एजको अन्तिम सँघार नाप्दै गरेकी बिबिएस अध्ययनरत एलीनालाई देख्नेहरु आफ्ना लोभी नजरहरु घुमाई हाल्थे सुटुक्क | युबाहरुको धुकधुकी बढाउने चपल सुन्दरताकी धनी ऊ अग्ली,पातली, टिमिक्क जीउडालकी थिइ | उसका कामिनी हाउभाउले हर कोहीलाई बिमोहित परिछाडथ्यो सहजै |
‘’गाँठवाला लाहुरेकी एक्ली छोरी’’
छिमेकका तरुण मनहरुको कानेखुसी |
‘’फ्रयाङ्क पनि छ मोरी !’’
‘’फेसनको दुनियाको एउटा प्रयोग !
...................................... |’’
कलेजका ठिटाहरुका बीच चल्ने प्रतिक्रिया दिनहुँ |
धेरै युवाहरुको भित्रैसम्म कम्पन छुटाउने अपार सुन्दरता, हाउभाउ कटाक्ष र तज्ज्यन्न आभूषणआदिले सजिएर हिंड्ने उसका स्वतन्त्र दिनचर्या थिए | हरेक दिन कम्प्युटर इन्टरनेटसँग २/४ घण्टे क्रिडा | इमेल, ग्रीटीङ्ग, एम.एस.एन./ याहु, स्काईप/ फेसबुक, ट्विटर उनका कम्पुटर भाषा थिए | पढ्नमा पनि तेजनै थिई ऊ आफैजस्ती | सुन्दरता र बौद्धिकता एकै ठाउँमा घोप्टिएको थियो |
‘‘हेर्नुस न ड्याडी  यो मेरो नयाँ साथी ‘
ममी !  ममी !! यो मेरो साथी आकाश !’’
फेसबुकका भित्ताहरुमा हराउछे एलिना |
मेरो  सपनाको राजकुमार !
ड्रिम ब्वाई !!
कस्तो हेन्डसम ! उसका प्रोफाइल हेर्छे | फ्रेन्ड लिस्ट हेर्छे | दङ्ग पर्छे ऊ |
आँखा चिम्लेर चुम्म ! चुम्म !! उसको फोटोलाई मायाँ बर्साउँछे |
यस्ता धेरै फेशबुक फ्रेन्डहरुसँग उसको हिमचिम | तिनीहरुका नयाँ नयाँ फोटोहरुको कमेन्ट | म्यासेज, च्याट, स्काईप गफ उसका व्यस्ततम दैनन्दिनी थिए | नयाँ नयाँ साथीहरु | नयाँ नयाँ च्याटमेटहरु | केटी भन्दा केटाहरु नै बढी थिए उसंग नजिकिन खोज्नेहरु |
जीतबहादुर दम्पतीलाई यी सबै कुराको त्यति साह्रो भेउ थिएन | उनीहरु दङ्ग थिए छोरीको कम्प्युटर क्रेज, च्याटिङ्ग, फेसबुक, इमेल, स्काईपमा देखिने नयाँ नयाँ ठिटाहरु छोरीका साथीहरु वा ब्वाइफ्रेण्ड ? त्यसैमा भावी ज्वाँईको स्वरुप देख्ने सोझा लाहुरे दम्पती |
करोढपति लाउरेकी एक्ली सन्तान एलीना फूलजस्तै सुकोमल सुरम्य | चन्चल र चतुर थिई ऊ | बिहानको क्याम्पस, दिउसोको कम्प्युटर क्लास, साँझको ल्यांग्योइज उसका अति ब्यस्त जीवनहरु थिए | बिबिएस सकेर अमेरिका जाने उसका सपनाहरु ..... | त्यसकालागि गर्नु पर्ने तयारीको चटारो टफेल प्रिपरेसन, जीआरइ, जिम्याट उसलाई भ्याई नभ्याई थियो |
जीतबहादुर दम्पतीका जीवनका उत्तरार्धहरु रमाइला देखिए आफूले सोचे र साँचेझैं | लाहुरे जीवनका दुखद दिनहरु फ्ल्यास ब्याकमा परेका छन् | ‘‘छोरीले राम्रै पढेकी छ ‘ एलिनाको बुवा ! हैन त्यो अचेल कम्पुटरमा अलि बढी चल्छे |’’ माथिल्लो तलामा एक्लै सुत्छे राति राती टेलिभिजनमा के के हेर्छे कुन्नि ?’’
‘उसको पढाइ नै त्यस्तो कम्पुटरको जमाना क्या !’
हाम्रो जस्तो खरीले पाटीमा लेख्ने जमाना हो र ?’
घले दम्पतीका सम्बादहरु.............|
‘’अलि बिचार गर्नुपर्छ त्यस्तो राती राती सम्म कम्पुटरमा के के गर्छ ? बाऊ चाहिंको निर्देशन |
खैर हामीले के जान्ने ? त्यस्तो केहि नहोला ! छोरी सानै छ भर्खरै बीस पनि लागिसकेकी छैन |
त्यै त हो बिग्रने बेला | गाउँमा भए रोदिमै टाप कस्ने बेला | तुलाई मैले भगाएको १७ बर्षमै होइन म्ले ?’’
काँको घान्द्रुकको गाउँ काँको काठमान्डौ सहर एउटै हुन्छ ऐलेको जमाना ? तिमिपनि ब्यर्थैको शंका गर्छौ बुढा |
जाडोले जमेको कुक्रुक्क काठमान्डौ बिगत केहि दिनदेखि सेतै हुस्सुमा हराएको छ | कस्तो जाडो यसपालिको | कसरि जान्छे त्यो छोरी क्याम्पस खोइ यस्तो जाडोमा ? आमाको स्वाभाविक स्नेह !
सिरकभित्र गुम्सिएका छन् घले दम्पती अवेर सम्मै | एलीना बिहानै उठी चिया  नास्ता खाइवरी क्याम्पस पुगि |
हाइ एलिना !
हेलो एलिना !!
सर्बत्र ऊ छाएकी छ साथीहरु माझ |
समयको चक्र चलिनै रह्यो यसरी नै सधैं |
बाटोमा हिडिरहेकी एलीना टक्क अडिएर हेरी अनौठो आवाज आएतिर –
 ‘’ हाई एलीना !
   म  आकाश !!’’
 अस्ति च्याटमा भेटेको | नाइस मिटिङ्ग यु स्वीटी ! म डनबोस्कोमा पढ्दै छु बिबिएस  थर्ड इयर | ‘’ ए हो बाइ मलाई अलि हतार छ | ऊ छिटो छिटो पाइला चाल्छे |
बेलुका अनलाइनमा फेरी आकाश भेटिन्छ | उही कुरा हाइ एलीना ! हेलो स्वीटी !! डार्लिंग !!! आइ लाइक यु , आइ लभ यु , डाइ फर यु | उ त्यति खुल्दिन सुरुमै तथापि अनलाईन भेटको क्रम चलिनै रहन्छ हप्तौं सम्म | महिनौं सम्म |

आकाश डेटिङ्ग चाहन्छ एलीनासँग नगरकोट जाने | उसले सहमति दिन्न तुरुन्तै | ऊ बिक्षिप्त हुन्छ पागलप्रेमी बनेर एकोहोरो प्रेममा |

