काठमाडौँ, असोज १ गते । भारतको सिक्किम आसपास केन्द्र भएको ६.८ रेक्टर स्केलको भूकम्पबाट नेपालमा भौतिक संरचना भत्कँदा पाँचजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
नेपाली समय साँझ ६ः२५ बजेको सो भूकम्पको धक्का राजधानीलगायत नेपालको पूर्वी भाग र पश्चिममा लमजुङसम्म महसुस भएको जानकारी लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको छ ।
भूकम्पपछि काठमाडौँमा मात्र भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन् । भूकम्पबाट भएको धनजनको क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ ।
साँझ ६ः२५ बजेको सो भूकम्पको कम्पनपछि राति ८ः१५ बजेसम्म भूकम्पपछिका स-साना धक्का -आफ्टर सक)हरू निरन्तर रेकर्ड भएको सो केन्द्रले जनाएको छ । केन्द्रका प्राविधिक अधिकृत डिल्लीराम तिवारीले आजको भूकम्प ६.८ रेक्टर स्केल मापन गरिएको जानकारी दिनुभयो ।
भूकम्पका कारण लैनचौरस्थित बेलायती दूतावासको पुरानो पर्खाल भत्कँदा त्यसबाट पुरिएर मृत्यु हुनेमा गोरखा मुल्मीचौर गाविस-६ घर भई हाल काठमाडौँ लैनचौर बस्ने वर्ष ३६ की साजन श्रेष्ठ, निजकी आठ वषर्ीया छोरी अनिता श्रेष्ठ र सिन्धुली घर भई राजधानीको सामाखुसी निवासी १९ वषर्ीय वीरबहादुर माझी रहेका छन् । मृतक श्रेष्ठद्वय बा. ९ प २६४७ को स्कुटरमा निवास जाने क्रममा पर्खालले पुरिएका थिए भने माझी पैदल हिँड्दै गर्दा पर्खालले पुरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सुनसरीको धरानमा भूकम्पले घर भत्केर मृत्यु हुनेहरूमा ओखलढुङ्गा घर भई धरान नगरपालिकामा बसोवास गर्ने २२ वषर्ीय सन्तोष परियार र तीन वषर्ीय विमल परियार रहेको गृह मन्त्रालयले जनाएको छ ।
यो भूकम्प वि.सं. १९९० सालपछिकै दोस्रो ठूलो भूकम्प भएको सो केन्द्रले जनाएको छ । त्यसबेला ८.३ रेक्टर स्केलको भूकम्प जाँदा १६ हजार मानिसले ज्यान गुमाएका थिए ।
आजको भूकम्प २०४५ साल भदौ ५ गतेको भन्दा ठूलो हो । २०४५ सालमा ६.५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबेलाको भूकम्पमा परी ७२१ जनाले ज्यान गुमाउनुका साथै ठूलो जनधनको क्षति भएको थियो । १९९० सालको भूकम्पको केन्द्रबिन्दु भोजपुर रहेको थियो भने २०४५ सालको भूकम्पको केन्द्रबिन्दु उदयपुर थियो ।
"आजको भूकम्पको केन्द्रबिन्दु सिक्किममा परेकै कारण विगतमा जस्तो ठूलो क्षति भएन" केन्द्रका भूकम्पविद् डा. सोमनाथ सापकोटाले भन्नुभयो- फरसक - मूल भूकम्प अघि आउने कम्पन) नभएकाले ठूलो क्षति भएन ।
काठमाडौँबाट करिब तीन सय किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु भएकाले राजधानीमा प्रभाव कम परेको उल्लेख गर्दै डा. सापकोटाले भन्नुभयो- राजधानीमा विनासकारी भूकम्प आउँछ भन्ने हल्लाले साइकोलजिकल असर बढी परेको छ । त्यसैले धेरैले आत्तिएर भाग्ने हुँदा घाइते भए ।
उहाँले आजको भूकम्प 'आफ्टर सक' -मूल धक्कापछि आउने कम्पन) भएकाले ठूलो क्षति नभएको दाबी गर्नुभयो । आजको मूल भूकम्पको कम्पन ६ः२५ बजे ४० सेकेन्डसम्म रहेको थियो र त्यसपछिका आफ्टर सक १८ पटकसम्म मापन गरिएको उहाँले जानकारी दिनुभयो ।
भूकम्पपछि राजधानीका अधिकांश बासिन्दा आफन्तजनको अवस्थाको बारेमा बुझ्न आतुर देखिन्थे तर त्यही समयमा फोन अवरुद्ध भएकाले मानिसको अनुुहारमा भय, चिन्ता र खिन्नता देखिन्थ्यो । आइतबार साँझ अबेरसम्म प्राप्त जानकारी अनुसार भूकम्प शक्तिशाली भएर पनि विगतको तुलनामा धेरै ठूलो क्षति नपुगेको गृह मन्त्रालयले जनाएको छ ।
भारतको सिक्किम केन्द्रबिन्दु रहेको आजको भूकम्पको असर पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथरलगायतका जिल्लामा बढी परेको गृह मन्त्रालयका प्रवक्ता एकराज नेपालले बताउनुभयो । यसबाहेक भारतको सिक्किम, असाम, दिल्लीलगायतका ठाउँमा पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको जनाइएको छ ।
गृह मन्त्रालयका अनुसार भक्तपुरमा १४ घर, सानोवेसीमा एक, डिल्लीबजारको भद्रगोल जेल, स्युचाटारमा दुई, सामाखुसीमा एक, धनुषाको सीमा प्रहरी चौकी, रामेछापमा तीन, सङ्खुवासभामा १६ घर ताप्लेजुङको सुरुङ्खिममा आठ, साँखुमा एक, नुवाकोटमा छसमेत ५४ वटा घर तथा कार्यालय भत्केका छन् ।
