आमा
रामहरि पौड्याल
भरतपुर १२/ १९३, चितवन
आमा,
नौ महिना गर्भमा आफ्नै मांस र रक्तले सिन्चिदै
कत्रो दुखले सम्हाल्दै र बचाऊदै
मलाई जन्म दियौ
आफ्नै छाती चिरेर दश धारा दुध पिलायौ
कति रातहरु नसुतिकन
कति दिनहरु न उठिकन
मेरै बारेमा सोची रहयौ !
सबै दुख दर्द आफूले नै सहयौ
अफ्ठ्यारा बाटाहरुमा आफै हिडि रहयौ
केवल मेरा खुसीका लागि
भगवान सँग आशिर्वाद मागी रहयौ !!
कति रगत पसिना बगाउदै
कति ठक्कर र हनडर सहदै
मलाई बढायौ पढायौ
सक्षम बनायौ दुनियाका सामू !!!
आज तिमी मेरो बाटो हेरिरहेकी छयौ
मेरो शिर चुम्न पर्खीरहेकी छयौ
अन्तिम पटक भेट्न तड्पी रहिछ्यौ
आखाँमा सपना सजाईरहेकी छयौ !!!
तर,
म छु सात समुन्द्र पारि
बन्दै लाचार
मन त तिम्रै समीपमा छ
सारा बन्धनहरुलाई तोडदै
तर यो लाचार तन
बसी रहेको छ लिएर आस
भेट्ने कुनै दिन आफ्नी ममतामयी आमालाई !!!
हे आमा,
तिर्न नसकेनी तिम्रो दशधारा दुधको ऋण
म तिम्रै अंस हुँ
म तिम्रै बंस हुँ
मेरो नसा नसामा तिम्रै रक्त प्रवाहित छ !
मेरो पथ पथमा तिम्रै प्रेरणा समाहित छ !!
सम्प्रति: संयुक्त अधिराज्य बेलायत
No comments:
Post a Comment