साथीहरुले उचालिदिन्छ्न –

 ‘’ हेर आकाश ! करोढपति लाहुरे बाउकी एक्ली छोरी हो | पट्याइस भने त तेरो जीन्दगी बदलियो | त्यो बङ्गला त्यो कार त्यो सारा वैभवको मालिक तँ नै हुन्छस यार | न छोड त्यो एलिनालाई यार | क्या चीज छ ! किड्न्याप गर्नु परे पनि हामी छौं तलाई साथ दिने | साथी भाइहरुले उसलाई उचालिरहे उकासी रहे |
‘संसर्गजा दोषा गुणा भवन्ति !’
प्रेममा अन्धो भए र त होइन पागलपनको पराकास्टा जागेरै नै होला | एलिनाले आफूलाई बाल नदिएको झोकमा आकाशले एकबिहानै एलिनाको बाटो कुरेर पिपलबोटको सुनसान चौतारीमा निर्घात चक्कु प्रहार गर्छ | बिचरीको प्राणपखेरु रगतको आहालमा डुबेर सदाकालागी उड्छ |
‘’इन्टरनेटबाट प्रेमको नाटक रच्ने युवकले युबतीको हत्त्या !
फेसबुक फ्रेन्डको क्रेजी युवकले दिनदाहाडै युबतीको हत्या !!
लाहुरेकी छोरीलाई सम्पतिको लोभमा प्रेमको नाटक रचि हत्या !!!’’

कतिले त यो घटना मावोबादिले गराएको सम्म  भन्न पनि पछि परेनन् | शान्ति शुरक्षा, जीउ धनको संरक्षणको चर्को आवाज उठ्यो सहर भरि | जुलुस भयो हत्यारालाई कार्यबाहीको माग सहित | टायर बालिए सडक तताइए कलेजका बिध्यार्थीहरु ओइरिए |
पत्रिकाहरु र मिडियाहरुमा हाइलाइट निउज भए हप्तौं सम्म |

तथापि बिचरा ! घले दम्पतीको सर्वश्वो गुमेको थियो | बुढेशकालको एउटै सहारा त्यसरी टुटेपछि |
बिहे गरेर झ्याइ झ्याई बाजा बजाएर छोरीलाई बिदायी गर्ने बेलामा उल्टै उन्नाइस बर्षकै कलकलाउदो यौवनमै अर्घुं गर्नु पर्दा कुन चाहिं बाऊ आमाको मन नरोला र ?
जीवन दुर्घटनै दुर्घटनाकाबीच संजोगले बाँचिने खेल | फोकल्याण्डको टापुमा, इराकको बग्दातमा शत्रुको त्यत्रो गोलाबारीमा बाँचेका उनले आफ्नै आँगनमा आफ्नी त्यति राम्री फूलजस्ती छोरीलाई बचाउन नसकेको गुनासो सबैलाई सुनाइ रहे | सपनाका महलहरु तासको घरझैं यसरि गर्ल्याम्म ढलेर पनि जीवनमा बाच्नु पर्ने सहनु पर्ने जीवनका नमीठा सत्यहरु |

जीवनभर निको नहुने एउटा दुखद घाऊ तिनीहरुको मुटुमा लागेको थियो | ‘’के छोरीको यो अल्पायुमै मृत्यु त्यही कम्प्युटरको इन्टरनेट क्रेजनै थियो त ? के त्यो युबक प्रेमी हो या पागल ?? यदि त्यसले हाम्री छोरीलाई साँचो प्रेम गरेका भए किन रोपेन त्यो छुरी आफैलाई र भाग्यो त्यसरी ...........???’’
आजको बिशौ सदीको उपहार मानिने साइबर संस्कृतिले ल्याएको एउटा तीतो छाडापन घले दम्पतीका मनभरी बेदनाका भूमरी बनेर घुमि रहेको छ | घुमि रहेको छ | कहिल्यै नमेटिने घाऊ बनेर |