सह प्रवक्ता नेपालले राति अबेर दिएको जानकारी अनुसार भूकम्पबाट प्राण बचाउन भाग्ने क्रममा घरबाट हामफाल्दा मैतीदेवीमा दुईजनाको खुट्टा भाँचिएको, सेन्टर जेलमा भागदौड हुँदा दुईजना घाइते भएको, मोडेल हस्पिटलको छतबाट हामफाल्दा चारजना सख्त घाइते भएको र उनीहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राति ११ बजे यो समाचार तयार पार्दासम्म ताप्लेजुङ बजारको एक घर र काठमाडौँस्थित महेन्द्रबहालको एक पुरानो घरमा आगलागी भएको जानकारी प्राप्त भएको छ ।
केन्द्रका जिम्मेवार पदाधिकारीको मोबाइलमा 'सेस्मिक एलार्म' प्रविधि जोडिएकाले चार रेक्टर स्केलभन्दा ठूलो भूकम्प आउने वित्तिकै जानकारी प्राप्त हुने प्राविधिक अधिकृत डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।
जानकारहरूका अनुसार विश्वका एक सय ९८ मुलुकमध्ये भूकम्पीय विपतको जोखिमका दृष्टिले नेपाल ११ औं स्थानमा पर्छ । १९९० को माघ २ मा ८ दशमलव ४ रिक्टरस्केल क्षमताको भूकम्प जाँदा ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटी पौवा तथा सार्वजनिक भवन गरी झन्डै दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको थियो ।
२०४५ सालको भदौ ५ गते बिहान ४ बजे उदयपुर जिल्लामा केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टरस्केल क्षमताको भूकम्पले निकै ठूलो क्षति पुगेको थियो । त्यतिबेला ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजारभन्दा बढी संरचना ध्वस्त भएका थिए । २०२३ र २०३७ सालमा सुदूरपश्चिमका दार्चुला, बैतडी र बझाङ जिल्लामा गएको भूकम्पमा करिब एक सय २० जनाको ज्यान गएको थियो ।
गृह मन्त्रालय र जापान सहयोग नियोग -जाइका) ले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनले नेपालमा १९९० सालको माघ महिनामा गएको ८ दशमलव ४ रेक्टरस्केल क्षमता बराबरको भूकम्प गएमा राजधानीमा मात्र ४० हजार जनाको ज्यान जान सक्ने र ९५ हजार घाइते हुनुका साथै ६० प्रतिशतभन्दा बढी संरचनता ध्वस्त हुने देखाएको छ ।
भूकम्पीय जोखिमका हिसालबे काठमाडौं दोस्रो स्थानमा रहेको मध्य अपि|mकी राष्ट्र एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरभन्दा ६ र जापानको सबैभन्दा बढी संवेदनशील सहरभन्दा करिब २ सय गुणाले बढी जोखिमपूर्ण मानिन्छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको एक अध्ययनअनुसार काठमाडौंका ९० प्रतिशत भवनहरू भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग नगरीकन निर्माण गरिएका छन् । राजधानीलगायत मुलुकका करिब ८० प्रतिशत संरचना भूकम्पीय जोखिममा रहेको जानकारहरूको दाबी छ ।
भू-गर्भविद् डा.सुबोध ढकाल काठमाडौंमा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प आए माटो जडित कच्चा इँटा तथा गुणस्तरहीन निर्माण सामग्रीबाट बनेका जोखिमयुक्त घरसहित राजधानीलाई जोड्ने बाह्य सडक सञ्जाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत अवरुद्ध हुन सक्ने जोखिम रहेको बताउँछन् ।
यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितहरूप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति श्रद्धान्जलि अर्पण गर्ने निर्णय गरेको छ ।
बैठकले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै धनजनको क्षतिप्रति दुःख प्रकट गरेको छ । साथै, मन्त्रिपरिषद् बैठकले क्षतिको विवरण सङ्कलन गर्न तथा उद्धार र राहत कार्यमा सक्रिय हुन मातहतका सबै निकायलाई निर्देशन गर्ने निर्णयसमेत गरेको छ ।
Ø भूकम्प आउँदा जोगिने दश उपाय विज्ञहरुले दिएका छन्-
-आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने।
-झट्का थाहा पाउनेबित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने।
-हतारमा आत्तिएर बाहिर नभाग्ने।
-कम्तीमा एउटा ढोका खोल्ने।
- घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने।
- डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुँदा त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भनेबमोजिम गर्ने।
- सवारी साधन चलाउँदा बायाँतर्फ मोडेर पार्क गर्ने। निषेधित क्षेत्रमा नलाने।
- पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने।
- सुरक्षित ठाउँतर्फ जाँदा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिँड्ने।
- हल्लाको पछि नलाग्ने। सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने।
No comments:
Post a Comment