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

Sunday, September 30, 2012

अविरल यात्रा : रोमान्चक द्वन्दहरु


अविरल यात्रा : रोमान्चक द्वन्दहरु
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
रात सफा र कन्चन देखिन्छ, स्निग्ध र सुकुमार । पूर्णचन्द्रले त्यसमा शोभा थपेको छ, ताराहरु सुन्दर फूलझैं फक्रेका छन् । मलाई हम्मे परिरहेको छ छुट्याउन – दिन हो कि रात ? बादलका कुनै काला धब्बाहरु देखिदैनन् अनन्तसम्मै । पूरै आकाश हाँसेको छ पूर्णयौवना तरुनी झैं प्रतीक्षामा कसैको । शीशाका ठूला झ्यालहरुबाट ओछ्यानमा पल्टेरै देखिरहेछु – पर आसिकागाको हरियो डाँडो आकाशको छतमुनि थकाइ मरिरहेको छ मौन । नजिकैको बलिङ्ग सेन्टरको प्रतीक ‘बलिङ्गको नमूना’ अग्लाइमा ठड्याइएको स्तम्भमा सफेद हाँसिरहेको छ । सम्मुखको हुलाक घर, जोडिएको रेल्वे लाइन, सेवनको कन्भिनियन्स स्टोर, आसिकागा मायाबासी रुटका ब्यस्त सडक यथास्थानमै दृष्टिगोचर भएका छन् मेरा आँखाभरि।
यी सबै दृस्यहरुले पुलकित बन्दै कतिखेर निदाएछु थाहै भएन । बिहान ६ बजे नै कलबेलको चर्को ‘टीरीरी’ ले ब्युझें । सात बजेनै कम्पनीमा पुगिसक्नु पर्ने  कामको लागि । जाडोको समयमा न्यानो सिरक फाल्न कति गार्हो ?
‘तर के गर्ने उठ्न मन न लगेर ?’
जापान हो यो । समयको सही महत्वोलाई बुझ्ने र देख्ने ठाउँ । आफ्नो काम, आफ्नो कर्तब्य, अफ्नो ब्यापार, आफ्नो व्यवसाय सबैलाई टाइम पङ्गचुयालिटिले कसी राख्ने ठाउँ । दश मिनेट छिटो पुग्नु पर्ने पन्ध्र मिनेट ढिलो फर्कनु पर्ने  निर्दिस्ट समयभन्दा हरेक व्यक्तिले आफ्नो काममा । यहाँको मौलिक परम्परा हो देश भरिको ।
टिङ्ग टिङ्ग ! टिङ्ग टिङ्ग !! टिङ्ग टिङ्ग !!!
रेल्बे क्रसिंगको पूर्व संकेत ।
छनछन छनछन ! छनछन छनछन !! रेल आइपुग्छ बिहानको ।
रेलको आवाज । क्रसिंगको पूर्व संकेत । मेरा साथीहरु हुन अपार्टमेन्टसँग जोडिएका ।हरेक घण्टामा आउने र जाने रेलको आवाजले मेरो एकान्ततालाई चिर्ने गर्दछन दिनहुँ । म अभ्यस्त भइसकेको छु यी आवाजहरुसँग । ट्रेनको यो अविरल यात्रा जीवनझैं लाग्दछ मलाई । ‘ट्रेन बास्तबमै देश बिकासको पूर्वाधार रहेछ, यातायात व्यवस्थाको छिटो छरितो, सुलभ र सस्तो ।
तर यो सुबिधा हामीले भोग्ने कहिले ?’ मेरो मनमा सधैं खेल्ने कुरा हो । 
मेरो मनमा सधैं खेल्ने कुरा हो ।
हामीलाई बुलेट ट्रेन चाहिएको थिएन, जे.आर. लाइनमा चल्ने दुईवटा मात्र ट्रेन पूर्व मेची देखि पश्चिम महाकालीसम्म चलाईदिए देशले काँचुली फेर्दो हो यातायात क्षत्रमा ।
प्रजातन्त्रका दश बर्षहरु पनि निरासामै भएर बिते । रोजगारी छैन, उधोगधन्दाहरु खुल्दैनन, युवा युवतीहरु बिदेशियेकाछौँ यसरि । देश बिपन्न हुनुको पीडा भोग्दै छु यतिखेर ।
‘ओहो, ढिलो भैसकेछ कम्पनि पुग्नलाई !’
कम्पनीको युनिफोर्म, काने टोपी, टिफिन क्यरियेर सबै बोकेर म निक्लन्छु आफ्नो कर्मस्थलतिर – चडेर पुरानो साइकल ।
बिहानको सुरम्य शान्ति छाएको छ आशिकागा शहरभरि । बाहनको त्यति ठूलो घुइचो लागिसकेको छैन । फाट्टफुट्ट कारहरु, लामो र चौडा सडक मौन लम्पसार देखिन्छ थाकेर हाँसे झैं । म साइकलमा फुर्तिसाथ कुदिरहेकै थिएँ, पोस्ट अफिसको टर्निंगमा अटोमेटिक ट्राफिक सिग्नललाई पर्खेर रोकिएँ एकैछिन ।मेरा आँखाहरु अलिपरबाट पैदल आइरहेका दुई परम सुन्दरिहरुमा परे । चौबिस बर्षको लक्काजवान मलाई पनि सुन्दरीको मोहले तानिहाल्यो ।
‘अहा, क्या मजाका च्वाँक रैछन ! कुनचाहिं देशका होलान ?’
अग्लो कद, बारुले कम्मर, साना तर चम्किला आँखाहरु, थेप्चो नाक, सुडौल तिघ्राहरु, छोटो मिनिस्कर्ट र छोटो ब्लाउजबाट प्रस्टै देखिने उन्नत सगरमाथाहरु, गहिरो नाभिस्थल, अग्ला जुत्ताहरु...........
मलाई रोमान्टिक सपनाझैं लागिरह्यो तिनीहरुको सुन्दरता,हाउभाउ र कटाक्षले बिमोहित भएर । मेरा अङ्ग- अङ्गमा एउटा मीठो काउकुती, रोम रोममा एउटा छुट्टै अनुभूति नाचिरह्यो – ती कलियुगी अप्सराहरूको नखरा ! 
म सिग्नल पास गरेर आफ्नो बाटोमा कुध्दै थिएँ, मैयाँहरुले संकेत गरे मतिरै लक्ष गरेर । म अचम्ब मान्दै रोकिएँ उनीहरुले चाहेझैं पोस्ट अफिसको छेउकै पार्किंग लटमा आफ्नो थोत्रो साइकल बिसाएर ।
‘गुड मर्निङ्ग ! आइ एम स्वीटी फ्रम फिलिपिन्स
‘आइ एम प्रीटी.......’
‘ओ रियल्ली भेरी नाइस नेम ।‘– हात मिलाउदै मैले भने ।
कोमल नारीस्पर्सले म पुलकित भएछु । सिनित्त हातहरु नरम र मसिना , समाई राखुझैँ ... । तिनिहरुको मृदु मुस्कानले मलाई पूरै घायल बनायो सजिलैसित । म पनि त बिचरो मनुवा थिएँ – भावनाहरु, मुटुहरु र चाहाहरु खुम्चाईरहने ।मनोजैबिक,मनोरसायानिक,मनोबैज्ञानिक यथार्थताहरु खुल्दा रैछन यस्तै बेलामा भत्काएर नियम, कानुन, शिक्षा र अर्तिका जन्जीरहरु ।सबै नखरा रहेछन मान्छेका अन्तरमनलाई कुण्ठित गर्ने, भ्रान्त पार्ने ।
के दुनियाँमा मान्छे जन्जीरले बाँधियो र भावनाका सामू ?  टुट्दा रहेछन, फुट्दा रहेछन भ्रमहरु सजिलैसित सुन्दरताका सामू ।
कति मर्छस् हे लाटा ! बिर्सेर रहरहरु, कुल्चेर इक्षाहरु – स्वयम अप्सराहरु अनुनय गरिरहेछन् । प्रेमालाप गर्दै सुम्सुमाउदै छन् गरेर निमन्त्रणा प्रेमाचारको ।
आफू खरानी भएर दाजुभाइ पढाएर के गर्ने.....? कसैले भनेको सुनियो नेपथ्यमा ।
‘यु आर सो नाइस गाइ ! पोइनटेड नोज !!’
अर्कीले मेरो नाक खेलाई, हात समाई, गाला चलाई.........
म स्वप्नतिरेकमा रमिरहे । भावनाका शिखरहरु उठे कन्चनजंघाझैं । म रोमान्चकारी धौलागिरि उक्लीरहें, उक्लीरहें ।बिना रोकटोक, बिना मोलतोल ।
स्वीटीका मसिना हातहरु नाक, गाला हुदैं तल तल सलबलाए चलबलाए बिस्तारै । म स्वतन्त्र प्रस्तुत भैदिएं उसका कृत्यमा र त उसले हात पुर्याई मेरो पौरुष केन्द्रमा । म उत्सर्गको महाशिखरमा पुगें । मेरो ....पक्डेरै उसले बोलाई प्रीटीलाई आँगिक आकारको बर्णन गर्दै ।
‘‘ह्व्येर इज युओर अपार्टमेन्ट ?
ह्वाट इज युओर सेलफोन नम्बर ??’’
यो उनीहरुको व्यग्र अनुनय थियो ।
मेरा स्मृतिका क्यानभासहरुमा आफ्ना कर्महरु,कर्तव्यहरू सलबलाए भर्खरैको रोमान्चकारी प्रबेगलाई चुनौती दिदै ।
मेरै कमाइमा फिलिपिन्समा डाक्टर इन्जिनियर बन्ने सपना बोकेर पढ्दै गरेका दुई दुई दाजुभाइहरु ।
नेपालमा इन्जिनियर पढ्दै गरेको अर्को भाइ ।
बुवाआमाका जीवनभरिका दुखाइहरु र मनमा मलम पट्टि गर्ने मेरा योजनाहरु । रीस गर्ने जोरिपारिहरु, आशा गर्ने दीदी बैनीहरु, भान्जा भान्जीहरु, मेरा मत्त्वाकाङ्गक्षाका बिशाल महलहरु......... ।
म चौरस्तामा थिएँ अनिर्णयको ।एकातिर रमाइलो संसार थियो, उत्कट इक्षाहरुको, चाहना र भावनाहरुको । अर्कातिर कर्महरु, कर्तव्यहरू थिए, भावी सपनाहरु थिए सुखी जीवनका, ‘नमूना परिवार’ निर्माणका रहरहरु थिए, बीचमा म थिएँ र सामू थिए साक्षात उर्बशीहरु.......
मेरो दिमागमा झड्का दिदै नेपालबाट कथाकार दीदिले लेखेको सन्देशात्मक चिठी फनन्न घुम्न थाल्यो : 
‘‘प्यारो भाइ !
अस्ति सपनामा तिमीलाई देखें धेरै दिनपछि । तिमि नेपाल फर्केछौ र मैले भेटेछु अचानक ।अहो, खुसीले कति गद्गद् हुदै मैले तिमीलाई अँगालो हालेथें मेरो प्रिय भाइ भन्दै । तर ....खोइ किन हो तिम्रो मुहारमा कान्ति  थिएन । अप्ठेरो, अनि निन्याउरो । तिमीले मलाई भनेको बाक्यले म रन्थनिदै उठेथें । तर तिमि फरक्क फर्केर हिड्यौ त्यसरी नै जसरि आएका थियौ, टेम्पो चढेर ।मेरा कानमा टिनिन्न गुन्जिरहे – ‘‘मेरो एच.आइ.भी. टेस्ट गराउनु छ ।‘’ अहो, कस्तो भीषण दुस्वप्न ! म चिच्याएँ निद्रैमा । बिहान उठेर तिम्रो नाममा पूजा पाठ गर्दिए शान्तिको कामना सहित । हे भगवान ! मेरा भाइहरुलाई सबैखाले खतराबाट मुक्त हुने आत्मबल प्रदान गर्नुहोस् ।‘’
यो सन्देश मलाई मात्र नभएर बिदेशमा बस्ने म जस्तै सबैका दाजुभाइहरुलाई एउटी असल दीदिले दिने पवन सन्देश थियो – हरेक कुकर्महरुबाट बचाउने ।
मेरा आँखा रसाए भावनात्मक चिठीको त्यो कथात्मकताले ।
फिलिपिन्समा डाक्टर पढ्दै गर्ने दाइले त प्रस्टै लेख्नुभाथ्यो – ‘’ नेपालमा एड्सको समस्या डरलाग्दो रुपमा देखा पर्दैछ । जापानमा के छ कुन्नि ! सतर्क हुनुपर्ने ठाउमा हुने नै छौ ।‘’
यी दुई चिठीहरु, आफ्ना कर्तब्य कर्मका लामा लाइनहरु सबै फनन्न चलचित्रको पर्दामा देखेझैं भएपछि मैले आफू अगाडिको क्षणिक रमाइलो संसारलाई लात हानेथें त्यस क्षण ।
‘’सरि आई उडनट लाइक टू जोइन विथ युओर एफिएर ।‘’
म कुदिरहेको थिएँ । कम्पनिमा पुग्नलाई हतार भइरहेको थियो । पूर्वी दिशाबाट सूर्य रातलाई चिर्दै उज्याला किरणहरु फैलाउदैं थिए झलमल्ल जीवनझैं उज्यालो । म साइकल पेलिरहेको थिएँ,  पेलिरहेको थिएँ  ।

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

(तात्कालिक भर्जिन मिलाग्रोसा युनिभर्सिटी, फिलिपिन्समा अध्यनरत हुँदा समकालीन साहित्य माघ-फागुन-चैत:२०५८ बर्ष १२,अङ्क २, पूर्णांक:४४ मा मेरो पहिलो कथाको रुपमा छापिएको हो )




Thursday, August 30, 2012

दु:शङ्काको घेराभित्र


दु:शङ्काको घेराभित्र
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
‘’जान्छिन आज शकुन्तला घर भनी उठ्दो छ चिन्ता अति
प्रीतिको मनमा प्रवाह बहँदा रोकिन्न आसुँ रति
हामी झैं बनावासिको पनि भयो यो गत भने यो घरि
बस्छन धैर्य गरि गृहस्थ कसरि छोरी बिदायी गरि !’’
पण्डित बाले भाका हालेर सुनाउनु भो !
जमदार बाजे बज्यैका आखाँहरु रसाए छोरी सफलाको बिदायी पछि । बातावरणको अहो ! कस्तो नीरव शून्यता । छोरी अन्माउदाको दुखद क्षण।
एउटा ठूलो भारी बिसाए जम्दार बाजेले आफ्नी कान्छी सुपुत्रीको कन्या दान पछि । मनग्य खर्च गरे बुढाले दिल खोलेर ।‘’ ज्वाईं पनि कति राम्रा सुन्दर सलक्क कति मिलेका जोडी !’’ सबैले प्रसंसा गरे ।
सत्र जोर त ताउला, गाग्री, टिभी, फ्रिज, मोटरसाइकल अरु कति कति । केटो भाग्यमानी रैछ यत्रो सम्पति र यस्ती अप्सरालाई पाउने । फेरि टाढा पनि त होइन भरतपुर – नवलपुर ।
‘’बाजेका सबै छोरी भाग्यमानी नै हुन्। जेठी साधना र माइली सजलाको पनि त कम्ति राम्रो छ । बूढाले नाजिकहुँदै च्याट्ट मिलाएर कुरा पट्टाई हाले छन् बिहेको सजिलै ।‘’ छिमेकीहरुका खासखुस चलि नै रहे हप्तौं सम्म ।
आफन्तहरुको फर्किने क्रम सुरु भयो बिहेवारी उम्काएर । सबैलाई कृतज्ञताको अभिवादन र यथोचित दान दक्षिणा सबै सम्पन्न गरे जम्दार दम्पतीले ।
‘’कम्ती त हेरिएन तर नजिकै लेख्या रैछ । भाग्यमानी छे सफला सबैभन्दा । अहो ! यो छोरीको जात सारै गार्हो । अर्काको नासो जिम्बा नलगाईन्जेल मनै पोल्ने । जवान छोरीको बाउ बन्न पनि ठूलै हिम्मत गर्नु पर्ने । यसो तल माथि परे औला ठड्याउने कुरौटे समाज ।‘’ बूढा बुढीको खासखुस चलि रह्यो अवेर सम्म ।
‘’अव छोराको पीर छैन पण्डित बाजे मनोजले आफैँ ल्याए पनि के गर्ने त ? पानी चल्ने जातसम्म ल्याई दिए भयो । हामी दुई बूढा बूढी मात्र त हौँ कति नै बाचौला र ? त्यसपछिको समाज रीतिथिति तिनीहरुकै हो । जे सुकै गरुन स्वतन्त्र छोड्या छु मैले त ।‘’ बूढा हासेँ जोडले ।
उता केटाको घरमा धुमधामसँग सफलालाई भित्र्याइयो । सबै जना दङ्ग । दाइजोको अपार राशी । जेठानीहरु तर्सिए, गाउलेहरुले जिब्रो टोके ।
ओहो ! कति लक्षिनकी बुहारी ..... गुणगानमा फूलबट्टा भरिए ।सासू ससुरा, नन्द आमाजु सबैकी परमप्रिय भइन छिटै नै सफला । कुलीन भनेको कुलीन नै हो । बुढीको धाक धक्कु ।
मधुयामिनिका माधुर्यमा चुर्लुम्ब डुब्छन् ती दुई अनुपम जोडीहरु । आफ्नो प्रोजेक्टको काम सकिने बित्तिकै सुदीप सिधै घर आइपुग्छ, सफलाको प्रतिक्षालाई स्वीकार गर्दै ।उनकै आग्रहलाई बुझेर ती दुई युगल जोडी हनिमुनमा निस्किन्छन् दार्जलिंग, सिलगुडी हुदै आगरासम्म पुग्छन् । ताजमहल हेर्छन् । आफ्नो प्रेमको दाम्पत्यको दीर्घजीवनको कसम खान्छन । जीवनभर एक अर्कासँग कहिल्यै नछुटने , कहिल्यै नफुटने कसम शहाजहाँ र मुमताजको गाउमा प्रेमको नमूना ठाउमा ती दुइले गर्दछन् । समय चिप्लिरह्यो सलल खोलाझैं । तिनीहरुको माया प्रीतिको छाँगो छङ्ग छङ्गयाए झैं ।
तिनीहरुको लोभलाग्दो दाम्पत्य संसारले कति छिमेकका तन्नेरीहरूको गर्मी बढायो । अन्जानमै । सुदीप दङ्ग थियो एकातिर अर्कातिर सफला आफूलाई सफल भएको ठान्थिन दाम्पत्य सुखमा । जमदार बाजेकी कान्छी सुपुत्री उनलाई अभाव के हो कहिल्यै थाहा भएन । उनको बाल्यकाल लाडप्यारमै पुल्पुलिएर बित्यो । बाबुआमाको अनन्त मायाले सिन्चेर फुल्यो ।स्वभावैले चुलबुले चन्चले सफला पढ्नमा भन्दा खेल्नमा मन गर्थिन । कान्छी छोरी भएकीले पनि बुढाबुढीले त्यति हप्कीदप्की गरेनन । प्रवेसिका उत्तीर्ण गराउन कम्ति हम्मे त परेन उनलाई । तैपनि चौथो पटक सफलता पाएकी उनले ठाँटसँग क्याम्पस पढिन ।
बुढाबुढी खुसी थिए, छोरी कलेज गएकिमा । तर उनको मन पाठ्यपुस्तकमा नभएर मायाप्रीतिका सस्ता युधिर थापाका उपन्यासहरुमा र हिन्दी चलचित्रमा उन्मुख भइसकेको थियो ।कितावको बीचमा सानो उपन्यास राखेर उनि रातभर पढ्थिन । बाबुआमा छोरीले कस्तो मन लगाएर पढेकी भनेर खुसी हुन्थे । तर उनि .......... यौवनवयमा चलचित्र र उपन्यासले पार्ने तीब्र प्रवाभको शिकार भैसकेकी थियिन । पारिवारिक सम्पन्नताले त्यसमा मलजल थपी रह्यो । सोझा बुढा बुढीलाई ती सबै कुराको के नै पत्तो  हुन्थ्यओ र ? छोरीको अलि स्वतन्त्र स्वभावको सानो सुइँको मात्र पनि तिनीहरुलाई थिएन । पूराना शैलीका जमदार दम्पतीहरुले त्यस्तो कुनै सम्भाब्य खतराको घन्टी नबज्दै उनलाई कन्यादान गरेर पठाएकोमा ठूलो राहत अनुभव गरिरहे ।
उपर्युक्त वातावरणको परागशेचनपछि बागबगैचामा सुन्दर फूलहरु फुल्न र फल्न थाले । प्राकृतिक बसन्त मुस्कुरायो । बोट बिरुवाहरु नयाँ मुना र हरीत सौन्दर्यले नाच्न थाले । चराचुरुंगीहरुले मांगालिक धुन बजाए प्रेमको मधुवनमा ।
अफिसबाट फर्कदै गरेको सुदीपलाई लजाउदै सफलाले भनिन मेरो महिनावारी .....ऊ उफ्रियो खुशीले आफू बाबू बन्दै गरेको खबर । आफ्नो उत्तराधिकारीको आगमनको खबर । आफ्नो बंश परम्परा कायम गरेको महान खुशियालीको खबर । उसले सफलालाई जुरुक्क उचालेर चुम्बन गर्यो फिल्मी शैलीमा।
ती दुई जोडीहरु बोलि रहे रात भरि ........
छोरा कि छोरी ?
नाम के राख्ने ??
अहो ! कत्रो हतार । लौ अव राम्रो हेरबिचार गर्नु पर्छ... ।
‘’तिमीले अव काम बन्द सफला पुरा आराम गर्नु पर्दछ ।‘’
सासुको निर्देशन । हाम्री सफलाले छोरै पाउछे । त्यस्तै लक्षण छ ।... के गर्ने अरु कसैले नातिको मुख देखाउन सक्या होइनन ।
डाक्टरलाई देखाउदै गर्नु पर्दछ ।....
सफला सबैकी प्रेम र सदभावकी पात्र भइ रहिन दिनानुदिन । उनको यत्रो सम्मान र भाउ देखेर जेठानीहरु भित्र भित्रै कुडीन्थे तर कसको के लाग्दो रैछ र लेखेर ल्याको कुरा । उनीहरुले थुक निल्थे इर्श्याले घुटुक्क ।
प्रेमको बिजांकुरण बढदै गयो तिनीहरुको ।एउटा नयाँ लहर, नयाँ ज्योतिको प्रतिक्षा सबैले गरि रहे समय सापेक्ष ।श्रीस्टी चक्रको एउटा कडी । बंश परम्पराको पुर्खेउली बिराशत बिसाउने एउटा चौतारी । धर्म भीरु हिन्दु समाजका अझ ब्राह्मणहरुको त के कुरा ? छोरै चाहिने पिण्डपानी गर्ने । मर्दा दाग बत्ति दिने । काजक्रिया सम्पन्न गर्ने ... ।
एकदिन अचानक सफलालाई ब्यथा लाग्छ । तुरुन्त एम्बुलेन्स बोलाएर हस्पिटल पुर्याइन्छ । दुई तीन दिनको रेख देख र प्रतीक्षा पछि  सफलाले बच्चा जन्माउछिन सबैले खोजेझैं । रोजेझें ।
चियाँ ! चियाँ !! चियाँ !!!
... छोरो नै  ।
लौ बधाई छ सुदीप भाइ भोज खुवाउनु पर्छ । प्रसुती वार्डमा काम गर्ने सिस्टरहरु उषा र कल्पनाको आग्रह ।
पाठक परिवारको एकल उताराधिकारी नवजात शिशु छोरो । सुदीप खुसीले उफ्रिन्छ हस्पिटल परिसरमै । सफलालाई बधाई दिन्छ पुत्र्रत्न्को उपहारकोलागि ।
बहुप्रतिक्षित नातिको जन्म भएको खुसीले हस्पिटलमा आइपुगेकी उनकी सासु बुढीको अनुहार भने त्यति चम्किलो देखिएन खोइ किन हो कुन्नि ? जति तीब्र उत्सुकता त्यसको  पर्खाइमा थियो । उनि काली देखिईन । खासै उमङ्गको कुनै संचार त्यहाँ भएन । मात्र बलपूर्वक निभाइएको औपचारिकता ।
हैन कति मैना भयो ?
उनले गनिन मनमनै.. जेठ , असार, साउन,...मङ्सिर मात्र सात मैना ।
फेरी गनिन बिहेको मिति सम्झिन । उफ ! उनले आश्चर्य प्रकट गरिन । बच्चालाई हेरिन । राम्रो र पूर्ण स्वस्थ बच्चा । आमाको छेउमै निदाइरहेको थियो यी सारा शंका उपशंकाबाट बेखवर ।
प्रसुती गृहको बेडबाट यी सबै दृस्यहरुलाई देखिरहेकी सफलालाई कता कता चीसो पस्यो सासुको अनपेक्षित व्यवहारले । तथापि नवजात शिशुका सबै प्रारम्भिक कर्म कार्यहरु सम्पन्न भए र नामाकरण भयो ‘’सुसन’’ ।
हैन सफलाले सात मैनामै कसरि छोरो पाई त्यति ठूलो ?.........
कतै बिवाह पूर्वनै कसैको ..........? त होइन । शंकाले तीब्र रुप लियो । एक कान दुई कान मैदान । भ्रमले सबैलाई दिग्भ्रमित बनायो । कसैले त्यसको बस्तुस्थिति जाच्न, बुज्न चाहेन । केवल गाउले हल्लाको खेति पछि तिनीहरु सबै कुदी रहे । सबैभन्दा सासु बुढी अग्र स्थानमा देखापरिन पारिवारिक संग्रामको महारथी बनेर । आफ्नै बुहारीका बिरुद्ध । नवजात सन्ततिका बिरुद्ध ।
सुदीप रनभुल्ल भैरहयो । चक्रब्युहमा फँसेको निरुपाय अभिमन्यु बनिरह्यो । पूरै घरमा आमाको साम्राज्य थियो । उसले न आमालाई नै सम्झाउन सक्यो न सफलालाई नै आस्वस्त पार्न ।
त्यसपछि त सबै खनिए सफला बिरुद्ध । ‘’ मुसो ब्यायो हर्ष न विष्मात ‘’
‘’हेर नकटी लाज नभएकी कसको पाप बोकेर मेरो घर पसेकी ।...
त्यै भएर त त्यो चोर बुढाले सम्पति पेलेको ..........
आफ्नी छोरीको .... छोप्नलाई ।
पाप धुरीबाट कराउछ।..........
पारिवारिक यातनाका यस्ता हजारौं क्ष्यप्यास्त्रहरु ऊ माथि दिनहुँ निर्घात बर्सि रहे । बिचरी सफला किम्कर्तब्यबिमुड बनिन् त्यसै त्यसै । हिजो सम्म रानी मानेर चाट्ने उनको आफ्नो लोग्ने आमा पट्टि लाग्यो क्रमशः ।
जेठानिहरुलाई चाहिएकै तेइ थियो ... उनीहरुले घ्यू थपे प्रज्वलित पारिवारिक अग्निमा । छिमेकीहरु अनेकौं अड्कलबाजिका नयाँ नयाँ किस्साहरु थपे । हिजो सम्मको स्वर्गजस्तो घर आज हेर्दा हेर्दै नारकीय कुण्डमा बदलिदै गयो ।तथापि कतिले सम्झाए – ‘’ त्यस्तो भन्नु हुदैन बाजा बजाएर दुनियाँकासामू अग्निलाई साक्षी राखी जीवनभर साथ दिने कसम खाएर ल्याएकी आफ्नी श्रीमती/ बुहारीलाई । ‘’ त्यस्ता अपवादहरु धेरै छन् हाम्रो समाजमा सात/ आठ मैनामा जन्मिएकाहरू प्रीथिभीनारायण शाह ....पनि त्यसरी नै जन्मेका थिए । डाक्टरलाई राम्रो सँग सोध्न सकिन्छ, जाच्न सकिन्छ, बुझ्न सकिन्छ ।
आगो सल्कीई सकेको थियो कहिल्यै ननिभ्ने गरि । अपमान, अन्याय र अत्याचारलाई सहेरै पनि उनले आफ्नो घर छाडेकी थियिनन केहि समय । तर अतीको सीमा नाघेपछि उनले बाध्य भएर घर छाडेकी थिइन । बुवाले सुम्पेर जिम्मा लगाएको आफ्नो लोग्ने र आफ्नो सर्वस्व......... ।
नुनिला आँसुहरु पिएर अपमानित हुँदै माइतिको कौसीमा उनका यौवनका उत्ताल तरंगहरु बितिरहेछन । तर  दुनियाँ कसैले पनि उनको पक्षमा यथार्थ्तासंग साक्षात्कार हुने हिम्मत गरेन । त्यस प्रकारको बच्चा पैदा हुने सम्भाव्यता र त्यसमा गर्न सकिने साँचो परीक्षणमा  मेडिकल साइन्स के भन्छ ? प्रसुती रोग बिशेषज्ञहरु के भन्छन ? यी सारा अनुत्तरित प्रस्नहरु उनको मनभरी घुमी रहेछन् एउटा जीवनभरकै ठूलो ब्यथा बनेर । उनि अध्यारो कालो महारातमा माइतिको कौसीमा टोलाइरहेकी छन् । आफूमाथिको  अन्यायको कालो टीका पुछिने  सम्भावना खोज्दै, छोराको सुदुर भबिष्य सम्झदै टाsssडाको मधुरो तारा नियालिरहिछन ।
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
(प्रस्तुत कथा मनोभाव त्रैमासिक वर्ष ८, पूर्णांक ३० असोज २०६० मा प्रकासित भएको हो )

Monday, August 13, 2012


लण्डन ओलम्पिक २०१२ को भब्य समापन
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन

सन् २०१२ को  जुलाई २७ तारीखको साँझलाई अभूतपूर्व बनाउँदै सुरु भएको विश्व खेल महोत्सव लण्डन ओलिम्पिक्सको अगष्ट १२ तारिख लण्डनमा भव्य समापन समारोह सम्पन्न भएको छ।  समापन समारोह ८० हजार दर्शकले भरिभराउ पूर्वी लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा भएको हो । उद्घाटन समारोह समेत सोही रंगशालामा भएको थियो ।
ओस्कार बिजेता स्लमडग मिलिनियरका निर्देशक डेनी बोयलको निर्देशनमा भएको  बेलायती इतिहास, संस्कृति र सभ्यतामा केन्दि्रत उद्घाटन समारोह भन्दा पृथक थियो समापन । करिब तीन घण्टा लामो सो समारोहलाई 'ए सिम्फोनी अफ बि्रटिश म्युजिक' उपमा दिइएको थियो । त्यसमा पाँच दशकयताको बि्रटिश पप संगीत गुञ्जियो ।
समापन समारोहका निर्देशक स्टेफेन डाल्ड्रीले यसलाई अहिले सम्मकै उत्कृष्ट पार्टीको संज्ञा दिए ।
लन्डन ओलम्पिकका अध्यक्ष लर्ड कोइले समापन समारोह बि्रटिश संगीतमा समर्पण गरिएको जनाए । समारोहका कला निर्देशक किम गेभिनका भनाइमा उद्घाटन समारोह बिहेको दिन थियो भने समापन बिहे पछिको डिस्को जसमा सहभागी मज्जाले रमे । समापन समारोहमा गुञ्जिए एडेल देखि एल्गरसम्मका संगीत ।
पप स्टार जर्ज माइकल, दि पेट सप बोइज्, म्याडनेस्, जेसी जे, ग्यारी बार्लो, केट बुस, टिनी टेम्प, रे डेभिस् र स्पाइस् गल्र्स समूहको प्रस्तुती पनि कम रोमाञ्चक रहेन ।
समारोहमा पैंतीस सय स्वयंसेवक, तीनसय ८० जना स्कुले केटाकेटीसहित चार हजार एकसय कलाकारले आफ्नो जादु देखाए ।
८० हजारले भरिएको रंगशालामा केट(डचेस् अफ क्याम्बि्रज),राजकुमार ह्यारी, बेलायती प्रधानमन्त्री लगायत अन्य वरिष्ठ राजनीतिज्ञ दर्शकदीर्घामा थिए ।
समापन समारोहमा ओलम्पिकको अर्को संस्करण सन् २०१६ मा गर्न ब्राजिललाई जिम्मा सुम्पिइएको छ । लन्डन मेयर बोरिस जोन्सन्ले रियो मेयर इडुएर्डो पायस्लाई ओलम्पिक झण्डा हस्तान्तरण गरेका हुन् । रियो सेग्मेन्टमा सुपरमोडेल एलेसान्ड्रो एम्ब्रोसियोसहित ब्राजिलियन कलाकारहरुले आठ मिनेट लामो शो प्रस्तुत गरेका थिए । शोमा पेले एकाएक देखिंदा दर्शकले तालीले स्वागत गरे ।
रियो ओलम्पिकका लागि ब्राजिल सरकारले करिब ११ विलियन पाउण्ड खर्चमा भौतिक पूर्वाधार निर्माण गर्दैछ । दक्षिण अमेरिकामा हुने सो पहिलो ओलम्पियाड ३४ स्थलमा खेलाउने तयारी उसको छ, जसमा १८ वटा सञ्चालनमा आइसकेका छन् भने ९ स्थल नयाँ र ७ अस्थायी स्थलका रुपमा विकास गरिंदैछ ।लन्डन ओलम्पिकमा विश्वका २ सय ४ देशले २६ खेलका बेग्लाबेग्लै ३ सय ४ वटा इभेन्ट्समा स्पर्धा गरेका थिए । यसपटक अमेरिका पदक तालिकामा अग्रस्थानमा रह्यो । उसले कुल ४६ स्वर्ण जितेर आफूलाई पहिलो स्थानमा उभ्याएको छ । चार वर्ष अघि बेइजिङ ओलम्पिकमा ३६ स्वर्ण ल्याएर अमेरिका दोश्रो स्थानमा खुम्चिएको थियो ।
बेइजिङ ओलम्पिकमा ५१ स्वर्णसहित पहिलो स्थान सुरक्षित गरेको चीनले यसपटक ३८ स्वर्ण ल्याएर दोश्रो स्थानमा चित्त बुझाएको छ ।
कुल २९ स्वर्ण जितेर तेश्रो स्थानमा रह्यो बि्रटेन । बेइजिङ ओलम्पिकमा जम्मा १९ स्वर्ण ल्याएको बि्रटेन यसपटक सन् १९०८ यताकै सबैभन्दा बढि मेडल जित्न सफल भयो । त्यसो त बि्रटेनले एउटा पदकका लागि दश मिलियन पाउण्ड(नेपाली करिब एक अरब तीस करोड रुपैयाँ) लगानी गरेको जनाइएको छ ।
लन्डन ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेर बि्रटेनले आफ्नो शक्ति विश्वसामू फेरी प्रदर्शन गरेको छ । आतंकवादको निसाना बनिरहेको बि्रटेनले आफ्ना सैनिक नै परिचालन गरेर खेल सुरक्षित तवरमा सम्पन्न गरेको हो । यस खेललाई विश्वका ४ विलियन दर्शकले हेरेको अनुमान छ । समाचार संकलनका लागि मात्र २० हजार भन्दा बढि सञ्चारकर्मी संलग्न थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याकी रोजले भव्यतापूर्वक ओलम्पिक सम्पन्न गरेकामा बि्रटेनप्रति आभार व्यक्त गरेका छन् । उनले लन्डनले खेलाडीहरुलाई इतिहास रच्ने अवसर दिएकोमा पनि प्रशंसा गरे ।
लन्डन ओलम्पिक सफल बनाउन ७० हजार स्वयंसेवकहरुको उल्लेख्य भूमिकाको समेत तारिफ भएको छ । उनीहरुले करिव सत्र हजार पाँच सय खेलाडी, हजारौं अफिसियल र ओलम्पिक हेर्न ओइरिएका लाखौं दर्शकलाई लन्डनमा न्यायो स्वागतमात्र गरेनन्, हरेक कुरामा पथ प्रदर्शक र सहयोगी भूमिका निर्वाह गरेका थिए ।



Tuesday, July 31, 2012

लण्डन ओलम्पिक २०१२


लण्डन ओलम्पिक २०१२
रामहरि पौड्याल
भरतपुर १२/१९३, चितवन
लण्डन ओलम्पिकको लामो प्रतिक्षा अन्ततः २७ जुलाई २०१२ मा सिद्धिएको छ । सन् २०१२ बेलायातिहरुका लागि चिरस्मरणीय बन्दै छ । भर्खरै बेलायती महारानीको हीरक जयन्ति (डाइमण्ड जुब्ली) सकेको बेलायत फेरी एक पटक संसार भरिका खेलप्रेमीहरुलाई लण्डनमा स्वागत सत्कार गराउन पाउदा हर्ष बिभोर देखिन्छ । सारा बेलायत यतिखेर खेलमय भएको छ । पूरै राष्ट्र एक ढिक्का भएर ओलम्पिकको स्वागतमा जुटेको छ। बेलायती झण्डाहरु हरेक चोक गल्लीहरुमा ससम्मान फराई रहेका छन् ।
 तेस्रो पटक ओलम्पिकको आयोजना गर्ने बेलायत एउटा मात्रै त्यस्तो भाग्यमानी राष्ट्र भएको छ ।
६२ वर्षपछि बेलायतले विश्व खेलकुदको कुम्भमेला आयोजनाको अवसर पाएको हो। यसअघि १९४८ मा दोस्रोपटक ओलम्पिक आयोजना गरेको बेलायतले १९०८ मा पहिलोपटक आफ्नो देशमा ओलम्पिक भित्र्याएको थियो।
तीसौं गृष्मकालिन ओलम्पिक खेल २७ जुलाई २०१२को राति इष्ट लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा एक भव्य समारोहबीच उद्घालटन भएको छ । विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडी सहभागी खेलकुदको कुम्भमेला लन्डन ओलम्पिक  यतिखेर संसारकै सर्वाधिक चर्चाको बिषय बनेको छ ओलम्पिकमय बनेर ।
बेलायती महारानी एलिजावेथले समारोहको अन्तिमतिर खेल सुरु भएको उद्घोोष गरेकी थिइन् ।  गद्यी आरोहणको ६ दशकमा महारानीले दोश्रो पटक ओलम्पिक खेल उद्घाटन गरेकी हुन् । उद्घा टन समारोहमा राजकुमार फिलिप, केट, विलियम, ह्यारी, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन, युएस् फष्ट लेडी मिसेल ओवामासहित विश्वका  एक सय भन्दा बढी राष्ट्र प्रमुखहरु सहभागी थिए ।
 ओस्कार बिजेता स्लमडग मिलिनियरका निर्देशक डेनी बोयलको निर्देशनमा भएको तीन घण्टा ५० मिनेटको सो भव्य उद्घाटन समारोह रंगशालाका ८० हजार र विश्वभरका एक अर्व टिभी दर्शकले अवलोकन गरे ।
करिब २७ मिलियन पाउण्ड खर्च भएको सो समारोहमा बोयलले बेलायती इतिहास, गाउँले परिवेश, ५ दशकको बि्रटिश पप संगीत, स्वास्थ सुविधा (एनएचएस), प्राचीन प्रविधि र पछि औद्योगिक क्रान्ति झल्किने शो प्रस्तुत गरेर वाहीवाही बटुले ।
कलाकारहरु बाहेक घोडा, गाई, बाख्रा, कुखुरा, हाँस, भेडा जस्ता जनावर समेत शो मा उतारेका बोयलको शो अत्यधिक सफल भएपछि उनको लोकपि्रयता अरु आकाशिएको प्रशंसा बेलायती सञ्चारमाध्यमले गरेका छन् । सर पउल म्याक कार्टनीको प्रस्तुती पनि धेरैले रुचाए ।
टुर डि फ्रान्सका पहिलो ब्रिटिश खेलाडी ब्राडली विगिन्स्ले ठूलो घण्ट बजाएपछि रंगशालाभित्र सुरु भएको थियो ।
इंग्ल्याण्डका पूर्व क्याप्टेन डेभिड बेकह्याम र आर्सनल आवद्ध महिला फुटवल खेलाडी जेड बेलीले डुंगामा चढेर थेम्स् नदी हुँदै ओलम्पिक ज्योति रंगशाला लगेका थिए । बेकह्यामले ओलम्पिक टर्च लगातार ओलम्पिकमा ५ स्वर्ण जितेका सर स्टिभ रेडग्रेभलाई हस्तान्तरण गरेका थिए । रहस्यबीच पछि ओलम्पिक ज्योति सात युवा खेलाडीबाट जलाइयो ।
बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बिहीबार राति ओलम्पिकको भव्यतामा गौरवका साथ खुसीयाली मनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेका थिए। यसैगरी लन्डन २०१२ आयोजक समितिका प्रमुख सेवास्टिन कोले इतिहासकै भव्य र स्मरणीय ओलम्पिक आयोजनाका लागि पूरा तयार रहेको बताए।

लन्डन सुरक्षामा ठूलो संख्या नेपाली

चार वर्षअघि चीनको बेइजिङमा सम्पन्न पछिल्लो संस्करणको समाचार सम्प्रेषण गरेका बंगलादेशी पत्रकार इमरान फरहाद चीनको तुलनामा यहाँको तामझाम फिका लागेको तर्क गर्छन्। भन्छन्, 'चीनले ओलम्पिक आयोजनाका लागि पूरा बेइजिङ नै सजाएको थियो। पहिलोपटक ओलम्पिक आयोजनाको अवसर पाएका उनीहरू विश्वलाई आफ्नो विकास र समृद्धि देखाउन चाहन्थे। तर, बेलायतसँग देखाउनुपर्ने बाँकी केही छैन। त्यसैले यहाँ चीनको जस्तो भव्यता नदेखिएको होला।'
लन्डनलाई ओलम्पिक आयोजनाको अवसर दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका बेलायती फुटबलका हस्ती डेबिड बेकह्यामले लन्डन २०१२ विश्व खेलकुदको आधुनिकतामा एउटा कोसेढुंगो हुनुकासाथै खेलभावनाको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। 'बेलायत समृद्ध खेल संस्कार भएको देश हो, खेलकुद यहाँका जनताको रगतमा बगिरहेको हुन्छ, यो प्रतियोगिता खेलकुदको माध्यमबाट विश्वलाई भाइचाराको नयाँ सूत्रमा बाँध्न र आर्थिक मन्दीको अवस्थामा आत्मबल बढाउन
उत्प्रेरक हुनेछ,' सोही पत्रिकामा बेकह्यामले भनेका छन्, 'बेलायती ओलम्पिक टोलीले आफ्नो देशमा समर्थकलाई सन्तुष्ट पार्नेमा म विश्वस्त छु।'
 बिग बेन बज्यो
बिग बेन शुक्रबार ओलम्पिक खेलको प्रारम्भका लागि ३ मिनेटसम्म बज्यो। यसले बेलायतको राजधानी लन्डनमा ओलम्पिकको उद्घाटन समारोहको संकेत दिन्थ्यो।
लन्डनका लागि सबैभन्दा मन पराइएको चिह्नका रूपमा रहेको अग्लो भवनको माथिल्लो भागमा रहेको ठूलो घडीको आवाजलाई बेलायतभरका सयौं चर्चमा रहेका घन्टीले पछ्याए। यसपछि मुलुकभरका घन्टीहरू ओलम्पिक प्रारम्भको संकेतमा बजे।
बिहान ८.१२ बजे थेम्स नदीमा महारानी एलिजावेथ द्वितीयाको जहाजमा रहेको घन्टी पनि बज्यो, जहाँ ओलम्पिक ज्योति मुख्य रंगशालातर्फ अन्तिम मार्गमा थियो। यी घन्टी बेलुका ९ बजे तय भएको उद्घाटन समारोहभन्दा ठीक १२ घन्टा अगाडि बजेका थिए।
घन्टी बजाउने समारोहका आयोजक बेलायती सम्मानित पुरस्कार टर्नर विजेता मार्टिन क्रिडले प्रत्येक बेलायतीलाई यसमा भाग लिन आग्रह गरेका थिए। विश्वमा एकैपटक बजाइएका सबैभन्दा धेरै घन्टीको कीर्तिमान कायम गर्न चाहेका उनले बेलायती जनतालाई आफ्नो घर तथा साइकलको घन्टीसमेत बजाउन आग्रह गरेका थिए।
राजकीय नौसैनिक जहाजमा पनि घन्टी बज्यो। यसका साथमा स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डका संसदीय भवनमा रहेका घन्टी पनि बिग बेनसँगै बजे।
बेलायतमा सन् १९५२ पछि यसरी अन्य समयमा बिग बेन बजेको यो पहिलो पटक हो। सन् १९५२ मा बिग बेन नरेश जर्ज छैटौंको देहावसानमा ५६ पटक बजेको थियो।
सामान्य समयभन्दा अन्य समयमा वेस्टमिनिस्टरमा रहेको घन्टी बजाउन अधिकारीहरूले विशेष अनुमति दिएका थिए।